Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

निखिल कामथः कल सेन्टरदेखि अर्बपतिको शिखरसम्म

औपचारिक शिक्षाको परम्परागत बाटो छाडेर सेयर बजारमा प्रवेश गरेका कामथले कम लागतको कारोबार मोडलमार्फत भारतको वित्तीय सेवा क्षेत्रमा नयाँ व्यावसायिक पहिचान बनाएका छन्।

निखिल कामथः कल सेन्टरदेखि अर्बपतिको शिखरसम्म
A A+ A-

भारतको उद्यमशीलता क्षेत्रमा सफलताको कथा लेख्दा प्रायः प्रतिष्ठित विश्वविद्यालय, पारिवारिक व्यवसाय, ठूलो लगानी वा प्रविधिको बलियो पृष्ठभूमि जोडिन्छ। तर निखिल कामथको व्यावसायिक यात्रा यीमध्ये कुनै परम्परागत बाटोबाट सुरु भएको होइन।

औपचारिक शिक्षा पूरा नगरी कामको संसारमा प्रवेश गरेका उनले कल सेन्टरको सामान्य जागिरबाट आफ्नो आर्थिक यात्रा सुरु गरे। त्यसपछि सेयर बजारमा रुचि बढाउँदै कारोबार सिके, आफ्नै पुँजी लगानी गरे र अन्ततः भारतको सबैभन्दा ठूलो अनलाइन ब्रोकरेज व्यवसायमध्ये एक निर्माण गर्ने उद्यमी बने।

आज निखिल कामथलाई भारतका चर्चित युवा उद्यमी, लगानीकर्ता र वित्तीय प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छ। उनको परिचय केवल जेरोधाका सहसंस्थापकमा सीमित छैन। लगानी, सम्पत्ति व्यवस्थापन, नयाँ व्यवसायमा पुँजी परिचालन, उद्यमशीलता र सार्वजनिक संवादका क्षेत्रमा पनि उनको सक्रियता छ।

तर उनको सफलताको आधार बुझ्न अहिलेको सम्पत्ति वा चर्चाभन्दा पहिले उनको सुरुवाती जीवन, जोखिम लिने निर्णय र बजारलाई हेर्ने दृष्टिकोण बुझ्न आवश्यक छ।

कामथको कथा असाधारण प्रतिभा वा अचानक प्राप्त सफलताको कथा मात्र होइन।

यो बजारमा अवसर पहिचान गर्ने, ग्राहकले भोगिरहेको समस्या बुझ्ने, खर्च घटाएर प्रतिस्पर्धी सेवा दिने र व्यवसायलाई क्रमशः विस्तार गर्ने यात्रासँग जोडिएको छ।

भारतको सेयर बजारमा परम्परागत ब्रोकरहरूले कारोबारमा लिने शुल्क र सेवा संरचनाबीच उनले फरक मोडल प्रस्तुत गरे।

त्यसले लगानीकर्ताका लागि कारोबारको लागत घटायो र अनलाइन लगानीको पहुँच विस्तार गर्न सहयोग पुर्‍यायो।

उनको यात्रामा एउटा महत्त्वपूर्ण पाठ छ। व्यवसाय सुरु गर्न सधैँ ठूलो पुँजी वा प्रतिष्ठित शैक्षिक प्रमाणपत्र नै निर्णायक हुँदैन।

बजारको समस्या बुझ्ने क्षमता, अनुशासन, निरन्तर सिकाइ र ग्राहकलाई वास्तविक मूल्य दिने व्यावसायिक सोचले पनि ठूलो उद्यम निर्माण गर्न सक्छ। तर कामथको सफलतालाई केवल ‘पढाइ छाडेर अर्बपति बने’ भन्ने रोचक वाक्यमा सीमित गर्दा उनको वास्तविक व्यावसायिक योगदान र जोखिमपूर्ण निर्णयको गहिराइ छुट्छ।

पढाइभन्दा फरक बाटो रोज्ने निर्णय

निखिल कामथको जन्म सन् १९८६ सेप्टेम्बर ५ मा भारतको कर्नाटक राज्यको शिवमोग्गामा भएको हो। उनको बाल्यकाल र हुर्काइ बेंगलुरुमा बित्यो। मध्यमवर्गीय परिवारमा हुर्किएका उनका बुबा बैंकमा काम गर्थे भने आमा कर्नाटक शास्त्रीय संगीतसँग आबद्ध थिइन्। परिवारको अपेक्षा पनि अन्य मध्यमवर्गीय भारतीय परिवारजस्तै सुरक्षित र स्थापित पेसागत जीवनतर्फ थियो। तर निखिलको रुचि परम्परागत शिक्षाको ढाँचामा अडिएन।

विद्यालयमा पढाइप्रति उनको आकर्षण कमजोर थियो। उनलाई कुनै विषय किन पढ्ने, त्यसको वास्तविक जीवनसँग के सम्बन्ध छ र त्यसले भविष्यमा कसरी सहयोग गर्छ भन्ने प्रश्नको सन्तोषजनक उत्तर चाहिन्थ्यो। यही असन्तुष्टिले औपचारिक शिक्षाबाट उनको दूरी बढायो।

कक्षा १० पछि उनले विद्यालय छाडे। उनी १४ वर्षको हुँदा साथी तेजपालसँग मिलेर पुराना मोबाइल फोन किनबेच गर्ने सानो कामसमेत सुरु गरेका थिए। त्यो कामबाट केही आम्दानी हुन थालेको थियो, तर परिवारले पढाइ छाडेर व्यवसायमा लाग्न खोजेको ठानेपछि त्यो प्रयास रोकियो।

विद्यालय छाड्ने निर्णय कुनै व्यवस्थित व्यावसायिक योजनाको परिणाम थिएन। उनी आफैँले विभिन्न अन्तर्वार्तामा त्यसबेला आफ्नो भविष्यबारे स्पष्ट योजना नभएको बताएका छन्। पढाइ छाडेपछि के गर्ने भन्ने निश्चित थिएन, तर पैसा कमाउने र आफ्नै बाटो खोज्ने चाहना भने थियो। औपचारिक शिक्षाबाट बाहिरिएपछि उनले आफ्नो समय र ऊर्जा काम तथा नयाँ सीप सिक्नमा लगाउन थाले।

१७ वर्षको उमेरमा उनले कल सेन्टरमा जागिर पाए। त्यहाँ उनको मासिक तलब करिब आठ हजार भारतीय रुपैयाँ थियो। साँझ ४ बजेदेखि राति १ बजेसम्म काम गर्नुपर्ने भएकाले बिहानको समय उनीसँग खाली रहन्थ्यो। यही खाली समयलाई उनले सेयर बजार बुझ्न र कारोबार सिक्न प्रयोग गरे। जागिरले नियमित आम्दानी दिएको थियो, तर बजारले उनलाई फरक सम्भावना देखाउन थालेको थियो।

कल सेन्टरको काम र सेयर कारोबार एकसाथ अघि बढाउनु सजिलो थिएन। बजारको उतारचढाव बुझ्नुपर्ने, कम्पनीको अवस्था अध्ययन गर्नुपर्ने र लगानीमा जोखिम लिनुपर्ने हुन्थ्यो। सुरुवाती चरणमा उनी आफ्नै सानो पुँजीबाट कारोबार गर्थे। बिस्तारै परिवार, साथी र सहकर्मीको पैसा व्यवस्थापन गर्ने जिम्मेवारी पनि पाए। अरूको पुँजी व्यवस्थापन गर्दा नाफा मात्र होइन, जोखिम र विश्वासको जिम्मेवारीसमेत लिनुपर्ने अनुभव उनले त्यही समयमा हासिल गरे।

