सन् २०२०। विश्व कोरोना महामारीको चपेटामा थियो।
बेलायतमा लकडाउन थियो। मानिसहरू घरभित्र सीमित थिए। नियमित जीवन अस्तव्यस्त बनेको थियो। धेरैका लागि त्यो समय अनिश्चितता, तनाव र आर्थिक कठिनाइको समय थियो।
तर बेलायतको वेल्सस्थित पेम्ब्रोकशायरकी एक विश्वविद्यालय विद्यार्थीका लागि त्यही असहज समय जीवनकै ठूलो व्यावसायिक अवसरको सुरुवात बन्यो।
त्यतिबेला २१ वर्षकी लुसी म्याक्लियोडले ठूलो व्यवसाय खोल्ने योजना बनाएकी थिइनन्। उनीसँग कुनै व्यावसायिक अनुभव थिएन। लगानीकर्ता थिएनन्। ठूलो कार्यालय थिएन।
बजार अध्ययन गरेर तयार पारिएको व्यावसायिक योजना पनि थिएन। उनीसँग थियो आफ्नै कपालको समस्याबाट जन्मिएको एउटा प्रयोग र त्यसलाई अरूसँग बाँड्ने सामान्य इच्छा।
आफ्नो कपाल बिग्रिएको, सुख्खा भएको र टुक्रिने समस्या समाधान गर्न उनले विभिन्न प्राकृतिक तेल मिसाएर प्रयोग गर्न थालेकी थिइन्।
बजारमा उपलब्ध उत्पादनबाट अपेक्षित नतिजा नपाएपछि आफ्नै आवश्यकताका लागि तयार पारेको त्यो मिश्रण एक दिन सामाजिक सञ्जालमा सार्वजनिक गरिन्। त्यही सामान्य भिडियोले उनको जीवनको दिशा बदलिदियो।
केही समयमै भिडियोले लाखौँ दर्शकको ध्यान खिच्यो। मानिसहरूले उनले प्रयोग गरेको तेलबारे सोध्न थाले। कपालको समस्या समाधान गर्ने उपाय खोजिरहेका प्रयोगकर्ताले आफूलाई पनि त्यस्तै उत्पादन चाहिएको प्रतिक्रिया दिन थाले। सुरुमा रमाइलोका लागि बनाइएको भिडियोले उत्पादन बेच्न सकिने सम्भावना देखायो।
त्यसपछि उनले आफ्नै बचतबाट करिब ३०० पाउन्ड खर्च गरेर कपालमा लगाउने प्राकृतिक तेल उत्पादन गर्ने व्यवसाय सुरु गरिन्। पहिलो चरणमा जम्मा १० बोतल उत्पादन गर्ने योजना बनाइन्। तर सामाजिक सञ्जालबाट आएको मागले उनको अनुमानभन्दा धेरै ठूलो बजार रहेको संकेत गरिसकेको थियो।
आज त्यही व्यवसाय बेलायतको तीव्र गतिमा विस्तार भएका सौन्दर्य ब्रान्डमध्ये एक बनेको छ। उनको नेतृत्वमा विकसित भएको हेयरकेयर ब्रान्ड हेयर सिरपले बेलायतका ठूला खुद्रा विक्रेताका पसलमा स्थान बनाएको छ। स्क्यान्डिनेभियाली बजार हुँदै अमेरिकी बजारमा समेत प्रवेश गरेको छ।
सन् २०२६ मा कम्पनीको बिक्री ६२ लाख पाउन्ड पुगेको छ। यो सफलता कुनै ठूलो लगानीकर्ताको पुँजीबाट होइन, आफ्नै बचत, उत्पादनप्रतिको विश्वास, ग्राहकसँगको सम्बन्ध र डिजिटल बजारको प्रभावकारी उपयोगबाट निर्माण भएको हो।
यो कथा केवल एउटा सौन्दर्य उत्पादनको व्यावसायिक सफलताको कथा होइन। सीमित पुँजीबाट व्यवसाय सुरु गर्न सकिने, ग्राहकको वास्तविक समस्या पहिचान गर्न सकिने र सामाजिक सञ्जाललाई बजार विस्तारको प्रभावकारी माध्यम बनाउन सकिने आधुनिक उद्यमशीलताको उदाहरण पनि हो।
आफ्नै समस्याबाट जन्मिएको व्यावसायिक विचार
लुसीको उद्यमशीलताको सुरुवात कुनै व्यावसायिक सम्मेलन, लगानीकर्तासँगको भेटघाट वा बजार अनुसन्धानबाट भएको थिएन। यसको जरो उनको व्यक्तिगत अनुभवमा थियो।
किशोरावस्थामा कपालको उचित हेरचाह नगर्दा उनको कपालमा क्षति पुगेको थियो। कपाल सुख्खा हुने, टुक्रिने र चमक हराउने समस्या बढ्दै गएको थियो।
