काठमाडौं। विश्व बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएको छ।
अमेरिकी मध्यावधि निर्वाचनको नतिजा सार्वजनिक भएसँगै इरानसँगको तनाव कम हुने वा युद्ध अन्त्य हुन सक्ने अपेक्षाले मूल्यमा प्रभाव परेको हो।
बिहीबार दिउँसो एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य ०.९ प्रतिशतले घटेर प्रतिब्यारेल ९३.७४ अमेरिकी डलरमा कारोबार भएको छ।
त्यस्तै, अमेरिकी बजारमा कच्चा तेलको मूल्य करिब १.५ प्रतिशतले घटेर प्रतिब्यारेल ८६.८३ डलरमा झरेको छ। यसअघि बुधबार मात्र कच्चा तेलको मूल्यमा ८ प्रतिशतभन्दा बढीको गिरावट देखिएको थियो।
यसअघि नै कच्चा तेलको मूल्य दुई महिनायताकै न्यून विन्दुमा पुगिसकेको थियो। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको हारका लागि इन्धनको मूल्यवृद्धिलाई कारक मान्दै इरान युद्धलाई जिम्मेवार ठहर्याएका थिए।
