काठमाडौं: शरद ऋतुको पर्यटकीय सिजन सुरु भएसँगै काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा विदेशी पर्यटकको आगमन बढेको छ। भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेको पर्यटन व्यवसाय पर्यटकको संख्यामा वृद्धि भएसँगै पुनः लयमा फर्किन थालेको हो।
ठमेलका होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी र पसलहरूमा विदेशी पर्यटकको उपस्थिति बढेपछि व्यवसायीहरू उत्साहित देखिएका छन्। यद्यपि, होटल क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा र पश्मिना व्यवसायमा नक्कली उत्पादनको बिक्रीले व्यवसायीहरूलाई चुनौती थपेको छ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले पर्यटकीय सिजनसँगै ठमेलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताए। उनले पर्यटकको सुरक्षा र सहजताका लागि परिषद्ले नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा महानगर प्रहरीसँग समन्वय गरी सुरक्षा योजना तयार गरिरहेको जानकारी दिए।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२६ को १० महिनामा हवाई मार्गबाट १० लाख ८ हजार ६१६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यसमध्ये अक्टोबर महिनामा मात्र १ लाख ३२ हजार ८१४ पर्यटकले नेपाल भ्रमण गरेका छन्। बोर्डका अनुसार सन् २०२६ को अप्रिलदेखि अक्टोबरसम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा पर्यटक आगमन ५.३६ प्रतिशतले बढेको छ।
