काठमाडौं: गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ। पहिरोका कारण अवरुद्ध बनेको सो सडकखण्ड बुधबार बेलुकी सञ्चालनमा आएको हो।
कालीगण्डकी गाउँपालिका-२, राक्सेमा सडकमाथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार सडक डिभिजन कार्यालय, स्थानीय गाउँपालिका र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी पहिरो पन्छाएपछि बाटो खुलेको हो।
सडक अवरुद्ध भएपछि प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरिएको थियो। सडक सञ्चालनमा आएसँगै रुद्रवेणी-पुर्तिघाट खण्डमा रोकिएका सवारीसाधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।
सडक बन्द हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी र पोखरा आवतजावत गर्ने यात्रुहरू समस्यामा परेका थिए। मुस्ताङसम्म पुग्ने छोटो मार्ग भएकाले यो करिडोर पछिल्लो समय निकै व्यस्त रहने गरेको छ।
