बाँके। साउदी अरब जाने तयारीमा रहँदा स्वास्थ्य परीक्षणका कारण वैदेशिक रोजगारीमा जान नपाएपछि स्वदेशमै बाख्रापालन सुरु गरेका राप्तीसोनारी गाउँपालिका–६ का डम्बर बुढाक्षेत्री अहिले यसै व्यवसायबाट आत्मनिर्भर बनेका छन्।
उनले अहिले ६० भन्दा बढी स्थानीय खरी जातका बाख्रा पालेका छन्। बाख्रापालनबाट हालसम्म रु तीन लाख आम्दानी गरेका उनले पुरानो ऋण चुक्ता गर्नाका साथै दुई छोराको पढाइ खर्च र पारिवारिक आवश्यकता पूरा गर्दै आएका छन्।
वर्षमा आठदेखि १० वटासम्म खसी बिक्री गर्दै आउनुभएका उनले यस वर्ष रु पाँच लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छन् । माउ बाख्रा बिक्री नगरी सङ्ख्या बढाउने योजनामा रहेका उनका अनुसार खसी बिक्री गर्न बजारको समस्या छैन । सहकारीले खसी खरिद गर्ने र आवश्यक पर्दा अग्रिम रकम उपलब्ध गराउने भएकाले कारोबार सहज भएको छ ।
वैदेशिक रोजगारीमा जाने योजना सफल नभएपछि बाख्रापालनमा लाग्नुभएका बुढाक्षेत्रीले पारिवारिक समस्याका कारण बीचमा यो व्यवसाय छाडेर तीन वर्ष भारतमा बिताउनुपरेको थियो । बुबाआमाको उपचार र निधनपछि लागेको ऋण तिर्न भारत जानुभएका उनी फर्किएपछि पुनः पशुपालनमा सक्रिय भए। पहिले आठवटा भैँसी पनि पाल्नुभएका उनले पछि भैँसी बिक्री गरेर बाख्रापालनलाई प्राथमिकता दिए। पशुपालनबाटै ऋण चुक्ता गर्न सफल भएको उनले बताए।
“म यसैमा सन्तुष्ट छु । विदेश गएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छैन,” उनले भने। आफ्नो क्षमता र अवस्थाअनुसार सानो लगानीबाट व्यवसाय सुरु गर्नुपर्ने सुझाव दिँदै उनले अरूको देखासिकी गरेर एकैपटक ठूलो लगानी गर्न नहुने बताए। बाख्रापालनलाई नै आफ्नो भविष्यको आधार बनाउनुभएका उहाँले स्थानीय जातका बाख्राको सङ्ख्या बढाउने योजना बनाएका छन ।
