सफलताको कथा सधैँ ठूलो पुँजी, पारिवारिक विरासत वा सुविधासम्पन्न वातावरणबाट सुरु हुँदैन। कहिलेकाहीँ एउटा नयाँ देश, सीमित पैसा, एउटा सामान्य जागिर र समस्यालाई फरक ढंगले हेर्न सक्ने सोचले पनि असाधारण व्यावसायिक यात्रा सुरु गराउन सक्छ।
पाकिस्तानको लाहोरमा जन्मिएका शाहिद खानको जीवनले यही तथ्यलाई देखाउँछ। १६ वर्षको उमेरमा ५०० अमेरिकी डलर बोकेर अमेरिका पुगेका उनी कुनै स्थापित व्यावसायिक परिवारका उत्तराधिकारी थिएनन्।
उनको हातमा ठूलो लगानी थिएन, परिचित व्यावसायिक सञ्जाल थिएन र भविष्यमा अर्बौं डलरको सम्पत्ति निर्माण गर्ने स्पष्ट योजना पनि थिएन। उनीसँग थियो, इन्जिनियरिङ पढ्ने सपना र आफ्नो जीवन आफैँ निर्माण गर्ने दृढता।
आज खान अमेरिकी अटोमोबाइल उद्योगका प्रभावशाली उद्यमीमध्ये एक हुन्। उनी अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्ने कम्पनी फ्लेक्स–एन–गेटका मालिक तथा प्रमुख कार्यकारी हुन्।
अमेरिकाको नेसनल फुटबल लिग (एनएफएल) अन्तर्गतको ज्याक्सनभिल जगुअर्स र बेलायतको प्रिमियर लिग क्लब फुलहम फुटबल क्लबका मालिकका रूपमा पनि उनको परिचय स्थापित छ।
छोरा टोनी खानसँग मिलेर व्यावसायिक कुस्ती मनोरञ्जन क्षेत्रमा समेत उनले ठूलो लगानी गरेका छन्।
तर उनको सफलताको वास्तविक आधार खेलकुद क्लबको स्वामित्व होइन। यसको जग एउटा औद्योगिक समस्याको समाधान खोज्ने इन्जिनियरिङ सोचमा बनेको हो।
गाडीको बम्पर उत्पादन गर्ने परम्परागत विधिमा सुधार ल्याउने एउटा सामान्य देखिने आविष्कारले उनको व्यावसायिक जीवनको दिशा बदल्यो। त्यसपछि उनले उत्पादन, प्रविधि, बजार विस्तार, अधिग्रहण र दीर्घकालीन लगानीलाई जोड्दै आफ्नो व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याए।
खानको कथा केवल गरिबीबाट धनी बनेको व्यक्तिको कथा होइन। यो सीमित स्रोतबाट अवसर पहिचान गर्ने, आफ्नै पूर्वनियोक्तासँग प्रतिस्पर्धा गर्ने, कानुनी चुनौती सामना गर्ने र उत्पादनको गुणस्तरलाई व्यावसायिक विस्तारको आधार बनाउने उद्यमीको कथा हो।
लाहोरबाट सुरु भएको सपना
शाहिद रफिक खानको जन्म सन् १९५० जुलाई १८ मा पाकिस्तानको लाहोरमा भएको थियो। उनका पिता रफिक खान सर्वेक्षण तथा नक्साङ्कनसम्बन्धी उपकरणको व्यवसाय गर्थे भने आमा जाकिया खान गणितकी प्राध्यापक थिइन्। परिवारको आर्थिक अवस्था सामान्य भए पनि शिक्षालाई महत्त्व दिने वातावरण थियो। घरमा अनुशासन, मितव्ययिता र आफ्नै प्रयासमा अगाडि बढ्नुपर्ने संस्कार थियो।