उनका बुबाले आफ्नो केही बचत व्यवस्थापन गर्न दिएपछि सेयर कारोबारलाई अझ गम्भीरतापूर्वक अघि बढाउने अवसर मिलेको उनले विभिन्न अन्तर्वार्तामा बताएका छन्। कल सेन्टरका सहकर्मीले पनि उनको कारोबारप्रति चासो देखाउन थाले। एकपछि अर्को व्यक्तिको पैसा व्यवस्थापन गर्ने अनुभवले उनीभित्र लगानी व्यवस्थापनको प्रारम्भिक व्यावसायिक सीप विकास गर्‍यो। यो अनुभव पछि उनको व्यवसाय यात्राको आधार बन्यो।

करिब २० वर्षको उमेरमा उनले कल सेन्टरको जागिर छाडे। त्यसपछि दाजु नितिन कामथसँग मिलेर कारोबार तथा लगानीसम्बन्धी कामलाई व्यवस्थित रूपमा अघि बढाए। यही साझेदारीले पछि जेरोधा निर्माणको आधार तयार गर्‍यो।

दाजुभाइको साझेदारीबाट व्यवसायको सुरुवात

निखिलको व्यावसायिक यात्रामा दाजु नितिन कामथको भूमिका महत्त्वपूर्ण छ। नितिन आफैँ सेयर बजारमा लामो समयदेखि सक्रिय ट्रेडर थिए। बजारमा कारोबार गर्दा ब्रोकरहरूले लिने शुल्क, कारोबार प्रणालीको जटिलता र लगानीकर्ताले भोग्ने समस्यालाई उनले नजिकबाट अनुभव गरेका थिए।

निखिलले पनि कारोबार र ग्राहकको पैसा व्यवस्थापनमा अनुभव हासिल गरिसकेका थिए। दुवैको अनुभव र बजारबारेको बुझाइले नयाँ व्यवसायको सम्भावना देखायो।

उनीहरूले सन् २००४ तिर कामथ एसोसिएट्समार्फत लगानी तथा कारोबारसम्बन्धी काम सुरु गरेका थिए। त्यसको अनुभवले उनीहरूलाई परम्परागत ब्रोकरेज व्यवसायका कमजोरी बुझ्ने अवसर दियो। ग्राहकले कारोबार गर्दा तिर्नुपर्ने शुल्क, प्रविधिको सीमितता र सेवामा हुने ढिलाइ उनीहरूले प्रत्यक्ष देखेका थिए। लगानीकर्ताका लागि कारोबारलाई सहज र कम खर्चिलो बनाउन सकिने सम्भावना उनीहरूलाई देखियो।

भारतको सेयर बजारमा त्यसबेला परम्परागत ब्रोकरहरूको प्रभाव बलियो थियो। लगानीकर्ताले कारोबार गर्न ब्रोकरको कार्यालय वा प्रतिनिधिमाथि निर्भर हुनुपर्ने अवस्था थियो। कारोबारको मात्रा र रकमअनुसार शुल्क लाग्ने प्रणालीले साना लगानीकर्ताका लागि लागत बढाउँथ्यो। बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्तालाई प्रक्रिया, शुल्क र प्रविधिको जटिलताले निरुत्साहित गर्न सक्थ्यो।

कामथ दाजुभाइले यही समस्यालाई व्यवसायको अवसरका रूपमा लिए। उनीहरूले बजारमा प्रतिस्पर्धा गर्न ठूलो कार्यालय सञ्जाल, धेरै कर्मचारी र महँगो विज्ञापनभन्दा प्रविधि तथा कम लागतमा आधारित व्यवसाय मोडल रोजे। सन् २०१० अगस्ट १५ मा जेरोधाले औपचारिक रूपमा कारोबार सुरु गर्‍यो।

‘जेरोधा’ नाम पनि व्यवसायको सोचसँग जोडिएको छ। अंग्रेजी शब्द ‘जिरो’ र संस्कृतको ‘रोध’ अर्थात् अवरोध भन्ने अर्थलाई मिलाएर कम्पनीको नाम राखिएको हो। यसको संकेत कारोबारमा रहेका लागत र पहुँचका अवरोध हटाउनु थियो।

मले नै कम्पनीको व्यावसायिक उद्देश्य व्यक्त गर्थ्यो।

जेरोधाको स्थापना केवल नयाँ अनलाइन ब्रोकर खोल्ने प्रयास थिएन। यो भारतको ब्रोकरेज बजारमा शुल्क संरचना बदल्ने र लगानीकर्तालाई प्रविधिमार्फत प्रत्यक्ष सेवा दिने प्रयोग थियो। परम्परागत ब्रोकरले कारोबार रकमको अनुपातमा शुल्क लिने अवस्थामा जेरोधाले डिस्काउन्ट ब्रोकरेज मोडल प्रस्तुत गर्‍यो। यसले कारोबारको लागत घटाउने र ग्राहकलाई डिजिटल प्लेटफर्मबाट आफैँ कारोबार गर्न सक्षम बनाउने लक्ष्य राख्यो।

यस मोडलको विशेषता ग्राहक संख्या बढाएर कारोबारको मात्रा विस्तार गर्नु थियो। प्रत्येक कारोबारमा ठूलो कमिसन लिनुभन्दा निश्चित र कम शुल्कमा धेरै ग्राहकलाई सेवा दिने रणनीति अपनाइयो। यसले साना लगानीकर्तालाई बजारमा प्रवेश गर्न सहज बनायो। डिजिटल प्रविधिले ग्राहकको खाता खोल्ने, कारोबार गर्ने र आफ्नो लगानी हेर्ने प्रक्रिया पनि सरल बनायो।

जेरोधाको सुरुवाती वर्ष भने सहज थिएन। नयाँ ब्रान्डप्रति ग्राहकको विश्वास जित्नुपर्ने थियो। बजारमा स्थापित ब्रोकरहरू थिए। लगानीकर्ताले आफ्नो पैसा र सेयरको कारोबार नयाँ कम्पनीमार्फत गर्न हिचकिचाउनु स्वाभाविक थियो। जेरोधाले विज्ञापनमा ठूलो खर्च गर्नुको सट्टा ग्राहकको अनुभव, सेवा र प्रविधिमा जोड दियो।

कम्पनीको विस्तार क्रमशः भयो। पहिलो केही वर्षमा ग्राहक संख्या अपेक्षित गतिमा नबढे पनि डिजिटल लगानीको आवश्यकता र कम शुल्कको मोडलले बिस्तारै बजारमा स्थान बनाउन थाल्यो।

