काठमाडौं। लमजुङका केही पत्रकारहरू पत्रकारिताको व्यस्त दैनिकीका बाबजुद व्यावसायिक फूलखेतीमा सक्रिय भएका छन्।
विशेषगरी तिहारको समयमा सयपत्री फूलको माग उच्च भएपछि उनीहरूले उत्पादन गरेको फूल घरबाटै बिक्री भइरहेको छ।
लमजुङ आवास साप्ताहिकका प्रकाशक तथा सम्पादक मिलन शर्मा दनाईले बेँसीसहर नगरपालिका-३, गाउँसहरमा तीन रोपनी जग्गामा सयपत्री फूलखेती गर्नुभएको छ। दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय दनाईले पत्रकारितासँगै कृषि कर्ममा पनि जोडिन सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ।
त्यस्तै, नेपाल पत्रकार महासङ्घ लमजुङका पूर्वअध्यक्ष तथा लमजुङ पत्र साप्ताहिकका सम्पादक सन्तोष पौडेलले पनि पत्रकारितासँगै फूलखेती र मौरीपालन गरिरहनुभएको छ। उहाँलाई यस कार्यमा श्रीमती सरुले सहयोग गर्दै आउनुभएको छ।
मर्स्याङ्दी गाउँपालिका-९ का नवीनराज कुइँकेलले मर्स्याङ्दी कृषि फर्ममार्फत १५ रोपनी क्षेत्रफलमा तरकारी र फूलखेती गर्दै आउनुभएको छ भने लक्ष्मीनारायण एचडीका सहसम्पादक विराट न्यौपानेले पनि व्यावसायिक रूपमा सयपत्री फूलखेतीमा हात हाल्नुभएको छ।
कृषि विकास कार्यालय लमजुङका अनुसार जिल्लामा यस वर्ष सयपत्री फूलखेती गर्नेहरूको सङ्ख्या बढेको छ। किसानहरूले यस वर्ष फूल प्रतिकिलो तीन सयदेखि पाँच सय रुपियाँसम्ममा बिक्री गरेका छन्।
पुष्प व्यवसायीहरूका अनुसार सयपत्रीका कर्मा ५५५, टेनिस बल र कलकत्ते जात बढी प्रचलनमा छन्, जसमध्ये टेनिस बल जातको फूल बढी टिकाउ हुने गर्दछ।
कृषि विज्ञहरूका अनुसार अन्य बालीको तुलनामा फूलखेतीमा कम लगानीमा बढी आम्दानी गर्न सकिन्छ। यद्यपि, उत्पादनको समय मिलाउन नसक्दा बजारीकरणमा समस्या हुन सक्ने भएकाले किसानहरूले समय व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ।
