काठमाडौं: ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार कात्तिक महिनामा कुल ४९ लाख ८७ हजार २ सय रुपैयाँ भेटी संकलन भएको हो।
सोही अवधिमा ६४ हजार १ सय ६ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिले हरेक महिना संकलित भेटीको विवरण सार्वजनिक गर्दै आएको छ।
समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार कात्तिक २८ गते शनिबार विगतका वर्षहरूको तुलनामा एकै दिन सबैभन्दा धेरै दर्शनार्थी मन्दिर पुगेका थिए। उक्त दिन ११ हजार २ सय ७२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका हुन्।