कम शुल्क, ठूलो बजार

जेरोधाको व्यवसाय मोडलको केन्द्रमा एउटा सरल विचार थियो-सेयर बजारमा प्रवेश गर्न चाहने व्यक्तिले कारोबार गर्दा अनावश्यक रूपमा धेरै शुल्क तिर्नु नपरोस्। यसका लागि कम्पनीले प्रविधिलाई मुख्य आधार बनायो। ग्राहकलाई अनलाइन खाता खोल्ने, कारोबार गर्ने, आफ्नो लगानीको विवरण हेर्ने र आवश्यक जानकारी प्राप्त गर्ने सुविधा उपलब्ध गराइयो। ग्राहकले ब्रोकरको कार्यालय धाउनुपर्ने वा हरेक कारोबारका लागि प्रतिनिधिमाथि निर्भर रहनुपर्ने बाध्यता घट्दै गयो।

कम्पनीले आफ्नो वेबसाइट र डिजिटल प्लेटफर्ममार्फत सेवा विस्तार गर्‍यो। कारोबारमा कम शुल्क, सरल प्रयोग र प्रविधिमा आधारित सेवा यसको प्रतिस्पर्धात्मक विशेषता बने। परम्परागत ब्रोकरको तुलनामा कम लागतमा सेवा दिन सक्ने भएपछि जेरोधाले नयाँ लगानीकर्तालाई आकर्षित गर्न थाल्यो। भारतमा इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दै जानु पनि कम्पनीका लागि अनुकूल बन्यो।

जेरोधाको सफलतामा केवल कम शुल्कको भूमिका थिएन। वित्तीय बजारमा लगानी गर्ने व्यक्तिलाई जानकारी र शिक्षा आवश्यक हुन्छ भन्ने बुझाइ पनि कम्पनीले विकास गर्‍यो। त्यसैले कारोबार सेवा मात्रै होइन, लगानीसम्बन्धी ज्ञान उपलब्ध गराउने पहलसमेत अघि बढाइयो। कम्पनीको ‘भर्सिटी’ नामक निःशुल्क वित्तीय शिक्षा प्लेटफर्मले सेयर बजार, लगानी, जोखिम, म्युचुअल फन्ड र वित्तीय उपकरणबारे सिक्न चाहने व्यक्तिलाई सामग्री उपलब्ध गराउँदै आएको छ।

यसले जेरोधालाई केवल कारोबार गर्ने एप वा ब्रोकरका रूपमा सीमित राखेन। कम्पनीले लगानीकर्तालाई बजार बुझ्न सहयोग गर्ने र वित्तीय पहुँच विस्तार गर्ने संस्थाको पहिचानसमेत बनायो। नयाँ लगानीकर्ताले कारोबार सुरु गर्नुअघि आधारभूत जानकारी पाउने अवसर बढ्यो। वित्तीय शिक्षालाई व्यवसायको सहायक पक्षका रूपमा मात्रै नभई बजार विस्तारको महत्त्वपूर्ण आधारका रूपमा लिइयो।

जेरोधाको आधिकारिक विवरणअनुसार अहिले कम्पनीका एक करोड ८० लाखभन्दा बढी ग्राहक छन्। उनीहरूले कम्पनीको डिजिटल प्रणालीमार्फत वर्षमा अर्बौँ अर्डर राख्छन्। भारतीय खुद्रा कारोबारको १५ प्रतिशतभन्दा बढी हिस्सा कम्पनीको प्रणालीमार्फत हुने जेरोधाको दाबी छ। यो तथ्यांकले कम्पनीले भारतीय सेयर बजारमा बनाएको प्रभाव देखाउँछ।

कम्पनीले बाह्य लगानीकर्ताबाट ठूलो पुँजी उठाएर तीव्र विस्तार गर्ने परम्परागत स्टार्टअप रणनीति अपनाएन। आफ्नै आम्दानी र स्रोतको आधारमा व्यवसाय अघि बढाउने मोडल रोज्यो।

यसलाई ‘बुटस्ट्र्याप्ड’ व्यवसाय भनिन्छ। यसको अर्थ संस्थापकले बाह्य लगानीकर्तालाई ठूलो हिस्सेदारी नदिई व्यवसायको आम्दानीबाटै विस्तार गर्ने प्रयास गर्नु हो। जेरोधाले यही मोडलबाट सन् २०२० मा एक अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यांकन भएको युनिकर्नको हैसियत प्राप्त गरेको थियो।

यो उपलब्धि भारतीय स्टार्टअप क्षेत्रमा महत्त्वपूर्ण मानियो। सामान्यतः युनिकर्न बन्ने कम्पनीले भेन्चर क्यापिटल वा निजी इक्विटी लगानीकर्ताबाट ठूलो रकम उठाउँछन्। तर जेरोधाले बाह्य पुँजी नलिई आफ्नै आम्दानीबाट व्यवसाय विस्तार गरेको थियो।

यसले कम्पनीको स्वामित्व संस्थापकसँगै रह्यो र दीर्घकालीन व्यावसायिक निर्णयमा बाह्य लगानीकर्ताको दबाब कम भयो।

यद्यपि जेरोधाको सफलतामा दुवै दाजुभाइको भूमिका समान प्रकारको थिएन। नितिन कामथ कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन्। उनले कारोबार प्रणाली, ग्राहकको अनुभव र व्यवसाय सञ्चालनमा मुख्य नेतृत्व दिएका छन्।

निखिल सहसंस्थापक तथा प्रमुख वित्तीय अधिकृतका रूपमा कम्पनीको वित्तीय योजना र लगानीसम्बन्धी पक्षमा संलग्न छन्। जेरोधाको सफलतालाई निखिलको एकल उपलब्धिका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन। यो दाजुभाइको साझेदारी, प्रविधि टोली र कम्पनीका अन्य कर्मचारीको संयुक्त प्रयासको परिणाम हो।

लगानीबाट सम्पत्ति व्यवस्थापनतर्फ

जेरोधाको विस्तारसँगै निखिल कामथको रुचि पनि फराकिलो हुँदै गयो। उनी केवल सेयर कारोबार गर्ने व्यवसायीका रूपमा सीमित रहन चाहेनन्। व्यक्तिगत लगानी, सम्पत्ति व्यवस्थापन र संस्थागत लगानीका क्षेत्रमा नयाँ अवसर खोज्न थाले। सन् २०१९ मा उनले ‘ट्रु बेकन’ स्थापना गरे। यो उच्च सम्पत्ति भएका ग्राहकलाई लक्षित सम्पत्ति व्यवस्थापन व्यवसाय हो।

ट्रु बेकनको उद्देश्य परम्परागत सम्पत्ति व्यवस्थापनभन्दा फरक लगानी रणनीति प्रस्तुत गर्नु थियो। विशेषगरी ठूलो पुँजी भएका लगानीकर्ताका लागि जोखिम व्यवस्थापन, विभिन्न वित्तीय उपकरणको प्रयोग र करको प्रभावलाई ध्यानमा राखेर लगानी संरचना बनाउने यसको अवधारणा थियो। कम्पनीले भारतको वित्तीय बजारमा लगानी गर्ने उच्च सम्पत्ति भएका व्यक्तिलाई लक्षित सेवा प्रदान गर्‍यो।

निखिल कामथले ट्रु बेकन सुरु गर्दा लगानीको प्रतिफल मात्र होइन, जोखिम नियन्त्रणलाई पनि प्राथमिकता दिनुपर्ने धारणा अघि सारेका थिए। सेयर बजारमा मूल्य बढ्दा नाफा कमाउनु सहज देखिए पनि बजार घट्दा लगानी जोगाउनु चुनौतीपूर्ण हुन्छ। ठूलो पुँजी भएका लगानीकर्ताका लागि सम्पत्तिको संरक्षण र दीर्घकालीन स्थिरता महत्त्वपूर्ण हुन्छ। ट्रु बेकनले यही पक्षलाई आफ्नो लगानी रणनीतिको केन्द्रमा राखेको थियो।

