काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगिताको उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ पाउँदा तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो स्थानको काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ प्राप्त गरेका छन्।
व्यक्तिगत विधातर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले प्रतियोगितामा २१८ रन बनाउनुका साथै ६ विकेट लिएका थिए। उनले पुरस्कारस्वरूप ५ लाख रुपैयाँ प्राप्त गरे।
चितवन राइनोजका रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए। उनले करिब ६० लाख रुपैयाँ मूल्यको कार पुरस्कार पाए। प्रतियोगितामा १७ विकेट लिएका ढकालले गोल्डेन क्याप र उत्कृष्ट बलरको उपाधिसमेत जिते। उनले २ लाख रुपैयाँ र मोटरसाइकल पनि प्राप्त गरे।
विराटनगर किंग्सका लोकेश बम २४२ रनसहित उत्कृष्ट ब्याटर घोषित भए। जनकपुर बोल्ट्सका राहुल यादव उदयीमान खेलाडी बने। दुवैले मोटरसाइकल पुरस्कार प्राप्त गरे।
त्यस्तै, चितवन राइनोजका श्रीलंकाली खेलाडी कमिल मिसरा रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित हुँदै २ लाख रुपैयाँ पाए। सर्वाधिक रन बनाउने युवराज साम्राले प्लाटिनम क्यापसहित २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा लुम्बिनी लायन्सले एमसीसी स्पिरिट अफ क्रिकेट अवार्ड पनि जितेको छ। उक्त अवार्ड टोलीका कप्तान रोहितकुमार पौडेलले ग्रहण गरेका थिए।
