मुस्ताङ। मुस्ताङमा उत्पादित कुल स्याउमध्ये ७२ प्रतिशत बजारमा निकासी भइसकेको छ।
कात्तिक महिनाको तेस्रो सातासम्म यो परिमाणमा स्याउ जिल्ला बाहिर पठाइएको पशु तथा कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ।
दसैँसम्म ३५ प्रतिशत मात्र स्याउ निकासी भएको थियो। असोजमा बाढीपहिरोका कारण बेनी-जोमसोम-कोरला सडक दुई साता अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको थियो। हालसम्म कुल उत्पादनको ६५ प्रतिशत जिल्ला बाहिर गएको छ भने १० प्रतिशत स्थानीय बजारमा खपत भएको छ।
कार्यालय प्रमुख डा. लालमणी अर्यालका अनुसार बगैँचामा बाँकी रहेको २५ प्रतिशत स्याउमध्ये २० प्रतिशत बजारमा पठाउने र बाँकी सुकुटी बनाएर पर्यटकलाई बिक्री गर्ने योजना छ।
कृषकको बगैँचाबाट मङ्सिर पहिलो सातासम्म स्याउ टिपेर सकिने डा. अर्यालले जानकारी दिए। उनले भने, प्राकृतिक विपत्तिले समयमै स्याउ निर्यातमा ढिलाइ भयो। चिसो हावापानी भएकाले बोटमा भएका स्याउको गुणस्तरमा कुनै असर गरेको छैन।
जिल्लामा स्थानीय प्रजातिको ८ सय ८१ हेक्टर र उच्च घनत्वको ७३ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ। स्थानीय प्रजातर्फ ६ हजार ७८.९२ मेट्रिक्टन र उच्च घनत्वतर्फ ९ सय ५९.६२ मेट्रिक्टन स्याउ उत्पादन भएको छ।
यस वर्ष कुल १ अर्ब १४ करोड ९६ लाख ९१ हजार रुपियाँ बराबरको स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ। थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र स्याउका पकेट क्षेत्र हुन् भने पछिल्लो समय लो घेकर दामोदरकुण्ड र लोमान्थाङमा समेत खेती विस्तार भएको छ।
मुस्ताङको स्याउ रसिला र गुलिया हुने भएकाले बजारमा उच्च माग छ।