सन् २०२४ मा प्रकाशित विवरणअनुसार ट्रु बेकनको प्रारम्भिक लगानी रणनीतिले स्थापना भएयता वार्षिक औसत १६.६ प्रतिशत चक्रवृद्धि प्रतिफल दिएको कम्पनीको दाबी थियो। सोही अवधिमा निफ्टीको प्रतिफल करिब १४ प्रतिशत रहेको उल्लेख गरिएको थियो। तर शुल्क र कर कटाएपछि त्यो अन्तर कम हुन सक्ने विश्लेषण पनि सार्वजनिक भएको थियो। यसले लगानी व्यवस्थापनमा प्रतिफलको दाबी मात्रै पर्याप्त नहुने, ग्राहकले वास्तविक रूपमा प्राप्त गर्ने प्रतिफल महत्त्वपूर्ण हुने देखाउँछ।

ट्रु बेकनको स्थापना निखिलको व्यावसायिक यात्रामा अर्को चरण थियो। जेरोधामा उनले ठूलो संख्याका खुद्रा लगानीकर्तालाई लक्षित व्यवसाय निर्माण गरेका थिए भने ट्रु बेकनमार्फत उच्च सम्पत्ति भएका ग्राहकको आवश्यकता सम्बोधन गर्न खोजे। एउटै वित्तीय बजारभित्र फरक ग्राहक समूहका लागि फरक सेवा र लगानी रणनीति विकास गर्ने उनको प्रयास यसबाट देखिन्छ।

तर उनको सबैभन्दा ठूलो व्यावसायिक पहिचान अझै पनि जेरोधासँगै जोडिएको छ। ट्रु बेकनको दैनिक सञ्चालनमा व्यावसायिक टोलीलाई जिम्मेवारी हस्तान्तरण गर्दै उनले अन्य लगानी र उद्यमशीलताका क्षेत्रमा आफ्नो सक्रियता विस्तार गरे। यसले संस्थापकले व्यवसाय सुरु गरेपछि हरेक काम आफैँ नियन्त्रणमा राख्नुभन्दा उपयुक्त टोली निर्माण गरेर जिम्मेवारी बाँड्नुपर्ने महत्त्व पनि देखाउँछ।

नयाँ उद्यममा पुँजी परिचालन

निखिल कामथले लगानीको क्षेत्रलाई वित्तीय बजारमा मात्र सीमित राखेनन्। सन् २०२१ मा उनले व्यवसायी अभिजित पाईसँग मिलेर ‘गृहास’ स्थापना गरे। यसले विशेषगरी प्रोपटेक, अर्थात् घरजग्गा र प्रविधिको अन्तरसम्बन्ध भएका व्यवसायमा लगानी गर्ने उद्देश्य राखेको थियो। पछि यसको लगानी क्षेत्र ऊर्जा संक्रमण, विद्युतीय सवारीसाधन, स्वच्छ प्रविधि र अन्य उदीयमान क्षेत्रमा पनि विस्तार भएको छ।

गृहासमार्फत कामथले नयाँ व्यवसायको सम्भावना पहिचान गर्ने र प्रारम्भिक चरणका उद्यमलाई पुँजी उपलब्ध गराउने काम अघि बढाए। घरजग्गा कारोबारमा प्रविधिको प्रयोग, डिजिटल पूर्वाधार, ऊर्जा दक्षता र जलवायु परिवर्तनसँग सम्बन्धित समाधानहरूमा लगानीको सम्भावना खोजियो। परम्परागत व्यवसायमा प्रविधिको प्रयोग बढ्दै जाँदा नयाँ कम्पनीहरूका लागि बजार खुल्ने उनको दृष्टिकोण थियो।

यसरी जेरोधाबाट सुरु भएको वित्तीय प्रविधिको अनुभवलाई उनले नयाँ क्षेत्रका उद्यममा लगानी गर्ने आधार बनाए। एउटा व्यवसायबाट आर्जित पुँजी र अनुभव अर्को व्यवसायको विकासमा परिचालन गर्नु उनको रणनीतिको महत्त्वपूर्ण पक्ष बन्यो। तर नयाँ क्षेत्रमा लगानी गर्दा जोखिम पनि फरक हुन्छ। प्रविधि परिवर्तन, बजारको माग, नियमन र कम्पनीको व्यवस्थापन क्षमता जस्ता विषयले लगानीको प्रतिफल निर्धारण गर्छन्।

कामथको लगानी रणनीतिमा सबैभन्दा उल्लेखनीय पक्ष भनेको एउटै क्षेत्रमा सीमित नहुनु हो। उनी वित्तीय सेवा, सम्पत्ति व्यवस्थापन, घरजग्गा प्रविधि, जलवायु प्रविधि र प्रारम्भिक चरणका उद्यममा संलग्न छन्। यसले उनलाई केवल ब्रोकर कम्पनीका सहसंस्थापकभन्दा व्यापक लगानीकर्ताका रूपमा स्थापित गरेको छ।

‘डब्ल्यूटीएफ’बाट उद्यमशीलताको बहस

निखिल कामथको सार्वजनिक पहिचान पछिल्ला वर्षमा अझ विस्तार भएको छ। उनले सन् २०२३ तिर सुरु गरेको ‘डब्ल्यूटीएफ’ पोडकास्टमार्फत व्यवसाय, अर्थतन्त्र, प्रविधि, संस्कृति, राजनीति र समाजका विभिन्न विषयमा प्रभावशाली व्यक्तिहरूसँग संवाद गर्दै आएका छन्। यसले उनलाई परम्परागत व्यवसायीभन्दा फरक सार्वजनिक व्यक्तित्वका रूपमा स्थापित गरेको छ।

पोडकास्टमा उनले उद्यमी, लगानीकर्ता, नीति निर्माता, कलाकार र विश्वव्यापी प्रभावशाली व्यक्तित्वलाई आमन्त्रण गर्दै आएका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्कजस्ता व्यक्तित्वसँगका संवादले यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय ध्यानसमेत दिलाएको छ।

पोडकास्टको उद्देश्य केवल प्रसिद्ध व्यक्तिको अन्तर्वार्ता लिनु नभई उनीहरूको निर्णय, अनुभव, असफलता र सोच बुझ्नु रहेको देखिन्छ।

व्यवसायीका लागि सार्वजनिक संवाद र विचार आदानप्रदान पनि प्रभाव निर्माण गर्ने माध्यम बन्न सक्छ। कामथले पोडकास्टलाई आफ्नो व्यक्तिगत ब्रान्ड विस्तार गर्ने माध्यमका रूपमा मात्र प्रयोग गरेका छैनन्। नयाँ पुस्ताका उद्यमी, लगानीकर्ता र व्यवसाय सुरु गर्न चाहने युवालाई सफल व्यक्तिका अनुभवसँग जोड्ने प्रयास पनि गरेका छन्।