बजारमा पाइने विभिन्न उत्पादन प्रयोग गर्दा पनि उनले चाहेजस्तो समाधान पाइनन्। त्यसपछि उनले आफैँ प्राकृतिक तेलका मिश्रण तयार पारेर प्रयोग गर्न थालिन्।
त्यतिबेला उनी बेलायतको वारविक विश्वविद्यालयमा अंग्रेजी साहित्य अध्ययन गरिरहेकी थिइन्। कपालको समस्या समाधान गर्ने उद्देश्यले सुरु भएको प्रयोग विस्तारै उनको रुचिको विषय बन्यो। कुन तेलले कपाललाई कस्तो प्रभाव पार्छ, कुन मिश्रण उपयुक्त हुन्छ र कपालको हेरचाहमा कुन सामग्री प्रयोग गर्न सकिन्छ भन्नेबारे उनले अध्ययन गर्न थालिन्।
उनले विभिन्न तेल मिसाएर परीक्षण गरिन्। आफ्नो कपालमा प्रयोग गरिन्। परिणाम हेरेर मिश्रण परिवर्तन गरिन्। यसरी लामो समयको परीक्षणपछि आफ्नो आवश्यकताअनुसारको तेल तयार पारिन्। उनको अनुभवमा त्यसले कपालको अवस्था सुधार्न मद्दत गर्यो।
तर यो उत्पादनलाई बजारमा बेच्ने उनको तत्कालीन योजना थिएन। आफ्नो समस्या समाधान भएपछि त्यसबारे अरूलाई जानकारी दिने उद्देश्यले उनले सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो राखिन्। भिडियोमा उनले आफ्नो कपालमा आएको परिवर्तन र त्यसका लागि प्रयोग गरेको तेलको मिश्रणबारे जानकारी दिएकी थिइन्।
त्यतिबेला उनको व्यक्तिगत टिकटक खातामा करिब तीन जना मात्र फलोअर थिए। त्यसैले भिडियोले ठूलो दर्शक पाउँछ भन्ने अपेक्षा पनि थिएन। तर रातारात भिडियोमा ६ लाखभन्दा बढी भ्युज आए। धेरै प्रयोगकर्ताले आफूले पनि त्यस्तो तेल किन्न चाहेको प्रतिक्रिया दिए।
उनले पछि त्यो टिकटक खाता हटाइन्। तर मानिसहरूले उनलाई सम्पर्क गर्ने क्रम रोकिएन। कपालको समस्या समाधान गर्न चाहनेहरूले तेल कहाँ पाइन्छ भनेर सोधिरहे। भिडियो सार्वजनिक भएको करिब छ महिनापछि त्यही प्रतिक्रियालाई उनले व्यावसायिक अवसरका रूपमा बुझ्न थालिन्।
यो घटनाले एउटा महत्त्वपूर्ण कुरा देखायो। बजारको अवसर सधैँ औपचारिक अध्ययन वा योजनाबाट मात्र पहिचान हुँदैन। कहिलेकाहीँ आफ्नै दैनिक जीवनमा भोगेको समस्याले पनि नयाँ व्यवसायको आधार तयार पार्न सक्छ। तर व्यक्तिगत अनुभवलाई व्यावसायिक उत्पादनमा बदल्न त्यसलाई ग्राहकको आवश्यकता र गुणस्तरको मापदण्डसँग जोड्नुपर्छ।
लुसीले यही बाटो रोजिन्।
३०० पाउन्डबाट पहिलो उत्पादन
व्यवसाय सुरु गर्ने निर्णय गरेपछि लुसीले ठूलो जोखिम लिइनन्। उनीसँग ठूलो पुँजी थिएन। बैंकबाट ऋण लिने योजना पनि थिएन। लगानीकर्ता खोज्ने वा अरूको पुँजीबाट व्यवसाय विस्तार गर्ने सोचभन्दा पहिले उनले आफ्नो सीमित बचतबाट उत्पादनको सम्भावना परीक्षण गर्ने निर्णय गरिन्।
उनले करिब ३०० पाउन्ड खर्च गरेर आवश्यक सामग्री खरिद गरिन्। पहिलो चरणमा जम्मा १० बोतल तेल बनाउने योजना बनाइन्। उनको हिसाब सरल थियो। १० बोतल बिक्री गर्न सके लगानी फिर्ता आउँथ्यो। बिक्री नभए पनि ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था हुँदैनथ्यो।
सानो पुँजीबाट व्यवसाय सुरु गर्दा खर्च नियन्त्रण गर्नुपर्ने उनको सोच सुरुदेखि नै स्पष्ट थियो। उत्पादनको माग कति छ भन्ने नबुझी ठूलो परिमाणमा सामान बनाउने वा अनावश्यक खर्च गर्ने पक्षमा उनी थिइनन्। सुरुमा १० बोतल, त्यसपछि २० र ३० बोतल उत्पादन गर्दै बजारको प्रतिक्रियाअनुसार विस्तार गर्ने रणनीति अपनाइन्।
