काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले बंगलादेशतर्फ गर्दै आएको ४० मेगावाट बिजुली निर्यात रोकेको छ। सुख्खायाम सुरु भएसँगै विद्युत् उत्पादनमा कमी आएपछि यो वर्षका लागि निर्यात प्रक्रिया बन्द गरिएको हो।
प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच असोज १७ गते भएको सम्झौताअनुसार हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सहमति भएको थियो। सोहीअनुसार आइतबारसम्म निर्यात जारी रहेकामा अब अर्को वर्ष मात्रै पुनः सुरु हुने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार चाडपर्व सकिएसँगै अब विद्युत् प्रणालीमा लोड बढ्ने र माग २४०० देखि २५०० मेगावाटसम्म पुग्ने अनुमान गरिएको छ। हाल उपलब्धता २६०० देखि २७०० मेगावाटको हाराहारीमा मात्र रहेकाले निर्यात गर्न सक्ने अवस्था नरहेको उनले बताए। उनले भने, ‘अबको एक हप्ता १० दिनमा त भारतबाट बिजुली आयात गर्नुपर्ने हुन्छ।’
यसअघि भदौ १० मा आएको भोटेकोसी बाढीले त्रिशूली करिडोरका आयोजनामा क्षति पुर्याउँदा केही समय निर्यात रोकिएको थियो। पछि प्राधिकरणले अन्य आयोजनाबाट उत्पादित बिजुली पठाउने गरी भारतको स्वीकृति लिएपछि कात्तिक ६ गतेदेखि निर्यात पुनः सुरु भएको थियो।
प्राधिकरणको तथ्यांकअनुसार असोज महिनामा मात्रै भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट बिजुली निर्यात भएको थियो, जसबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी भएको थियो। हाल भारततर्फ कुल १ हजार १ सय ७९ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त छ।