पोडकास्टको लोकप्रियतासँगै उनको सामाजिक सञ्जालमा पहुँच बढेको छ। यसले नयाँ उद्यमीलाई आफ्नो विचार प्रस्तुत गर्ने, लगानीकर्तासँग जोडिने र व्यावसायिक अवसर खोज्ने प्लेटफर्म उपलब्ध गराएको छ। तर सामाजिक सञ्जालको लोकप्रियता र व्यवसायको वास्तविक सफलता फरक कुरा हुन्। कामथको व्यावसायिक मूल्यांकन गर्दा उनको लगानी, व्यवसाय निर्माण र उद्यमीलाई दिएको सहयोगलाई छुट्टै हेर्नुपर्छ।

युवालाई हिस्सेदारी नलिई सहयोग

निखिल कामथको उद्यमशीलता यात्राको अर्को उल्लेखनीय पक्ष युवालाई व्यवसाय सुरु गर्न सहयोग गर्ने प्रयास हो। सन् २०२४ मा उनले ‘डब्ल्यूटीएफ फन्ड’ सार्वजनिक गरे। यसको उद्देश्य २५ वर्ष वा त्यसभन्दा कम उमेरका युवा उद्यमीलाई प्रारम्भिक पुँजी र मार्गदर्शन उपलब्ध गराउनु हो।

यस कोषको विशेषता परम्परागत भेन्चर क्यापिटलजस्तो कम्पनीको सेयर वा हिस्सेदारी लिएर लगानी गर्नु होइन। यसले छनोट भएका युवा उद्यमीलाई गैरहिस्सेदारी अनुदान अर्थात् ‘नन–डाइल्युटिभ ग्रान्ट’ उपलब्ध गराउने अवधारणा अघि सारेको छ। यसको अर्थ संस्थापकले अनुदान पाएबापत आफ्नो कम्पनीको स्वामित्व हिस्सा गुमाउनु पर्दैन।

सुरुवाती घोषणाअनुसार कोषले छनोट भएका उद्यमीलाई २० लाख भारतीय रुपैयाँसम्मको अनुदान, मार्गदर्शन, व्यवसाय विस्तारका लागि सहयोग र उद्यमीहरूको सञ्जालमा पहुँच उपलब्ध गराउने योजना बनाएको थियो। विशेषगरी साना सहर र परम्परागत प्रविधि केन्द्रबाहिरका युवाले पनि व्यवसाय सुरु गर्ने अवसर पाऊन् भन्ने यसको उद्देश्य थियो।

भारतमा स्टार्टअप क्षेत्रमा पुँजीको पहुँच समान छैन। बेंगलुरु, मुम्बई, दिल्ली र हैदराबादजस्ता सहरमा लगानीकर्ता, सल्लाहकार र प्रविधि स्रोतको पहुँच तुलनात्मक रूपमा सहज छ। तर साना सहरका युवा उद्यमीले राम्रो विचार भए पनि पुँजी, बजार र व्यावसायिक सञ्जालको अभाव सामना गर्छन्। डब्ल्यूटीएफ फन्डले यही असमानता घटाउने प्रयास गरेको छ।

विश्व आर्थिक मञ्चसँगको सन् २०२५ को संवादमा कामथले युवा उद्यमीलाई सहयोग गर्दा कम्पनीको हिस्सेदारी लिनुभन्दा उनीहरूलाई अवसर र पहुँच उपलब्ध गराउनु महत्त्वपूर्ण हुने धारणा राखेका थिए। उनका अनुसार प्रारम्भिक चरणमा केही पुँजी र सही मार्गदर्शन पाए युवा उद्यमीले आफ्नो विचार परीक्षण गर्न र व्यवसाय निर्माणको पहिलो कदम चाल्न सक्छन्।

यस पहलको व्यावसायिक महत्त्व पनि छ। सफल उद्यमीले आफ्नो सम्पत्ति अर्को पुस्ताका उद्यमी निर्माणमा लगानी गर्दा नयाँ व्यवसाय जन्मिने सम्भावना बढ्छ। त्यसले रोजगारी, प्रविधि र उत्पादनशीलता विस्तारमा सहयोग पुर्‍याउन सक्छ। कामथले आफ्नो अनुभव र पुँजीलाई केवल व्यक्तिगत लगानीको प्रतिफलमा सीमित नराखी नयाँ उद्यमीको विकासमा परिचालन गर्न खोजेका छन्।

2025 मा उनले किशोर बियानी र रोनी स्क्रुवालासँग मिलेर ‘द फाउन्ड्री’ नामक उद्यम निर्माण कार्यक्रमसँग पनि आफूलाई जोडे। यसको अवधारणा नयाँ उद्यमीलाई केवल लगानी उपलब्ध गराउने होइन, व्यवसायको विचारदेखि सहसंस्थापक, पुँजी, मार्गदर्शन र बजार प्रवेशसम्म सहयोग गर्ने हो। यसले कामथको ध्यान व्यक्तिगत लगानीबाट संस्थागत रूपमा नयाँ कम्पनी निर्माण गर्ने दिशामा पनि गएको देखाउँछ।

सम्पत्तिसँगै सामाजिक जिम्मेवारी

व्यवसाय विस्तारसँगै निखिल कामथको ध्यान परोपकार र सामाजिक क्षेत्रमा पनि बढेको छ। सन् २०२३ मा उनी ‘द गिभिङ प्लेज’ मा हस्ताक्षर गर्ने सबैभन्दा कम उमेरका भारतीय बने। यो विश्वका धनी व्यक्तिहरूले आफ्नो जीवनकालमा वा मृत्युपछि आफ्नो सम्पत्तिको ठूलो हिस्सा सामाजिक तथा परोपकारी काममा खर्च गर्ने प्रतिबद्धता जनाउने अभियान हो। कामथले आफ्नो सम्पत्तिको कम्तीमा आधा हिस्सा सामाजिक काममा खर्च गर्ने प्रतिबद्धता जनाएका छन्।

उनको प्रतिबद्धतामा जलवायु परिवर्तन, ऊर्जा, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्र प्राथमिकतामा छन्। कामथले आफ्नो सम्पत्ति सामाजिक क्षेत्रमा परिचालन गर्न विभिन्न संस्था र अभियानसँग सहकार्य गर्दै आएका छन्। उनका लागि परोपकार केवल आर्थिक सहयोग गर्ने विषय होइन, दीर्घकालीन सामाजिक समस्या समाधानमा पुँजी र संस्थागत क्षमता परिचालन गर्ने माध्यम पनि हो।

जेरोधासँग जोडिएको ‘रेनम्याटर’ पहलले पनि यही सोचलाई संस्थागत रूप दिएको छ। सन् २०१६ मा सुरु भएको रेनम्याटरले वित्तीय प्रविधि, स्वास्थ्य, जलवायु, उत्पादन, गहिरो प्रविधि र सञ्चार क्षेत्रका स्टार्टअपमा लगानी गर्दै आएको छ।

यसको आधिकारिक विवरणअनुसार हालसम्म १७० भन्दा बढी स्टार्टअपमा करिब १ हजार ८०० करोड भारतीय रुपैयाँ लगानी गरिएको छ। रेनम्याटरले प्रारम्भिक चरणका उद्यमीलाई धैर्यपूर्वक पुँजी उपलब्ध गराउने र उनीहरूको स्वायत्तता कायम राख्ने नीति लिएको बताएको छ।