उनले आफूले तयार पारेको उत्पादनलाई कानुनी रूपमा बजारमा बिक्री गर्न के–कस्ता मापदण्ड पूरा गर्नुपर्छ भन्ने अध्ययन गरिन्। उत्पादनको परीक्षण, सरकारी नियम, आवश्यक प्रक्रिया र बजारमा बिक्री गर्नुपर्ने कानुनी दायित्वबारे जानकारी जुटाउन धेरै समय खर्च गरिन्। लकडाउनका कारण प्रत्यक्ष सहयोग लिने अवसर सीमित थियो। व्यावसायिक अनुभव पनि थिएन। त्यसैले आफैँ अध्ययन गरेर अघि बढ्नु उनको बाध्यता र सिकाइ दुवै बन्यो।
उत्पादन तयार भएपछि उनले टिकटकमार्फत त्यसको प्रचार सुरु गरिन्। ग्राहकको प्रतिक्रिया उत्साहजनक आयो। पहिलो उत्पादन बिक्री भयो। माग बढेपछि अर्को समूह उत्पादन गर्नुपर्ने भयो। यसरी व्यवसाय विस्तार हुँदै गयो।
सुरुवाती दिनमा उत्पादन तयार पार्ने, बोतल भर्ने, प्याकेजिङ गर्ने र ग्राहकसम्म पुर्याउने काम उनले आफ्नै परिवारको घरबाट गरिन्।
उनका अभिभावकको घरको कन्जर्भेटरी अर्थात् घरसँग जोडिएको सिसाले घेरिएको अतिरिक्त कोठा नै उत्पादन र प्याकेजिङको कार्यस्थल बन्यो।
व्यवसाय सुरु गर्ने निर्णयमा परिवारको समर्थन सहजै प्राप्त भएको थिएन। लुसीले आफ्ना अभिभावकलाई कपालको तेल बेच्ने योजना सुनाउँदा उनीहरूले घरमै बसेर यस्तो व्यवसाय नगर्न भनेका थिए। तर उनले आफ्नो विचार छाडिनन्। पछि त्यही घरको अतिरिक्त कोठाबाट सुरु भएको व्यवसायले ठूलो बजार पायो।
उनको सुरुवाती अनुभवले उद्यमशीलताको अर्को पक्ष पनि उजागर गर्छ। व्यवसाय सुरु गर्न ठूलो कार्यालय वा अत्याधुनिक संरचना अनिवार्य हुँदैन। तर उत्पादनको गुणस्तर, खर्च व्यवस्थापन र ग्राहकको माग बुझ्ने क्षमता आवश्यक हुन्छ।
टिकटक बन्यो बजार विस्तारको माध्यम
हेयर सिरपको सफलताको सबैभन्दा महत्त्वपूर्ण आधारमध्ये एक सामाजिक सञ्जालको प्रभावकारी उपयोग हो। परम्परागत विज्ञापनमा ठूलो रकम खर्च गर्न नसक्ने नयाँ व्यवसायका लागि डिजिटल प्लेटफर्मले बजारसम्म पुग्ने वैकल्पिक बाटो खोलिदिएको छ। लुसीले यही सम्भावनालाई सुरुदेखि उपयोग गरिन्।
उनको व्यवसायको पहिलो ग्राहक सामाजिक सञ्जालबाटै आएका थिए। त्यसैले टिकटक उनको प्रचारको माध्यम मात्र बनेन, ग्राहकसँग सम्बन्ध स्थापित गर्ने र उत्पादनबारे प्रतिक्रिया बुझ्ने मुख्य प्लेटफर्म पनि बन्यो।
कपालको समस्या, तेलको प्रयोग, उत्पादनको अनुभव र ग्राहकले देखाएको परिणामलाई उनले भिडियोमार्फत सार्वजनिक गर्न थालिन्। ग्राहकले पनि आफ्ना अनुभव साझा गर्न थाले। यसले उत्पादनको प्रचारलाई ब्रान्ड स्वयंले गर्ने विज्ञापनभन्दा फरक बनायो। प्रयोगकर्ताको अनुभव अर्को सम्भावित ग्राहकसम्म पुग्न थाल्यो।
लुसीले टिकटकलाई संयोगमा छाडिनन्। समयसँगै उनले नियमित सामग्री उत्पादन गर्ने रणनीति अपनाइन्। सन् २०२५ मा दिएको एक अन्तर्वार्तामा उनले आफ्नो टोलीले दैनिक करिब २० वटा भिडियो पोस्ट गर्ने गरेको बताएकी थिइन्। उनका अनुसार सामाजिक सञ्जालमा कुन सामग्री भाइरल हुन्छ भन्ने पहिल्यै थाहा हुँदैन। तर नियमित र धेरै सामग्री प्रकाशित गर्दा कुनै एउटा भिडियोले ठूलो दर्शक पाउने सम्भावना बढ्छ।
