काठमाडौं: नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को अंकमा वृद्धि भएको छ। अर्थ मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन रेटिङ मोडल (एसआरएम) मा नेपालको अंक गत वर्षको ३.४७ बाट ०.१९ ले बढेर ३.६६ पुगेको हो।
फिचको मूल्यांकन प्रणालीअनुसार ‘बिबी-’ (डबल बी माइनस) रेटिङ प्राप्त गर्न कम्तीमा ३.५ अंक आवश्यक पर्छ। गत वर्ष नेपालको अंक उक्त सीमाभन्दा कम रहेकाले गुणात्मक मूल्यांकनका आधारमा थप सहुलियतसहित ‘बिबी-’ रेटिङ दिइएको थियो। यस वर्ष भने नेपालले कुनै अतिरिक्त ग्रेस अंक वा सहुलियतबिना नै आफ्नै मूल्यांकनका आधारमा सो रेटिङ प्राप्त गरेको मन्त्रालयले जनाएको छ।
फिचले लगातार तेस्रो वर्ष नेपालको सार्वभौम क्रेडिट रेटिङ ‘बिबी-’ मा स्थिर राखेको छ। हालै रसुवा र बूढीगण्डकीलगायतका क्षेत्रमा गएको बाढीका कारण उत्पन्न प्रतिकूल परिस्थितिका बाबजुत रेटिङ अंकमा भएको वृद्धि महत्वपूर्ण उपलब्धि भएको मन्त्रालयको भनाइ छ। सरकारले चालेका सुशासनसम्बन्धी कदम र आर्थिक सुधारका कार्यक्रमले यसमा सकारात्मक प्रभाव पारेको विज्ञप्तिमा उल्लेख छ।
सार्वभौम क्रेडिट रेटिङले कुनै पनि देशको आर्थिक अवस्था, वित्तीय स्थायित्व र ऋण तिर्न सक्ने क्षमताको मूल्यांकन गर्छ। यसले अन्तर्राष्ट्रिय वित्तीय बजारमा मुलुकको विश्वसनीयता, वैदेशिक लगानीको वातावरण र बाह्य ऋण प्राप्त गर्ने क्षमताको आकलन गर्न आधार प्रदान गर्दछ।