रेनम्याटरको कामले जेरोधाको सफलताबाट प्राप्त स्रोतलाई नयाँ उद्यम र सामाजिक प्रभाव सिर्जना गर्ने क्षेत्रमा परिचालन गर्ने प्रयास देखाउँछ। जलवायु परिवर्तन, स्वच्छ ऊर्जा र दिगो जीवनशैलीसँग सम्बन्धित व्यवसायमा लगानी बढाउनु आजको विश्व अर्थतन्त्रमा महत्त्वपूर्ण विषय बनेको छ। यस्ता क्षेत्रमा निजी पुँजी परिचालन हुँदा प्रविधिको विकास र व्यावसायिक समाधानको सम्भावना बढ्छ।

कामथले ‘योङ इन्डिया फिलान्थ्रोपिक प्लेज’ जस्ता पहलमार्फत अन्य धनी भारतीयलाई पनि आफ्नो सम्पत्तिको केही हिस्सा सामाजिक क्षेत्रमा खर्च गर्न प्रोत्साहित गरेका छन्। उनको धारणा धनी व्यक्तिले आफ्नो सम्पत्ति कमाउने मात्र होइन, समाजमा अवसरको असमानता घटाउन पनि प्रयोग गर्नुपर्छ भन्ने हो। यसले व्यवसायीको सफलतालाई केवल व्यक्तिगत सम्पत्ति वा कम्पनीको मूल्यांकनबाट मात्र नाप्न नहुने दृष्टिकोण प्रस्तुत गर्छ।

अर्बपतिको सूचीमा उदय

निखिल कामथको सम्पत्ति निर्माणको आधार जेरोधाको स्वामित्व र विभिन्न लगानी हुन्। फोर्ब्सको २० नोभेम्बर २०२६ को वास्तविक समय सम्पत्ति विवरणअनुसार उनको अनुमानित कुल सम्पत्ति ३.२ अर्ब अमेरिकी डलर थियो। फोर्ब्सको विश्व अर्बपतिको सूचीमा उनी १ हजार २८४औँ स्थानमा थिए। यस्तो सम्पत्ति मूल्यांकन सेयर, निजी कम्पनीको मूल्यांकन र बजारको उतारचढावअनुसार परिवर्तन भइरहन्छ। त्यसैले यसलाई स्थिर वा नगद सम्पत्तिका रूपमा बुझ्नु हुँदैन।

कामथको सम्पत्ति निर्माणमा जेरोधाको योगदान सबैभन्दा ठूलो छ। कम्पनीले बाह्य लगानी नलिई व्यवसाय विस्तार गरेको हुँदा संस्थापकको स्वामित्व हिस्सा कायम रह्यो। त्यसबाट सिर्जना भएको कम्पनीको मूल्यले दाजुभाइ कामथको सम्पत्ति बढाउन सहयोग गर्‍यो। त्यसबाहेक ट्रु बेकन, गृहास र अन्य लगानीले उनको व्यावसायिक पोर्टफोलियोलाई विविध बनाएका छन्।

तर अर्बपति बन्नु र व्यवसाय निरन्तर सफल भइरहनु फरक विषय हुन्। वित्तीय सेवा क्षेत्र बजारको अवस्था र नियमनमा निर्भर हुन्छ। सेयर बजारमा कारोबार घट्दा ब्रोकर कम्पनीको आम्दानीमा प्रभाव पर्छ। लगानीकर्ताको व्यवहार, नियामक नीति, प्रतिस्पर्धा र प्रविधिमा आउने परिवर्तनले व्यवसायको भविष्य निर्धारण गर्छ।

जेरोधाले पनि पछिल्ला वर्षमा यस्ता चुनौती सामना गरेको छ। भारतको सेयर बजार नियामक निकाय सेबीले फ्युचर्स एन्ड अप्सन्स (एफएन्डओ) कारोबारमा जोखिम नियन्त्रणका लागि नियम कडा बनाएको छ। त्यसको प्रभाव उच्च कारोबारमा आधारित ब्रोकरेज आम्दानीमा परेको छ।

सन् २०२४–२५ मा जेरोधाको सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा घटेको सार्वजनिक वित्तीय विवरणले देखाएको छ। फाइनान्सियल एक्सप्रेसका अनुसार कम्पनीको सञ्चालन आम्दानी ८ हजार ८४७ करोड भारतीय रुपैयाँ र खुद नाफा ४ हजार २३७ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा नाफा करिब २२.९ प्रतिशत घटेको थियो।

यो गिरावटले जेरोधाको व्यवसाय मोडलमाथि नयाँ प्रश्न खडा गरेको छ। कम्पनीको आम्दानीको ठूलो हिस्सा सक्रिय कारोबार र विशेषगरी एफएन्डओ बजारसँग जोडिएको अवस्थामा नियामक परिवर्तनले प्रत्यक्ष असर पार्न सक्छ। त्यसैले कम्पनीले आम्दानीका स्रोत विविधीकरण, लगानीकर्तालाई दीर्घकालीन लगानीतर्फ प्रोत्साहन र वित्तीय शिक्षामा जोड दिनुपर्ने चुनौती छ।

नितिन कामथले पनि कम्पनीको १५ वर्ष पूरा भएको अवसरमा बजार र नियामक परिवर्तनका कारण ब्रोकरेज आम्दानीमा दबाब परेको सार्वजनिक रूपमा बताएका थिए। यसले जेरोधाको सफलताको कथा केवल तीव्र विस्तारको कथा नभई बदलिँदो बजारअनुसार व्यवसायलाई पुनःसंरचना गर्नुपर्ने चुनौतीको कथा पनि हो।

व्यवसायको वास्तविक शक्ति के हो?

निखिल कामथको व्यावसायिक यात्रालाई मूल्यांकन गर्दा उनको सम्पत्ति वा चर्चाभन्दा केही आधारभूत पक्ष महत्त्वपूर्ण देखिन्छन्। पहिलो, उनले बजारमा रहेको वास्तविक समस्या पहिचान गरे। भारतको सेयर बजारमा कारोबार महँगो र जटिल थियो। साना लगानीकर्तालाई कम लागतमा सेवा दिने मोडल विकास गरेर उनले बजारको यही खाली ठाउँ भरे।

दोस्रो, उनले प्रविधिलाई व्यवसायको केन्द्रमा राखे। परम्परागत ब्रोकरको कार्यालय र कर्मचारीमा निर्भर मोडलभन्दा डिजिटल प्लेटफर्ममार्फत सेवा दिन सकिने सम्भावना पहिचान गरे। यसले कम्पनीको सञ्चालन लागत घटायो र ठूलो संख्यामा ग्राहकसम्म पुग्न सहज बनायो।

तेस्रो, उनले व्यवसाय विस्तारका लागि बाह्य पुँजीमा अत्यधिक निर्भर नहुने बाटो रोजे। जेरोधाले आफ्नै आम्दानीबाट व्यवसाय विस्तार गर्दा संस्थापकको नियन्त्रण कायम रह्यो। यसले अल्पकालीन मूल्यांकनभन्दा दीर्घकालीन व्यवसाय निर्माणमा ध्यान दिन सहयोग पुर्‍यायो।