उनको रणनीतिमा गति र निरन्तरता दुवै महत्त्वपूर्ण थिए। सामाजिक सञ्जालको प्रवृत्ति बदलिँदा सामग्री बनाउने शैली पनि परिवर्तन गर्नुपर्ने उनले बुझिन्। एउटा भिडियो लोकप्रिय भयो भन्दैमा त्यसैलाई दोहोर्याएर मात्र बजारमा टिक्न नसकिने उनको अनुभव थियो।
यस क्रममा ग्राहकको प्रतिक्रिया पनि उत्पादन विकासको आधार बन्यो। ग्राहकले के मन पराए, कुन उत्पादनबारे बढी सोधे र कुन समस्याका लागि समाधान खोजे भन्ने कुरालाई उनले व्यवसायको विस्तारसँग जोडिन्।
सन् २०२५ मा बीबीसीको चर्चित उद्यमशीलता कार्यक्रम ‘ड्रागन्स डेन’ मा सहभागी भएपछि सामाजिक सञ्जालको प्रभाव झन् बढ्यो। कार्यक्रम प्रसारण भएपछि हेयर सिरपको बिक्री ६६ प्रतिशतले बढेको र टिकटक प्रोफाइलमा २ करोड २० लाख भ्युज आएको लुसीले बताएकी थिइन्। त्यस अवधिमा उनको खातामा ७० हजार नयाँ फलोअर थपिएका थिए।
यसले एउटा महत्त्वपूर्ण व्यावसायिक पाठ दिन्छ। डिजिटल प्लेटफर्ममा लोकप्रियता प्राप्त गर्नु र त्यसलाई बिक्रीमा रूपान्तरण गर्नु फरक कुरा हुन्। लुसीले सामाजिक सञ्जालमा उत्पादनको चर्चा मात्र गराइनन्, त्यसलाई खुद्रा बिक्री, ग्राहकको विश्वास र ब्रान्ड पहिचानसँग जोडिन्।
अस्वीकारले रोक्न सकेन विस्तार
व्यवसाय बढ्दै जाँदा लुसीले नयाँ चुनौती पनि सामना गर्नुपर्यो। सानो परिमाणमा उत्पादन गर्दा व्यवस्थापन सहज थियो। तर माग बढ्दै गएपछि उत्पादन, कर्मचारी, आपूर्ति, प्याकेजिङ, वितरण र ग्राहक सेवा सबै पक्षलाई व्यवस्थित गर्नुपर्ने भयो।
वेल्सको ग्रामीण क्षेत्र पेम्ब्रोकशायरमा व्यवसाय सञ्चालन गर्दा दक्ष जनशक्ति खोज्न सहज थिएन। व्यावसायिक सञ्जाल र सहयोगी संस्थाको पहुँच पनि सीमित थियो। व्यवसाय विस्तारको प्रारम्भिक चरणमा आफू एक्लै परेको अनुभव उनले सुनाएकी छन्।
उत्पादनको माग बढ्दै जाँदा त्यसलाई समयमै पूरा गर्नुपर्ने दबाब थियो। व्यवसायको सुरुवाती सफलता कायम राख्नु र त्यसलाई दिगो विस्तारमा बदल्नु सजिलो थिएन। लुसीले आफ्नो व्यवसायिक यात्राको कठिन समयलाई अत्यन्त तनावपूर्ण अनुभवका रूपमा व्याख्या गरेकी छन्। एक समय आफू व्यवसाय सञ्चालनका लागि उपयुक्त व्यक्ति हुँ कि होइन भन्ने प्रश्नसमेत उठेको उनले बताएकी थिइन्।
यही अवस्थामा उनलाई ‘ड्रागन्स डेन’ कार्यक्रममा सहभागी हुन प्रस्ताव आयो। यो कार्यक्रम नयाँ उद्यमीले आफ्ना व्यावसायिक योजना लगानीकर्तासमक्ष प्रस्तुत गर्ने र लगानीको प्रस्ताव पाउने चर्चित मञ्च हो।
लुसीका लागि यो आफ्नो व्यवसायको विस्तार र समस्या समाधानका लागि लगानी जुटाउने अवसर थियो।
उनले कार्यक्रममा १ लाख ९० हजार पाउन्ड लगानीको प्रस्ताव राख्दै आफ्नो व्यवसायको तीन प्रतिशत हिस्सेदारी दिन चाहेको बताइन्। तर लगानीकर्ताले उनको व्यवसायको दीर्घकालीन सम्भावना, आर्थिक योजना, लाभांश, भविष्यको रणनीति र लगानीको आवश्यकतामाथि प्रश्न उठाए।
कार्यक्रममा टुकर सुलेमानले १ लाख ९० हजार पाउन्ड उपलब्ध गराउने प्रस्ताव गरे पनि त्यसमा तीन महिनाभित्र रकम फिर्ता गर्ने सर्त जोडिएको थियो। अन्य लगानीकर्ताले उक्त प्रस्ताव स्वीकार नगर्न सुझाव दिए। अन्ततः लुसीले लगानी सम्झौता गरिनन्।
