सेयर बजारमा दीर्घकालीन लगानी गर्दा कम्पनीको वित्तीय अवस्था, लाभांश क्षमता, सुशासन र सञ्चित कोषको अवस्था हेर्नुपर्ने लगानी बजारका जानकारहरूले बताएका छन्। साथीभाइ र सामाजिक सञ्जालको सुझावका आधारमा अध्ययनबिनै लगानी गर्दा जोखिम बढ्ने उनीहरूको भनाइ छ।
पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोलाका अनुसार कम्पनी छनोट गर्दा बजारको बुल र बियर प्रवृत्तिलाई पनि ध्यान दिनुपर्छ। बुलिस बजारमा वित्तीय अवस्था कमजोर भए पनि सेयर संख्या कम भएका कम्पनीको मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने भएकाले त्यस्ता कम्पनीमा छोटो अवधिका लागि मात्रै लगानी गर्नु उपयुक्त हुन्छ।
दीर्घकालीन लगानीका लागि भने कम्पनीको लाभांश दिने क्षमता हेर्नुपर्ने बास्तोलाको सुझाव छ। कमजोर कम्पनीमा बजार घटेका बेला लगानी लामो समयसम्म अड्किन सक्ने र पूँजी गुम्ने जोखिम रहने उनी बताउँछन्।
नागरिक लगानी कोष (सीआईटी) लाई नियमित लाभांश दिने कम्पनीको उदाहरणका रूपमा लिन सकिन्छ। कम्पनीले पछिल्लो १० वर्षमा १७ देखि ५२ प्रतिशतसम्म लाभांश वितरण गरेको छ। यसको सेयरमूल्य विगतमा प्रतिकित्ता ५ हजार रुपैयाँभन्दा माथि पुगेको थियो भने अहिले करिब २ हजार रुपैयाँको आसपास छ।
विशाल बजार कम्पनी (बीबीसी) भने फरक उदाहरण हो। कम्पनीले हालसम्म लाभांश दिएको छैन। यसको सेयरमूल्य अहिले प्रतिकित्ता करिब ३ हजार ३०० रुपैयाँ छ। बजार उच्च विन्दुमा पुगेका बेला मूल्य ७ हजार रुपैयाँ आसपास पुगेको थियो। उच्च मूल्यमा खरिद गर्ने लगानीकर्ताले अहिले ५० प्रतिशतभन्दा बढी घाटा व्यहोर्नुपरेको छ।
बास्तोलाका अनुसार तत्काल लाभांश नदिए पनि राम्रो सुशासन र बलियो सञ्चित कोष भएका कम्पनीमा लगानी गर्दा दीर्घकालमा लाभांश र सेयरमूल्य दुवैबाट प्रतिफल पाउन सकिन्छ। त्यसैले लगानी गर्नुअघि कम्पनीको वित्तीय अवस्था र भविष्यमा प्रतिफल दिन सक्ने क्षमता अध्ययन गर्नु आवश्यक छ।
