काठमाडौं: सोलुखुम्बुस्थित तेन्जिङ हिलारी विमानस्थलमा पर्यटकको चाप बढेसँगै दैनिक दुई सयभन्दा बढी उडान हुन थालेका छन्। सगरमाथा क्षेत्रको प्रवेशद्वार मानिने यस विमानस्थलमा हेलिकप्टर र जहाज दुवैको उडान संख्यामा उल्लेख्य वृद्धि भएको हो। विमानस्थलका निमित्त प्रमुख नवराज कटुवालका अनुसार हेलिकप्टरसमेत जोड्दा दैनिक औसतमा करिब दुई सय उडान हुने गरेका छन्।
शरद ऋतु पदयात्राका लागि उपयुक्त मानिने भएकाले सगरमाथा आधार शिविर, गोक्यो उपत्यका र कालापत्थर जाने पर्यटकको संख्या बढेको छ। हाल दैनिक पाँच सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक लुक्ला पुग्ने गरेका छन्। पर्यटकको चाप बढेसँगै लुक्ला-काठमाडौं हवाई टिकट पाउन कठिन भएको छ भने टिकट नपाउँदा यात्रुहरू विमानस्थलमै लामो समय पर्खिन बाध्य छन्।
हाल तारा एयर, समिट एयर र सीता एयरले लुक्लामा नियमित उडान गरिरहेका छन्। समिट एयरका लुक्ला प्रमुख लाक्पाकाजी शेर्पाका अनुसार सगरमाथा आधार शिविर पर्यटकको मुख्य आकर्षण बनेको छ। केही समयअघिको खराब मौसममा सुधार भएसँगै पर्यटकको आगमन थप बढेको हो।
पर्यटकको चहलपहलले होटल, रेस्टुरेन्ट, पर्यटन गाइड र स्थानीय व्यापारीको व्यवसायमा उत्साह थपेको छ। पदयात्राको व्यस्त मौसमले स्थानीय बासिन्दाका लागि आम्दानी र रोजगारीका अवसर सिर्जना गरेको छ। यद्यपि, अत्यधिक चापका कारण होटल तथा व्यवसायीलाई आगन्तुकको व्यवस्थापन गर्न कठिनाइ हुन थालेको स्थानीय तोया श्रेष्ठले बताए।
पर्यटकीय सिजनमा एयरलाइन्सहरूले लुक्ला विमानस्थललाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन्। यसका कारण जिल्लाका अन्य विमानस्थलमा भने उडान कम हुने गरेको छ।
