एजेन्सी । माइक्रोसफ्ट ३६५ को सेवा अवरुद्ध भएको नक्कली सूचना पठाएर विश्वभरका विभिन्न संस्था तथा व्यावसायिक खातालाई लक्षित गर्दै साइबर आक्रमण भइरहेको पाइएको छ। माइक्रोसफ्टले यस्तो फिसिङ अभियान पत्ता लगाउँदै प्रयोगकर्तालाई सतर्क रहन आग्रह गरेको छ।
माइक्रोसफ्टका अनुसार साइबर अपराधीहरूले सेवा अवरुद्ध हुँदा केही इमेल रोकिएको र २४ घण्टाभित्र पुनःस्थापना नगरे ती मेटिने भन्दै नक्कली सूचना पठाइरहेका छन्। प्रयोगकर्तालाई हतारमा लिंक खोल्न बाध्य पारेर लगइन विवरण चोरी गर्ने उद्देश्यले यस्तो अभियान चलाइएको अनुमान छ।
माइक्रोसफ्टको थ्रेट इन्टेलिजेन्स टोलीले गत नोभेम्बर १३ मा उक्त अभियान पत्ता लगाएको हो। नक्कली इमेलमा आउटलुक, टिम्स, सेयरपोइन्ट र कोपाइलटजस्ता सेवाको नाम उल्लेख गरेर सन्देशलाई वास्तविक देखाउने प्रयास गरिएको छ।
माइक्रोसफ्टले moments-notice.com, planetmaison.com र newbooker.com लगायतका शंकास्पद डोमेन पहिचान गरेको छ। ती इमेलमा रहेका लिंकले प्रयोगकर्तालाई माइक्रोसफ्टबाहेकका वेबसाइटमा पुर्याउने गरेका छन्।
हालसम्म प्रयोगकर्ताको लगइन विवरण चोरी भएको वा खातामा अनधिकृत पहुँच पुगेको पुष्टि गर्ने प्रमाण फेला नपरेको कम्पनीले जनाएको छ। त्यस्तै, अभियानमार्फत मालवेयर फैलाइएको प्रमाण पनि भेटिएको छैन।
माइक्रोसफ्टले शंकास्पद इमेलमा आएका लिंक नखोल्न र सेवा अवरुद्ध भएको सूचना प्राप्त भए आधिकारिक माइक्रोसफ्ट ३६५ एडमिन सेन्टरबाट मात्र पुष्टि गर्न आग्रह गरेको छ।
कम्पनीले शंकास्पद लिंकमा क्लिक गरेका प्रयोगकर्तालाई लगइन विवरण प्रविष्ट गरे वा नगरेको जाँच गर्न तथा विवरण बाहिरिएको आशंका भए तत्काल पासवर्ड परिवर्तन गर्न सुझाव दिएको छ। साथै, सक्रिय सेसन बन्द गर्ने र मल्टि–फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न पनि आग्रह गरेको छ।