यो घटनाले उनलाई निराश बनायो। तर त्यसले व्यवसायप्रतिको उनको दृष्टिकोणमा परिवर्तन ल्यायो। कार्यक्रममा उनले आफूलाई सहयोग गरेर व्यवसाय चलाइदिने व्यक्ति खोजिरहेको महसुस गरिन्। तर लगानीकर्ताको पिटर जोन्सले उनलाई व्यवसाय आफैँ सञ्चालन गर्न सक्ने नेतृत्व क्षमता विकास गर्नुपर्ने सन्देश दिए।
उनको भनाइको सार थियो, उद्यमीलाई सधैँ कसैले उद्धार गरिदिने अपेक्षा गर्नु हुँदैन। व्यवसायको नेतृत्व आफैँले लिन सक्नुपर्छ। त्यसका लागि आवश्यक ज्ञान, अनुभव र सक्षम टोली निर्माण गर्नुपर्छ।
लुसीले उक्त अनुभवलाई सिकाइका रूपमा लिइन्। त्यसपछि अनुभवी व्यवस्थापक, बजार तथा वित्तीय सल्लाहकार र दक्ष जनशक्ति जोड्ने काममा ध्यान दिइन्। व्यवसायका सबै काम आफैँले गर्ने शैलीबाट जिम्मेवारी बाँडफाँट गर्ने व्यवस्थापनतर्फ अघि बढिन्।
लगानी अस्वीकार हुनु उनको यात्राको अन्त्य बनेन। बरु आफ्नो व्यवसायको वास्तविक आवश्यकता बुझ्ने र नेतृत्व क्षमता विकास गर्ने अवसर बन्यो।
पाँच वर्षमा करोडौँ पाउन्डको कारोबार
लुसीले व्यवसाय सुरु गर्दा उनको उद्देश्य ठूलो कम्पनी बनाउने थिएन। तर ग्राहकको माग र उत्पादनको बजार विस्तार हुँदै जाँदा व्यवसायको आकार पनि बढ्दै गयो। सुरुमा १० बोतलबाट सुरु भएको उत्पादन क्रमशः हजारौँ ग्राहकसम्म पुग्यो।
व्यवसायको आर्थिक वृद्धिले यो विस्तारलाई स्पष्ट देखाउँछ। सन् २०२२ मा हेयर सिरपको कारोबार करिब १ लाख २० हजार पाउन्ड रहेको थियो। सन् २०२३ मा बढेर करिब १३ लाख पाउन्ड पुग्यो। सन् २०२४ मा कारोबार ५० लाख पाउन्ड पुगेको विवरण सार्वजनिक भएको छ। सन् २०२५ मा प्रकाशित विवरणअनुसार कम्पनीले २०२६ मा ६५ लाख पाउन्ड वार्षिक आम्दानी गर्ने लक्ष्य राखेको थियो।
तर पछिल्लो तथ्यांकले यो अनुमानभन्दा फरक तस्वीर देखाउँछ। सन् २०२६ को मार्चसम्मको १२ महिनामा कम्पनीको बिक्री ६२ लाख पाउन्ड पुगेको विवरण सार्वजनिक भएको छ। त्यही वर्ष बेलायतको तीव्र गतिमा बढिरहेका निजी व्यवसायको सूची ‘द सन्डे टाइम्स १००’ मा हेयर सिरप ८०औँ स्थानमा परेको छ। तीन वर्षको औसत वार्षिक बिक्री वृद्धिदर ६४.३२ प्रतिशत रहेको उल्लेख छ।
यी तथ्यांकले कम्पनीको विस्तार देखाउँछन्। तर कारोबार बढ्नु मात्रै सफलताको पूर्ण मापन होइन। उत्पादनको गुणस्तर कायम राख्नु, ग्राहकलाई निरन्तर सेवा दिनु, नगद प्रवाह सन्तुलित राख्नु र विस्तारका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
लुसीले व्यवसाय सुरु गर्दादेखि नै नगद प्रवाहलाई प्राथमिकता दिएकी थिइन्। सीमित पुँजी भएकाले अनावश्यक खर्च नगर्ने, बिक्रीबाट प्राप्त रकम पुनः व्यवसायमै लगानी गर्ने र आकस्मिक खर्चका लागि नगद सञ्चिति राख्ने उनको अभ्यास थियो। उनले बैंक ऋण वा बाह्य लगानी नलिई व्यवसाय विस्तार गरेको बताएकी छन्।
यो रणनीतिले उनलाई व्यवसायमा स्वामित्व कायम राख्न पनि मद्दत गर्यो। ड्रागन्स डेनमा लगानीको प्रस्ताव अस्वीकार भएपछि पनि उनले आफ्नो कम्पनीको हिस्सेदारी बाहिर दिनुपरेन। यसरी व्यवसायको वृद्धि र स्वामित्व दुवैलाई आफैँले नियन्त्रणमा राख्ने उनको निर्णय सफल रणनीति साबित भयो।
ग्रामीण वेल्सबाट ठूला खुद्रा बजारसम्म
