काठमाडौं । नेपाली गायिका प्रशन्ना पाण्डेले जापानको राजधानी टोकियोमा सांगीतिक प्रस्तुति दिने भएकी छन्। आगामी नोभेम्बर १९, २०२६ मा आयोजना हुन लागेको विशेष सांगीतिक कार्यक्रम ‘म्युजिकल नाइट’मा उनले आफ्नो प्रस्तुति दिन लागेकी हुन्।
सुमधुर स्वर, मेलोडियस गीत र आकर्षक स्टेज प्रस्तुतिका कारण नेपाली संगीतप्रेमीमाझ परिचित पाण्डे पछिल्लो समय स्वदेश तथा विदेशका विभिन्न सांगीतिक कार्यक्रममा सक्रिय रहँदै आएकी छन्।
करिब एक दशकदेखि गायन क्षेत्रमा सक्रिय उनले तीन दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। नेपाली सुगम संगीतलगायत विभिन्न विधाका गीतमार्फत आफ्नो सांगीतिक पहिचान बनाउँदै आएकी पाण्डेले नेपालका विभिन्न सहर तथा विदेशका सांगीतिक मञ्चमा समेत प्रस्तुति दिइसकेकी छन्।
हालै दशैँको अवसरमा झापाको भद्रपुरमा आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुति दिएकी उनले तिहारका अवसरमा जनकपुरको रघुनाथपुरमा सम्पन्न कार्यक्रममा पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन्। उक्त कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की, हास्यकलाकार सन्दीप क्षेत्री र गायक कमल खत्रीलगायतका कलाकारले प्रस्तुति दिएका थिए।
गायनसँगै कार्यक्रम सञ्चालनमा समेत सक्रिय पाण्डेले संगीतलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी साधना र आत्मसन्तुष्टिको यात्राका रूपमा लिँदै आएकी छन्। दर्शक तथा श्रोतासँग सहज रूपमा जोडिन सक्ने उनको प्रस्तुति शैलीले सांगीतिक यात्रालाई थप फराकिलो बनाएको छ।
टोकियोमा आयोजना हुन लागेको कार्यक्रममा पाण्डेसँगै गायिका तथा मोडल स्मृति पोखरेलले पनि प्रस्तुति दिनेछिन्। कार्यक्रममा जापानमा बसोबास गर्ने नेपाली समुदायलाई नेपाली गीतसंगीतमार्फत मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।
नेपाली कला, संस्कृति र संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने प्रयासका रूपमा समेत यस कार्यक्रमलाई हेरिएको छ। दुवै गायिकाले टोकियोमा रहेका नेपाली दर्शक तथा श्रोतासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना सांगीतिक प्रस्तुति दिनेछन्।
आयोजित कार्यक्रम सफल हुने र नेपाली समुदायबाट राम्रो साथ तथा माया प्राप्त हुने अपेक्षा गायिका पाण्डेले गरेकी छन्।