चौथो, उनले एउटै व्यवसायबाट प्राप्त अनुभव र पुँजीलाई अन्य क्षेत्रमा प्रयोग गरे।

ट्रु बेकन, गृहास, रेनम्याटर र डब्ल्यूटीएफ फन्ड त्यसका उदाहरण हुन्। यी सबै पहलको उद्देश्य एउटै प्रकारको ग्राहकलाई सेवा दिनु होइन, विभिन्न क्षेत्रका अवसर पहिचान गरेर लगानी र उद्यमशीलताको नयाँ सञ्जाल निर्माण गर्नु हो।

पाँचौँ, उनले आफ्नो सफलतालाई अर्को पुस्ताका उद्यमीसँग जोड्ने प्रयास गरेका छन्। डब्ल्यूटीएफ फन्डमार्फत युवा उद्यमीलाई हिस्सेदारी नलिई अनुदान दिने अवधारणा यसको उदाहरण हो। यो परम्परागत लगानी मोडलभन्दा फरक छ। प्रारम्भिक चरणमा व्यवसायको विचार परीक्षण गर्न चाहने युवालाई स्वामित्व गुमाउन नपर्ने गरी सहयोग उपलब्ध गराउने प्रयास यसमा देखिन्छ।

तर यी पक्षसँगै उनको यात्राबाट सिक्नुपर्ने अर्को कुरा पनि छ। व्यवसायमा सफल हुन विद्यालय छाड्नुपर्छ वा औपचारिक शिक्षा आवश्यक छैन भन्ने निष्कर्ष निकाल्नु गलत हुन्छ। कामथको अनुभव व्यक्तिगत परिस्थिति, रुचि, परिवारको सहयोग, बजारको अवसर र निरन्तर सिकाइसँग जोडिएको छ। औपचारिक शिक्षा छाड्नु आफैँमा सफलताको कारण होइन।

उनले विद्यालयबाहिर रहेर पनि बजार, लगानी र व्यवसायबारे निरन्तर सिके। त्यसैले उनको कथाको मुख्य सन्देश शिक्षा अस्वीकार गर्नु होइन, सिकाइलाई जीवनभर जारी राख्नु हो।

जोखिमसँगै निरन्तर सिकाइ

कामथको जीवनशैली र सार्वजनिक अभिव्यक्तिमा जोखिमप्रतिको दृष्टिकोण पनि देखिन्छ। उनी सेयर बजारमा लगानी गर्दा नाफाको सम्भावनासँगै घाटाको जोखिमलाई पनि मूल्यांकन गर्नुपर्ने बताउँदै आएका छन्। लगानीमा भावनात्मक निर्णयभन्दा तथ्य, बजारको अवस्था र दीर्घकालीन दृष्टिकोण महत्त्वपूर्ण हुन्छ।

उनको व्यक्तिगत लगानी रणनीतिमा बजारको उछालमा अत्यधिक उत्साहित नहुने र जोखिम नियन्त्रणलाई प्राथमिकता दिने दृष्टिकोण रहेको विभिन्न अन्तर्वार्ता तथा विवरणमा उल्लेख छ।

सेयर बजारमा कारोबार गर्ने र दीर्घकालीन लगानी गर्नेबीच फरक हुन्छ। छोटो अवधिको कारोबारमा मूल्यको उतारचढावबाट लाभ लिन खोजिन्छ भने दीर्घकालीन लगानीमा कम्पनीको वास्तविक क्षमता, आम्दानी, व्यवस्थापन र भविष्यको सम्भावनालाई आधार बनाइन्छ। कामथले दुवै क्षेत्रको अनुभव हासिल गरेका छन्। प्रारम्भिक जीवनमा ट्रेडरका रूपमा सुरु भएको उनको यात्रा पछि वित्तीय सेवा कम्पनी निर्माण र संस्थागत लगानी व्यवस्थापनसम्म पुगेको छ।

उनको सफलताको अर्को पक्ष भनेको आफूलाई एउटै परिचयमा सीमित नराख्नु हो। जेरोधाका सहसंस्थापकका रूपमा स्थापित भएपछि पनि उनले नयाँ व्यवसाय, लगानी र सामाजिक पहलमा हात हाले। यसले व्यवसायीले सफलताको एउटा चरणमा पुगेपछि पनि नयाँ अवसर खोज्न र आफ्नो सीप विस्तार गर्नुपर्ने देखाउँछ।

तर विविधीकरण गर्दा सबै क्षेत्रमा समान रूपमा सफल हुन सकिन्छ भन्ने हुँदैन। नयाँ व्यवसायमा प्रवेश गर्दा सम्बन्धित क्षेत्रको ज्ञान, सक्षम टोली, पुँजीको संरचना र बजारको माग बुझ्नुपर्छ। कामथले आफ्ना विभिन्न उद्यममा साझेदार, विशेषज्ञ र व्यावसायिक टोलीसँग काम गरेका छन्। यसले व्यवसाय विस्तार व्यक्तिगत क्षमताले मात्र सम्भव नहुने, संस्थागत संरचना र सहकार्य पनि उत्तिकै महत्त्वपूर्ण हुने देखाउँछ।

कल सेन्टरको जागिरबाट सुरु भएको यात्रा

निखिल कामथको कथा कल सेन्टरको आठ हजार रुपैयाँ तलबबाट अर्बौं डलरको सम्पत्तिसम्म पुगेको यात्राका रूपमा चर्चित छ। तर त्यो यात्रा कुनै चमत्कारिक परिवर्तनबाट सम्भव भएको होइन। १४ वर्षको उमेरमा पुराना मोबाइल फोन किनबेच गर्ने सानो प्रयास, विद्यालय छाड्ने निर्णय, १७ वर्षमा कल सेन्टरको जागिर, बिहान सेयर बजार सिक्ने अभ्यास र साथी तथा परिवारको पैसा व्यवस्थापन गर्ने जिम्मेवारीले उनको व्यावसायिक आधार तयार पारे।

त्यसपछि दाजु नितिनसँगको साझेदारी, कामथ एसोसिएट्सको अनुभव र जेरोधाको स्थापना निर्णायक मोड बने। भारतको ब्रोकरेज बजारमा कम शुल्क र डिजिटल प्रविधिमा आधारित सेवा प्रस्तुत गरेर उनीहरूले ग्राहकको ठूलो समूह आकर्षित गरे। जेरोधाको विस्तारले उनीहरूलाई अर्बपति मात्र बनाएन, भारतको वित्तीय सेवा क्षेत्रमा प्रभावशाली व्यवसायीका रूपमा स्थापित गर्‍यो।

आज निखिल कामथको सक्रियता जेरोधाभन्दा धेरै फराकिलो छ। उनी लगानी व्यवस्थापन, नयाँ उद्यममा पुँजी परिचालन, युवा उद्यमीलाई सहयोग, सार्वजनिक संवाद र परोपकारका क्षेत्रमा संलग्न छन्। उनको व्यावसायिक यात्रा अझै जारी छ। वित्तीय बजारको नियमन, प्रतिस्पर्धा र प्रविधिको परिवर्तनले आगामी दिनमा जेरोधा र उनका अन्य उद्यमको दिशा निर्धारण गर्नेछ।

उनको सफलताको कथा नेपालजस्ता उद्यमशीलता विस्तारको चरणमा रहेका अर्थतन्त्रका लागि पनि सान्दर्भिक छ। नेपालमा पूँजी बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ता, डिजिटल वित्तीय सेवा विकास गर्न खोज्ने उद्यमी र नयाँ व्यवसाय सुरु गर्न चाहने युवाले यसबाट केही महत्त्वपूर्ण पाठ लिन सक्छन्।