हेयर सिरपको बजार विस्तार टिकटकमा सीमित रहेन। डिजिटल माध्यमबाट लोकप्रिय बनेको उत्पादनलाई भौतिक खुद्रा बजारमा पुर्याउनु लुसीको अर्को महत्त्वपूर्ण उपलब्धि हो।
कम्पनीका उत्पादन बेलायतका ठूला खुद्रा विक्रेता बुट्स, एएसओएस, अर्बन आउटफिटर्सलगायतका बजारमा उपलब्ध हुन थाले। यसले सामाजिक सञ्जालमा लोकप्रिय उत्पादनलाई परम्परागत खुद्रा वितरण प्रणालीसँग जोड्न सकिने सम्भावना देखायो।
ब्रान्डको अर्को विस्तार युरोपेली बजारमा भयो। सन् २०२५ मा स्विडेन, नर्वे, डेनमार्क र फिनल्यान्डमा सौन्दर्य सामग्री बिक्री गर्ने खुद्रा विक्रेता लाइकोसँग साझेदारी गरेर हेयर सिरपले स्क्यान्डिनेभियाली बजारमा प्रवेश गर्यो। सुरुमा कम्पनीका पाँच लोकप्रिय हेयर आयल उत्पादन अनलाइन बिक्रीका लागि उपलब्ध गराइएका थिए। त्यसपछि भौतिक पसलमा पनि विस्तार गर्ने योजना अघि सारिएको थियो।
अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दा उत्पादनको लोकप्रियता मात्र पर्याप्त हुँदैन। प्रत्येक देशको उपभोक्ता व्यवहार, उत्पादनसम्बन्धी नियम, वितरण प्रणाली र खुद्रा विक्रेताको आवश्यकता बुझ्नुपर्छ।
हेयर सिरपले युरोपमा वितरकसँग साझेदारी गरेर बजार प्रवेशको बाटो रोज्यो। यसले कम्पनीलाई आफ्नै संरचना तत्काल ठूलो बनाउनु नपरी नयाँ बजारमा पहुँच विस्तार गर्ने अवसर दियो।
यसपछि कम्पनीको विस्तारको अर्को ठूलो लक्ष्य अमेरिका बन्यो। सन् २०२६ मा अमेरिकी खुद्रा बजारको ठूलो नेटवर्क टार्गेटको ‘ब्युटी स्टुडियो’ कार्यक्रममार्फत हेयर सिरपले देशव्यापी बजारमा प्रवेश गर्ने अवसर पायो। टार्गेटका ६११ स्टोरमा ब्रान्डका उत्पादन उपलब्ध गराउने योजना अघि बढ्यो। प्रारम्भिक ढुवानीमा १ लाख ४० हजार युनिट उत्पादन समावेश भएको विवरण सार्वजनिक भएको छ।
यो विस्तार कम्पनीका लागि ठूलो अवसरसँगै ठूलो जिम्मेवारी पनि थियो। अमेरिकी बजारमा प्रवेश गर्न कानुनी प्रक्रिया, उत्पादन आपूर्ति, खुद्रा विक्रेताको प्रणाली र वित्तीय व्यवस्थापनमा उल्लेख्य तयारी आवश्यक पर्यो। कम्पनीले आपूर्तिकर्तासँगको भुक्तानी सर्त र अन्य व्यवस्थापनका उपायमार्फत विस्तारको आर्थिक भार सम्हाल्ने प्रयास गरेको छ।
अमेरिकी बजारमा कम्पनीको प्रारम्भिक बिक्रीले पनि उत्साहजनक संकेत दिएको छ।
टार्गेटका एक खरिदकर्ताले आधिकारिक विज्ञापन र सार्वजनिक घोषणाअघि नै आधा दिनमा ३७ हजार अमेरिकी डलर बराबरको बिक्री भएको जानकारी दिएको विवरण सार्वजनिक भएको छ। यद्यपि यस्तो प्रारम्भिक बिक्रीलाई दीर्घकालीन बजार सफलताको प्रमाण मान्न मिल्दैन। नयाँ बजारमा निरन्तर माग कायम राख्नु अब कम्पनीको मुख्य चुनौती हुनेछ।
यसरी पेम्ब्रोकशायरको घरबाट सुरु भएको व्यवसायले बेलायतका ठूला खुद्रा पसल, स्क्यान्डिनेभिया र अमेरिकासम्म आफ्नो उपस्थिति विस्तार गरेको छ। लुसीका लागि यो केवल बजार विस्तार होइन, एउटा सानो व्यवसायलाई अन्तर्राष्ट्रिय ब्रान्डमा रूपान्तरण गर्ने यात्राको महत्त्वपूर्ण चरण हो।
लोकप्रियताभन्दा दिगो ब्रान्डको चुनौती
