काठमाडौं: भारतले हिउँदयामको सुख्खा समयमा नेपाललाई ३५० मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ। भारतीय राजदूत सुधाकर दलेलाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई मन्त्रालयमा भेटेर भारतको उक्त निर्णयबारे जानकारी गराएका हुन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार नेपालले २०८३ मङ्सिर १ गतेदेखि २०८४ साउन १५ गतेसम्म सो परिमाणमा विद्युत् आयात गर्ने अनुमति प्राप्त गरेको छ। सुख्खायामको उच्च माग हुने समयमा ३५० मेगावाट आयात अनुमति पाउनुका साथै नेपालले थप ५६ मेगावाट बिजुली भारत निर्यात गर्ने स्वीकृतिसमेत पाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘यसले हिउँदमा माग धान्न मद्दत गर्छ। आपूर्ति व्यवस्थापन सहज हुनेछ।’ गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् संरचनामा क्षति पुर्याउँदा ४३१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ। कालीगण्डकी र बुढीगण्डकी बाढीले समेत पूर्वाधारमा क्षति पुर्याएको थियो।
राजदूत दलेलाले भोटेकोशी बाढीबाट भएको क्षतिलाई मध्यनजर गर्दै भारतले नेपालको हिउँदे विद्युत् मागलाई गम्भीरतापूर्वक लिएर बिजुली उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए। यसअघि मन्त्री श्रेष्ठले मन्त्रालय र प्राधिकरणका अधिकारीहरूलाई दिल्ली पठाएर विद्युत् आपूर्तिको मोडालिटीबारे छलफल गराएका थिए। पछिल्लो समय भारतीय विदेश सचिव विक्रम मिश्री र ऊर्जा सचिवसँगको संवादपछि भारतले यो निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा यो सहमति जुटेको हो।