बाल्यकालदेखि नै खानको रुचि परम्परागत पढाइमा मात्र सीमित थिएन। उनी वस्तुहरू कसरी काम गर्छन्, तिनलाई कसरी सुधार गर्न सकिन्छ र सामान्य वस्तुलाई कसरी उपयोगी बनाउन सकिन्छ भन्ने विषयमा चासो राख्थे। बाल्यकालमै रेडियो बनाएर बेच्ने र आफ्ना कमिक्स पुस्तक साथीहरूलाई भाडामा दिने गरेको प्रसंगले उनको प्रारम्भिक व्यावसायिक सोच देखाउँछ।
उनका पिता छोरालाई व्यवसायमा चासो राख्न प्रोत्साहित गर्थे। तर खानको भविष्य पाकिस्तानमै सीमित रहने थिएन। किशोरावस्थामा उनले उच्च शिक्षा हासिल गर्न अमेरिकाको यात्रा गर्ने निर्णय गरे। सन् १९६७ मा १६ वर्षको उमेरमा उनी अमेरिका पुगे। गन्तव्य थियो, इलिनोइस विश्वविद्यालय, जहाँ उनले मेकानिकल इन्जिनियरिङ अध्ययन गर्ने योजना बनाएका थिए।
त्यतिबेला अमेरिका पुग्नु उनका लागि केवल भौगोलिक यात्रा थिएन। भाषा, संस्कृति, सामाजिक परिवेश र जीवनशैली सबै नयाँ थिए। परिवारबाट टाढा, अपरिचित समाजमा आफ्नो ठाउँ बनाउनु सजिलो थिएन। उनीसँग जम्मा ५०० डलर थियो। त्यो रकमले लामो समयसम्म खर्च धान्न सक्ने अवस्था थिएन।
अमेरिका पुगेपछि सुरुका दिनमा उनी विश्वविद्यालय नजिकैको वाईएमसीएमा प्रतिरात दुई डलर तिरेर बसे। आफ्नो खर्च कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता स्वाभाविक थियो। त्यसैले अमेरिका पुगेको भोलिपल्टै उनले काम खोज्न थाले। एउटा रेस्टुरेन्टमा भाँडा माझ्ने काम पाइयो। प्रतिघण्टा १.२० डलर पारिश्रमिक थियो।
पहिलो दृष्टिमा यो सामान्य काम थियो। तर खानका लागि त्यो आत्मनिर्भर बन्ने पहिलो अवसर थियो। उनले उक्त कामलाई आफ्नो शैक्षिक यात्रामा अवरोधका रूपमा लिएनन्। पढाइसँगै काम गरे, खर्च जुटाए र नयाँ वातावरणमा आफूलाई अभ्यस्त बनाउँदै लगे।
त्यतिबेला भाँडा माझेर कमाएको रकमले उनको सम्पत्ति निर्माण गर्ने थिएन। तर त्यसले एउटा महत्त्वपूर्ण विश्वास जन्मायो—आफ्नो श्रम र सीपबाट जीवन बदल्न सकिन्छ। पछि उनले विभिन्न अवसरमा आफ्नो प्रारम्भिक अमेरिकी अनुभवलाई आत्मनिर्भरता र अवसरको महत्त्वसँग जोडेर उल्लेख गरेका छन्।
अमेरिकामा अध्ययन गर्दा उनले विश्वविद्यालयको विद्यार्थी संगठन र सामाजिक गतिविधिमा पनि सहभागिता जनाए। यही क्रममा उनले एन कार्लसनलाई भेटे। लामो समयको सम्बन्धपछि उनीहरूले विवाह गरे।
उनीहरूका दुई सन्तान भए—टोनी र शन्ना। पारिवारिक जीवनसँगै खानले आफ्नो व्यावसायिक लक्ष्यलाई पनि निरन्तरता दिए।
