काठमाडौं: सिद्धार्थ बैंक लिमिटेड र डिजिटल भुक्तानी सेवा प्रदायक भिसाबीच कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवा सुदृढीकरण गर्ने उद्देश्यले साझेदारी भएको छ। यस सम्झौताले बैंकका ग्राहकका लागि कार्ड सेवा र भुक्तानी स्वीकार्यताको दायरा फराकिलो बनाउँदै नयाँ सेवा विकास गर्ने लक्ष्य राखेको छ।
सम्झौताअनुसार सिद्धार्थ बैंकले आफ्ना ग्राहकका लागि सुरक्षित, सहज र नवीन डिजिटल भुक्तानी समाधान ल्याउने योजना बनाएको छ। यसका साथै बैंकले थप आकर्षक सुविधा र विशेष अफरहरू पनि उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार यो दीर्घकालीन रणनीतिक सहकार्यले उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न मद्दत गर्नेछ।
सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले यो सम्झौताले बैंकको भिसा कार्ड व्यवसायलाई थप सुदृढ बनाउन महत्वपूर्ण आधार तयार गरेको बताए। उनले भने, ‘यस रणनीतिक सहकार्यमार्फत भिसा कार्ड पोर्टफोलियो विस्तार, ग्राहक सुविधामा वृद्धि तथा कार्डको प्रयोग बढाउँदै डिजिटल भुक्तानी प्रणालीको विकासमा थप योगदान पुर्याउने हाम्रो लक्ष्य रहेको छ।’
त्यस्तै भिसाका नेपाल, भुटान तथा बङ्गलादेशका कन्ट्री म्यानेजर सब्बिर अहमदले नेपालको डिजिटल भुक्तानी प्रणाली तीव्र रूपमा विस्तार भइरहेको बताउँदै सिद्धार्थ बैंकसँगको सहकार्यले सुरक्षित, विश्वसनीय र नवीन भुक्तानी सेवाको पहुँच विस्तार गर्ने भिसाको प्रतिबद्धतालाई थप बलियो बनाएको उल्लेख गरे। बैंकले यो सहकार्यले नेपालको कार्ड तथा डिजिटल भुक्तानी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने विश्वास लिएको छ।