हेयर सिरपको सफलतामा टिकटकको भूमिका महत्त्वपूर्ण भए पनि सामाजिक सञ्जालमा भाइरल हुनु मात्र यसको दीर्घकालीन आधार होइन। डिजिटल प्लेटफर्ममा कुनै उत्पादनको चर्चा केही दिनमै उत्कर्षमा पुग्न सक्छ। तर त्यसलाई स्थायी व्यवसायमा बदल्न उत्पादनको गुणस्तर, ग्राहकको विश्वास, आपूर्ति प्रणाली र बजार व्यवस्थापन आवश्यक हुन्छ।
लुसीले यो चुनौती समयमै बुझिन्। सुरुवाती दिनमा उत्पादन आफैँ तयार पार्ने र बिक्री गर्ने काम गरेकी उनले व्यवसाय ठूलो हुँदै जाँदा दक्ष जनशक्ति जोड्न थालिन्। उत्पादन विकास, बजार व्यवस्थापन, वित्तीय परामर्श र सञ्चालनका जिम्मेवारी बाँड्नुपर्ने आवश्यकता महसुस गरिन्।
सन् २०२५ मा प्रकाशित विवरणअनुसार कम्पनीमा १६ जना कर्मचारी कार्यरत थिए। त्यसपछि प्रकाशित अर्को विवरणले कर्मचारी संख्या १७ पुगेको उल्लेख गरेको छ। सानो घरेलु व्यवसायबाट सुरु भएको कम्पनीले व्यावसायिक व्यवस्थापन र कर्मचारी संरचना विकास गर्दै गएको यसले देखाउँछ।
उनको व्यवसायको अर्को विशेषता उत्पादनको पहिचान हो। हेयर सिरपले आफूलाई प्राकृतिक सामग्रीमा आधारित, जनावरमाथि परीक्षण नगरिएको हेयरकेयर ब्रान्डका रूपमा स्थापित गरेको छ। यसको सुरुवाती उत्पादन कपाल धुनुअघि प्रयोग गरिने तेल हो। अहिले कम्पनीले कपाल र टाउकोको छालाको हेरचाहसँग सम्बन्धित अन्य उत्पादन पनि विस्तार गरेको छ।
तर सौन्दर्य सामग्रीको बजार अत्यन्त प्रतिस्पर्धात्मक छ। ठूला अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्न निरन्तर नयाँ उत्पादन ल्याउनुपर्ने, ग्राहकको बदलिँदो रुचि बुझ्नुपर्ने र गुणस्तरमा सम्झौता गर्न नहुने चुनौती कम्पनीसामु छ। सामाजिक सञ्जालको लोकप्रियता घटबढ हुन सक्छ। त्यसैले कुनै एउटा डिजिटल प्लेटफर्ममा निर्भर रहनुभन्दा खुद्रा बजार, वितरक र प्रत्यक्ष ग्राहक सम्बन्धलाई बलियो बनाउनु आवश्यक हुन्छ।
अमेरिकी बजारमा प्रवेशपछि यो चुनौती अझ ठूलो बनेको छ। बेलायतमा स्थापित ब्रान्डलाई नयाँ देशमा उही स्तरको विश्वास दिलाउन समय लाग्छ। फरक बजारमा उत्पादनको मूल्य, उपभोक्ताको अपेक्षा, प्रतिस्पर्धी ब्रान्ड र वितरण लागत पनि फरक हुन्छन्। ६११ स्टोरमा उत्पादन पुर्याउने अवसर प्राप्त गर्नु उपलब्धि हो, तर त्यहाँ नियमित बिक्री कायम राख्नु अर्को परीक्षा हो।
लुसीको व्यावसायिक यात्रामा व्यक्तिगत जीवन र कामबीच सन्तुलन कायम राख्ने चुनौती पनि छ। कम्पनीको विस्तारसँगै जिम्मेवारी बढेको छ। उत्पादनदेखि बजार रणनीतिसम्मका विषयमा नेतृत्व दिनुपर्ने अवस्था छ। व्यवसाय सुरु गर्दा सबै काम आफैँ गर्ने उद्यमीले अब सक्षम टोलीमा भरोसा गर्न सिक्नुपरेको छ।
यो परिवर्तनले उनको नेतृत्व यात्रालाई पनि देखाउँछ। सफल उद्यमी हुनु भनेको सबै काम आफैँ गर्न सक्नु होइन, व्यवसायको आवश्यकता बुझेर सही मानिसलाई सही जिम्मेवारी दिन सक्नु पनि हो।
उद्यमशीलताको नयाँ पाठ
लुसी म्याक्लियोडको कथा परम्परागत अर्थमा ठूलो पुँजी, शक्तिशाली साझेदार वा स्थापित व्यावसायिक परिवारबाट सुरु भएको सफलता होइन।
उनीसँग सुरुमा न ठूलो लगानी थियो, न व्यवसाय सञ्चालनको अनुभव। तर आफ्नै समस्यालाई समाधान गर्ने क्रममा उनले बजारको आवश्यकता पहिचान गरिन्। त्यसलाई उत्पादनमा बदलिन्। ग्राहकको प्रतिक्रियाबाट बजारको सम्भावना बुझिन् र सामाजिक सञ्जालको उपयोग गर्दै व्यवसाय विस्तार गरिन्।