सन् १९७१ मा उनले इलिनोइस विश्वविद्यालयबाट औद्योगिक इन्जिनियरिङमा स्नातक उपाधि हासिल गरे। पढाइ पूरा भएपछि उनी नयाँ जागिरको खोजीमा धेरै टाढा जानुपरेन। विद्यार्थी जीवनमै काम गरेको अटोमोबाइल पार्टपुर्जा उत्पादक कम्पनी फ्लेक्स–एन–गेटमा उनलाई इन्जिनियरिङ व्यवस्थापनको जिम्मेवारी दिइयो। यहीँबाट उनको व्यावसायिक जीवनको निर्णायक अध्याय सुरु भयो।
एउटा बम्परले बदलिएको भविष्य
फ्लेक्स–एन–गेट त्यतिबेला अटोमोबाइलका पार्टपुर्जा उत्पादन गर्ने सामान्य अमेरिकी कम्पनी थियो। गाडीका लागि आवश्यक विभिन्न धातुका संरचना र बम्पर उत्पादन गर्नु यसको प्रमुख काममध्ये एक थियो। कम्पनीको उत्पादन प्रक्रिया परम्परागत थियो। विशेषगरी गाडीका बम्पर निर्माण गर्न धातुका धेरै टुक्रा काट्ने, जोड्ने र वेल्डिङ गर्ने काम हुन्थ्यो।
धेरै टुक्रा जोडेर बनाइने बम्परमा उत्पादन लागत बढी हुन्थ्यो। वेल्डिङ गरिएका भागमा समयसँगै खिया लाग्ने सम्भावना पनि रहन्थ्यो। उत्पादन प्रक्रियामा धेरै चरण आवश्यक पर्ने भएकाले समय र श्रम दुवै बढी खर्च हुन्थ्यो। यसले उत्पादकका लागि लागत बढाउने र उपभोक्ताका लागि गुणस्तर तथा टिकाउपनको चुनौती सिर्जना गर्थ्यो।
इन्जिनियरिङ पृष्ठभूमि भएका खानले यस समस्यालाई सामान्य उत्पादन प्रक्रियाको हिस्सा मानेर छाडेनन्। उनले बम्परलाई धेरै टुक्रा जोडेर बनाउनुको सट्टा एउटै धातुको संरचनाबाट बनाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा काम गर्न थाले। उनको सोच थियो, एउटै टुक्राबाट बनेको बम्परले वेल्डिङको आवश्यकता घटाउँछ, जोडाइका कारण हुने कमजोरी कम गर्छ र उत्पादन प्रक्रिया सरल बनाउँछ।
यो विचार सुन्दा सामान्य लाग्न सक्छ। तर अटोमोबाइल उद्योगमा उत्पादनको सानो सुधारले पनि ठूलो आर्थिक प्रभाव पार्न सक्छ। एउटा बम्परमा लाग्ने समय, कच्चा पदार्थ, श्रम र उत्पादन लागत हजारौँ वा लाखौँ गाडीको हिसाबले जोड्दा ठूलो रकम हुन्छ। खानले यही औद्योगिक गणित बुझेर नयाँ डिजाइनमा काम गरे।
उनले एक टुक्रे धातुको बम्पर उत्पादन गर्ने प्रविधि विकास गरे। यसमा धातुलाई विशेष प्रक्रियाबाट आकार दिइन्थ्यो। वेल्डिङका धेरै जोड हट्ने भएकाले खिया लाग्ने सम्भावना कम हुन्थ्यो। उत्पादन प्रक्रिया पनि तुलनात्मक रूपमा प्रभावकारी बन्यो। पिकअप ट्रकका लागि यस्तो बम्पर विशेष उपयोगी साबित भयो।
यो डिजाइन उनको व्यावसायिक जीवनको सबैभन्दा महत्त्वपूर्ण आविष्कार बन्यो।
फ्लेक्स–एन–गेटमै काम गर्दा उनले विकास गरेको उत्पादनले कम्पनीलाई नयाँ बजारको सम्भावना देखाएको थियो। तर यही अनुभवले उनलाई आफ्नै व्यवसाय सुरु गर्ने आत्मविश्वास पनि दियो।
