काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिकूल परिस्थितिमा पनि सरकारले तोकेको लक्ष्यभन्दा बढी भन्सार राजस्व सङ्कलन हुनु सुशासनको परिणाम भएको बताएका छन्। आन्तरिक राजस्व विभागले आयोजना गरेको राष्ट्रिय कर दिवस २०८३ को कार्यक्रममा बोल्दै उनले नीतिगत सुधार र सुशासनका कारण चालु आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको दाबी गरे।
असोज महिनामा कर राजस्वका सबै लक्ष्य पूरा भएको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले सुधारका प्रयासले सकारात्मक नतिजा दिन थालेको बताए। उनले भने, ‘सरकारले अर्थतन्त्र सुधारका लागि चालेका कदम र सुशासनको लाभांशका कारण हामी प्रतिकूलताका बीच पनि अगाडि बढिरहेका छौं र राजस्वका लक्ष्य पनि भेट्टाउँदै आएका छौं।’
अर्थमन्त्री वाग्लेले कर प्रशासनको डिजिटल रूपान्तरण र स्वचालनलाई सुशासनको अभिन्न अङ्गका रूपमा अघि सारिएको बताए। उनले आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सुरक्षित र करदातामैत्री बनाउन प्राविधिक सुधार भइरहेको जानकारी दिए। कारोबार, लेखा प्रतिवेदन, आय विवरण र कर दाखिलाका प्रक्रियालाई प्रविधिमार्फत स्वचालित बनाउँदै कार्यदक्षता बढाउने सरकारको योजना छ।
यसबाहेक उद्यमशीलता प्रवर्द्धन र लगानी विस्तारका लागि कर नीतिमा सुधार तथा दर र दायरा पुनरवलोकनको काम भइरहेको उनले बताए। भन्सार महसुल र अन्तःशुल्कसहितका क्षेत्रमा सुधारको प्रक्रिया सुरु भएको उनको भनाइ छ। सोही कार्यक्रममा प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले नयाँ करदाता पोर्टलको शुभारम्भ गरे भने विभागको वार्षिक प्रतिवेदन र स्मारिका पनि सार्वजनिक गरियो। विभागका महानिर्देशक भीष्मकुमार भुसालले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको बताए।
