म्याग्दी: म्याग्दीको धौलागिरि गाउँपालिका: ७ काउसीबोट र वडा नं ४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयको यात्रा अवधि ह्वात्तै घटेको छ। सङ्घीय सरकारको सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँको लगानीमा म्याग्दी नदीमाथि ३०३ मिटर लामो उक्त पुल निर्माण गरिएको हो।
स्थानीय राजकुमार कोइरालाका अनुसार पुल निर्माण हुनुअघि एक घण्टा लाग्ने यात्रा अब पाँच मिनेटमा पूरा हुन्छ। यसले स्थानीयको दैनिकी सहज बनाउनुका साथै पर्यटकीय चहलपहल पनि बढाएको छ। धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम र काफलडाडाका बासिन्दा पुलबाट प्रत्यक्ष लाभान्वित भएको बताए। विशेषगरी बाँसबोटका किसानले उत्पादन गरेका केरा बजारसम्म पुर्याउन सहज भएको छ।
रामकृष्ण-सोमरस जेभीले रु एक करोड ६४ लाख १५ हजार २५४ को लागतमा १८ महिनाभित्र पुल निर्माण सम्पन्न गरेको हो। निर्माण कम्पनीका प्रतिनिधि प्रवीन सापकोटाका अनुसार सम्झौताअनुसारकै समयसीमामा काम सकिएको हो।
यससँगै म्याग्दीमा ३०० मिटरभन्दा लामा झोलुङ्गे पुलको सङ्ख्या सात पुगेको छ। यसअघि धौलागिरि गाउँपालिकामा मात्रै ३६५ मिटर र ३६६ मिटर लामा दुईवटा पुल निर्माण भइसकेका छन्। जिल्लाका अन्य क्षेत्रमा पनि बेगखोला, बिमवाङ, रत्नेचौर र शिख जोड्ने ३०० मिटरभन्दा लामा पुलहरू सञ्चालनमा छन्।
