काठमाडौं । अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो लिलामीमा ४ हजार अमेरिकी डलरमा बिक्री भएको छ। फ्रेममा सजाएर राखिएको उक्त कपाल रिचमन्ड अक्सन्समार्फत शनिबार लिलामी गरिएको हो।
लिलामी संस्थाका अनुसार उक्त कपाल सन् १७९९ मा वासिङ्टनलाई रात्रिभोजमा आतिथ्य प्रदान गर्ने जोन ग्याड्सबीको स्वामित्वमा थियो। पछि ग्याड्सबीका एक वंशजबाट सङ्कलक जोन के. ल्याटिमरले कपाल प्राप्त गरेका थिए। नयाँ खरिदकर्ताको नाम भने सार्वजनिक गरिएको छैन।
ग्याड्सबीले सन् १७९८ र १७९९ मा वासिङ्टनको जन्मदिनका अवसरमा आयोजित समारोहमा आतिथ्य प्रदान गरेका थिए। ग्याड्सबीकी नातिनी जुलिया टेन आइक म्याकब्लेयरले सन् १९२८ मा दिएको लिखित बयानअनुसार उनका हजुरबुबाले वासिङ्टनसँगको मित्रताका कारण कपाल प्राप्त गरेका थिए। उनले त्यसलाई फ्रेममा सजाएर घरमा वासिङ्टनको तस्बिरमुनि राखेका थिए।
वासिङ्टनको कपाल बिक्री भएको यो सबैभन्दा महँगो लिलामी भने होइन। सन् २०२१ मा उनको कपालका तीनवटा रौँ राखिएको एउटा लकेट झन्डै ४० हजार डलरमा बिक्री भएको थियो।
अमेरिकी स्वतन्त्रता सङ्ग्राममा बेलायती सेनाविरुद्ध अमेरिकी फौजको नेतृत्व गरेका वासिङ्टन सन् १७८८ मा अमेरिकाको पहिलो राष्ट्रपति बनेका थिए। दुई कार्यकाल पूरा गरेपछि उनले सन् १७९७ मा पदत्याग गरेका थिए।
वासिङ्टनको कपालका कम्तीमा ५० वटा नमुना अहिले पनि उनको पूर्वनिवास माउन्ट भर्ननमा रहेको सङ्ग्रहमा सुरक्षित छन्। उक्त स्थान हाल सङ्ग्रहालयका रूपमा सञ्चालनमा छ।
वासिङ्टनसँग सम्बन्धित ऐतिहासिक सामग्रीले लिलामीमा उच्च मूल्य पाउने गरेका छन्। गत जुलाईमा उनले सन् १७७६ मा हस्ताक्षर गरेको एउटा पत्र १ लाख ९ हजार ८०० डलरमा बिक्री भएको थियो। उक्त पत्रमा बेलायती सेनाविरुद्ध लड्न कन्टिनेन्टल आर्मीका लागि सैनिक उपलब्ध गराइदिन आग्रह गरिएको थियो।
