काठमाडौं: यमपञ्चकको तेस्रो दिन आइतबार लक्ष्मी पूजाको अवसरमा काठमाडौं उपत्यकामा सयपत्री र मखमली फूलको कारोबार उच्च देखिएको छ। लक्ष्मी पूजाका लागि घर, पसल र व्यावसायिक प्रतिष्ठान सजाउन सयपत्री फूलको माग बढेसँगै बजारमा उपभोक्ताको बाक्लो उपस्थिति रहेको छ।
काठमाडौं महानगरपालिकाले किसान र उपभोक्ताको सहजताका लागि उपत्यकाका विभिन्न स्थानमा फूल खरिदबिक्रीको व्यवस्था मिलाएको छ। तोकिएका स्थानहरूमा बिहानैदेखि सयपत्री र भाइटीकाका लागि मखमली फूल खरिद गर्नेहरूको घुइँचो लागेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्षको तिहारमा देशभर करिब ६४ करोड ५० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ।
तिहारको समयमा सयपत्रीका साथै भाइटीकामा प्रयोग हुने मखमली र गोदावरी फूलको व्यापार पनि उल्लेख्य रूपमा बढेको छ। नेपालमा पुष्प व्यवसाय निरन्तर विस्तार भइरहेको छ। एसोसिएसनका अनुसार हाल देशभर ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक पुष्पखेती भइरहेको छ। यस क्षेत्रमा ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी पुगेको छ।