बजारमा वास्तविक समस्या पहिचान गर्ने, ग्राहकको लागत घटाउने, प्रविधि प्रयोग गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने र व्यवसायलाई आफ्नै आम्दानीबाट विस्तार गर्ने रणनीति नेपालका उद्यमीका लागि पनि उपयोगी हुन सक्छ।

नेपालमा पनि सेयर बजारमा नयाँ लगानीकर्ताको सहभागिता बढ्दै गएको छ। डिजिटल कारोबार प्रणाली विस्तार भएको छ। तर वित्तीय साक्षरता, लगानीकर्ताको जोखिम बुझाइ, प्रविधिको स्थायित्व र बजारमा विश्वास निर्माण गर्ने चुनौती अझै छन्। जेरोधाको अनुभवले कम शुल्क र सहज प्रविधिले बजारमा सहभागिता बढाउन सक्ने देखाउँछ। त्यस्तै, भर्सिटीजस्ता निःशुल्क शिक्षामूलक पहलले लगानीकर्तालाई सचेत बनाउन सक्ने उदाहरण पनि प्रस्तुत गर्छ।

कामथको यात्राले व्यवसाय निर्माणको अर्को महत्त्वपूर्ण पक्ष पनि देखाउँछ। सफल उद्यमीले आफ्नो कम्पनीको वृद्धि मात्र होइन, नयाँ व्यवसाय जन्मिने वातावरण निर्माणमा पनि योगदान दिन सक्छ।

रेनम्याटर र डब्ल्यूटीएफ फन्डमार्फत उनले पुँजी, ज्ञान र पहुँच अर्को पुस्ताका उद्यमीलाई उपलब्ध गराउने प्रयास गरेका छन्। यो सोचले व्यवसायको सफलता व्यक्तिगत सम्पत्तिमा सीमित नराखी अर्थतन्त्रको समग्र विकाससँग जोड्न सकिने सम्भावना देखाउँछ।

कल सेन्टरमा काम गर्दा बिहानको खाली समय सेयर बजार सिक्न प्रयोग गर्ने किशोर आज भारतको अर्बपति उद्यमी बनेका छन्।

उनको यात्रा विद्यालयको प्रमाणपत्रभन्दा बाहिर पनि सिकाइ र अवसर खोज्ने सम्भावना हुन्छ भन्ने उदाहरण हो। तर त्यसको केन्द्रमा रहेको वास्तविक शक्ति भनेको बजार बुझ्ने क्षमता, जोखिम स्वीकार गर्ने साहस, ग्राहकको समस्या समाधान गर्ने सोच र निरन्तर सिकाइ हो।

निखिल कामथको सफलताको कथा यही कारण प्रेरणादायी छ। उनले केवल पैसा कमाउने बाटो खोजेनन्, बजारमा रहेको अवरोधलाई व्यवसायको अवसरमा बदले। एउटा सानो कारोबारबाट सुरु भएको यात्रा वित्तीय सेवाको ठूलो डिजिटल प्लेटफर्म निर्माणसम्म पुग्यो। अब उनको अर्को परीक्षा भनेको स्थापित व्यवसायलाई बदलिँदो बजारमा टिकाइराख्ने, नयाँ उद्यममा सही लगानी गर्ने र आफ्नो सम्पत्तिलाई समाजका लागि उपयोगी बनाउने हुनेछ।

प्रतिस्पर्धाको दबाब र आगामी चुनौती

जेरोधाले भारतीय ब्रोकरेज बजारमा कम शुल्कको मोडल स्थापित गरेपछि प्रतिस्पर्धा पनि तीव्र भएको छ। नयाँ प्रविधि कम्पनीहरू, डिजिटल लगानी प्लेटफर्म र स्थापित वित्तीय संस्थाहरू अनलाइन कारोबारमा प्रवेश गरेका छन्। ग्राहकलाई आकर्षित गर्न कम शुल्क, सहज मोबाइल एप, अनुसन्धान सामग्री र विभिन्न वित्तीय उत्पादन उपलब्ध गराउने प्रतिस्पर्धा बढेको छ।

यसले जेरोधालाई आफ्नो प्रारम्भिक सफलतामा मात्र निर्भर रहन नदिई निरन्तर सुधार गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ।

डिजिटल वित्तीय सेवामा ग्राहकको विश्वास सबैभन्दा ठूलो सम्पत्ति हो। कारोबार प्रणालीमा समस्या आउनु, ग्राहकको रकम वा विवरणको सुरक्षामा कमजोरी देखिनु र नियामक मापदण्ड पूरा गर्न नसक्नुले कम्पनीको प्रतिष्ठामा असर पार्न सक्छ। जेरोधाले पनि विगतमा प्राविधिक अवरोधका घटना सामना गरेको छ। यस्तो अवस्थामा ग्राहकलाई स्थिर, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउनु कम्पनीको दीर्घकालीन सफलताका लागि अनिवार्य हुन्छ।

अर्कोतर्फ, भारतको सेयर बजारमा खुद्रा लगानीकर्ताको सहभागिता बढ्दै जाँदा वित्तीय साक्षरता र जोखिमबारे सचेतना पनि महत्त्वपूर्ण बनेको छ। विशेषगरी फ्युचर्स एन्ड अप्सन्स कारोबारमा धेरै खुद्रा लगानीकर्ताले ठूलो जोखिम लिने गरेको नियामक निकायको चिन्ता छ।

कारोबारको मात्रा बढाउनु मात्र ब्रोकर कम्पनीको सफलता होइन, ग्राहकलाई जोखिम बुझ्ने र विवेकपूर्ण निर्णय गर्न सक्ने वातावरण बनाउनु पनि आवश्यक छ। जेरोधाले भर्सिटी र अन्य शिक्षामूलक पहलमार्फत यही पक्षलाई प्राथमिकता दिएको छ।

कामथका लागि चुनौती अब नयाँ ग्राहक थप्ने मात्र होइन, वित्तीय सेवाको बदलिँदो संरचनामा व्यवसायलाई दिगो बनाउने पनि हो। नियमन कडा हुँदा आम्दानीमा पर्ने प्रभाव, नयाँ प्रतिस्पर्धीको प्रवेश, प्रविधिमा निरन्तर लगानी र ग्राहकको बदलिँदो अपेक्षाले उनको व्यवसायिक रणनीतिको परीक्षा लिइरहनेछ। यही कारण जेरोधाको आगामी यात्रा प्रारम्भिक सफलताभन्दा पनि संस्थागत स्थायित्व र ग्राहकको विश्वास कायम राख्ने क्षमताबाट मापन हुनेछ।

कामथको व्यक्तिगत यात्रामा पनि यही चुनौती लागू हुन्छ। सम्पत्ति बढाउनु एउटा उपलब्धि हो, तर त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नु, नयाँ उद्यमलाई सफल बनाउनु र सामाजिक प्रभाव सिर्जना गर्नु अर्को तहको जिम्मेवारी हो। उनले लगानी, उद्यमशीलता र परोपकारका क्षेत्रमा थालेका पहलले यही दिशातर्फको प्रयास देखाउँछन्। अब ती पहलले कति दिगो परिणाम दिन्छन् भन्ने कुरा समयले निर्धारण गर्नेछ।

2