उनको सफलताबाट तीनवटा महत्त्वपूर्ण व्यावसायिक पाठ लिन सकिन्छ।
पहिलो, व्यवसायको सुरुवात ठूलो विचारबाट मात्र हुनुपर्दैन। उपभोक्ताले दैनिक जीवनमा भोगिरहेको सानो समस्याको समाधान पनि सफल उत्पादनको आधार बन्न सक्छ। लुसीले आफ्नै कपालको समस्याबाट उत्पादनको विचार निकालिन्। त्यसपछि त्यही समस्या अरू धेरै मानिसले पनि भोगिरहेको बुझिन्।
दोस्रो, सीमित पुँजीबाट व्यवसाय सुरु गर्दा खर्च व्यवस्थापन र नगद प्रवाहको महत्त्व झन् बढी हुन्छ। उनले सुरुमै ठूलो उत्पादन गरेर जोखिम मोलिनन्।
थोरै उत्पादन बनाइन्, बिक्रीको प्रतिक्रिया हेरिन् र प्राप्त रकम पुनः व्यवसायमा लगानी गरिन्। बाह्य लगानीबिना व्यवसाय विस्तार गर्ने उनको निर्णयले स्वामित्व कायम राख्न मद्दत गर्यो।
तेस्रो, डिजिटल बजारलाई केवल प्रचारको माध्यमका रूपमा होइन, ग्राहकसँग सम्बन्ध निर्माण गर्ने संरचनाका रूपमा उपयोग गर्न सकिन्छ। टिकटकमा आएको एउटा सामान्य भिडियोले उत्पादनको माग सिर्जना गर्यो। ग्राहकका प्रतिक्रिया, अनुभव र सहभागिताले ब्रान्डलाई विस्तार गर्न सहयोग गरे। त्यसपछि खुद्रा विक्रेतासँगको साझेदारीले डिजिटल लोकप्रियतालाई भौतिक बजारमा रूपान्तरण गर्यो।
उनको यात्राले अस्वीकृतिलाई पनि सफलताको अन्तिम निर्णय मान्न नहुने सन्देश दिन्छ। ‘ड्रागन्स डेन’मा लगानी नपाउनु तत्कालीन रूपमा निराशाजनक घटना थियो। तर त्यसले उनलाई आफ्नो नेतृत्व क्षमता, व्यवस्थापन संरचना र व्यवसायको वास्तविक आवश्यकताबारे पुनर्विचार गर्ने अवसर दियो।
लुसीले आफ्नो व्यवसाय सुरु गर्दा विश्वव्यापी ब्रान्ड बनाउने सपना देखेकी थिइनन्। उनी त आफ्नै कपालको समस्या समाधान गर्न चाहन्थिन्। त्यसपछि केही मानिसले उनको उत्पादन किन्न चाहे। उनले १० बोतलबाट परीक्षण गरिन्। ग्राहक बढ्दै गएपछि उत्पादन बढाइन्। यही क्रमले उनलाई करोडौँ पाउन्डको कारोबारसम्म पुर्यायो।
आज उनको व्यवसाय अमेरिकी बजारमा प्रवेश गरिसकेको छ। तर यसको सुरुवात कुनै ठूलो उद्योगको कारखाना, लगानीकर्ताको कार्यालय वा व्यावसायिक केन्द्रबाट भएको थिएन। एउटा विद्यार्थीको भान्सामा गरिएको सामान्य प्रयोगबाट भएको थियो।
व्यवसायको आकार जति ठूलो हुँदै जान्छ, त्यसलाई टिकाइराख्ने चुनौती पनि त्यति नै बढ्छ। लुसीका लागि अबको परीक्षा केवल नयाँ बजारमा प्रवेश गर्नु होइन, त्यहाँ ग्राहकको विश्वास जित्नु र ब्रान्डलाई दीर्घकालीन रूपमा स्थापित गर्नु हो।
पाँच वर्षमा हासिल गरेको सफलताले उनको व्यावसायिक यात्राको पहिलो ठूलो अध्याय लेखेको छ। आगामी दिनमा अमेरिकी बजार र अन्य अन्तर्राष्ट्रिय क्षेत्रमा उनले गर्ने विस्तारले यो ब्रान्डको वास्तविक विश्वव्यापी क्षमता निर्धारण गर्नेछ।
३०० पाउन्डको प्रारम्भिक पुँजीबाट सुरु भएको यो यात्रा उद्यमशीलताको एउटा सरल तर बलियो उदाहरण बनेको छ। ठूलो व्यवसाय बनाउन सधैँ ठूलो लगानी नै चाहिन्छ भन्ने छैन। कहिलेकाहीँ आफ्नै समस्यालाई गम्भीरतापूर्वक बुझ्ने, त्यसको समाधान खोज्ने र ग्राहकको आवश्यकतासँग जोड्ने क्षमताले पनि अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने बाटो खोल्न सक्छ।
