काठमाडौं: गृहमन्त्री सुदन गुरुङले हिमाली जिल्लाहरूमा सडक सञ्जालको अभावका कारण नुनलगायतका दैनिक उपभोग्य वस्तुहरू महँगो पर्ने गरेको बताएका छन्।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुभकामना आदानप्रदान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सडक सुविधा नहुँदा हिमाली क्षेत्रका बासिन्दाले ढुवानीमा कठिनाइ भोग्नुपरेको उल्लेख गरे।
उनले हिमाली जिल्लाका धेरै ठाउँमा सडक नपुगेका कारण मानिसहरूले नै सामान बोकेर लैजानुपर्ने बाध्यता रहेको बताए। यो समस्या मुस्ताङ र मुगु लगायतका हिमाली जिल्लाहरूको साझा समस्या भएको उनको भनाइ छ।
गुरुङले भने, ‘हिमाली जिल्लामा सबै ठाउँमा नुन सहज रूपमा उपलब्ध छैन। जहाँ गाउँ छन्, त्यहाँ बाटो छैन। पहिला बाटो बन्न समय लाग्छ, तर आपूर्ति त गर्नुप¥यो नि।’
मुस्ताङको उदाहरण दिँदै उनले विगतमा त्यहाँ एउटा नुनको मूल्य दुई सयदेखि चार सय रुपैयाँसम्म पर्ने गरेको स्मरण गरे। सडक निर्माण भएपछि ढुवानी सहज हुने र त्यसले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सहयोग पुग्ने उनको विश्वास छ। ‘मुगुमा त झन् बिजोग छ। यो नियति सरकारले परिवर्तन गर्छ,’ उनले भने।
सरकारले हिमाली क्षेत्रका नागरिकको समस्या सम्बोधन गर्न बजेट विनियोजन गरेको दाबी गर्दै उनले बजेट कार्यान्वयन भएर परिणाम देखिन केही समय लाग्ने बताए। उनले भने, ‘अहिले ६ महिनामै हामीले धेरै कुरा बाटो माथिसम्म पु¥याउन सक्छौँ भनेको छैनौँ। तर पहल गरेर बाटोमा बजेट हालेर काम अगाडि बढाउन सकिन्छ नि।’
गृहमन्त्री गुरुङले नुनको मूल्यको विषय मात्र नभई समग्र हिमाली क्षेत्रका नागरिकले भोग्दै आएका समस्या समाधान गर्न सरकार केन्द्रित रहेको बताए।
प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू हिमाली क्षेत्रका नागरिकको दुःख सम्बोधन गर्न लागिपरेको उनको भनाइ छ। सडक सञ्जाल विस्तारसँगै ढुवानी र महँगीसम्बन्धी समस्या क्रमशः समाधान हुने उनले बताएका छन्।