सन् १९७८ मा उनले फ्लेक्स–एन–गेटको जागिर छाडे। आफ्नो सीप, अनुभव र नयाँ उत्पादनको अवधारणालाई आधार बनाएर उनले बम्पर वर्क्स नामको कम्पनी स्थापना गरे। सुरुवातमा यो कुनै ठूलो कारखाना थिएन। एउटा सानो ग्यारेज, एउटा प्रेस मेसिन र सीमित जनशक्तिबाट व्यवसाय अघि बढाइएको थियो।
उनले व्यवसाय सुरु गर्न आफ्नै बचतबाट करिब १३ हजार डलर र अमेरिकी साना व्यवसाय प्रशासनसँग सम्बन्धित ऋणबाट ५० हजार डलर जुटाएका थिए। अर्थात् उनको प्रारम्भिक उद्यम ठूलो पुँजीको परिणाम थिएन। सीमित बचत, ऋण र प्राविधिक सीपको संयोजनबाट सुरु भएको थियो।
उनको उद्देश्य बजारमा अर्को बम्पर उत्पादक थप्नु मात्र थिएन। पुरानो उत्पादन विधिभन्दा कम लागतमा, टिकाउ र प्रभावकारी उत्पादन उपलब्ध गराउनु थियो। यही भिन्नताले बम्पर वर्क्सलाई बजारमा प्रवेश गर्ने आधार दियो।
पूर्वकम्पनीसँगै प्रतिस्पर्धा
नयाँ व्यवसाय सुरु गर्नु आफैँमा चुनौतीपूर्ण थियो। तर खानका लागि अर्को कठिनाइ पनि आयो। फ्लेक्स–एन–गेट छाडेको केही समयमै पूर्वकम्पनीले उनीविरुद्ध व्यापारिक गोपनीयता र व्यावसायिक दायित्व उल्लङ्घनसम्बन्धी आरोप लगाउँदै कानुनी कारबाही अघि बढायो। नयाँ व्यवसायका लागि यो ठूलो धक्का हुन सक्थ्यो।
सुरुवाती अवस्थामा बम्पर वर्क्ससँग ठूलो कानुनी खर्च धान्ने क्षमता थिएन। उत्पादन सुरु भएको थियो, बजार विस्तारको प्रयास भइरहेको थियो र पुँजी सीमित थियो। यस्तो अवस्थामा लामो कानुनी विवादले व्यवसायलाई नै संकटमा पार्न सक्थ्यो।
तर खान पछि हटेनन्। उनले कानुनी चुनौतीको सामना गरे। उपलब्ध विवरणअनुसार उनी दिनभर उत्पादनको काममा व्यस्त हुन्थे र राति विश्वविद्यालयको पुस्तकालयमा पुगेर कानुनी विषय अध्ययन गर्थे। महँगो कानुनी टोली राख्न सक्ने आर्थिक अवस्था नभएकाले उनले आफ्नै अध्ययन र सीमित कानुनी सहयोगका आधारमा प्रतिरक्षा गरे।
यो घटनाले उनको व्यावसायिक स्वभावको अर्को पक्ष उजागर गर्छ। उनी प्राविधिक सीपमा मात्र निर्भर रहने उद्यमी थिएनन्। व्यवसाय सञ्चालन गर्दा कानुनी, वित्तीय र बजारसम्बन्धी चुनौती बुझ्नुपर्ने आवश्यकतालाई पनि उनले स्वीकार गरे।
कुनै नयाँ उद्यम सुरु गर्दा उत्पादन राम्रो हुनु मात्र पर्याप्त हुँदैन। त्यसको बौद्धिक स्वामित्व, प्रतिस्पर्धीको अधिकार, करार र कानुनी दायित्व पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। खानको प्रारम्भिक अनुभवले यही पाठ देखाउँछ।
बम्पर वर्क्सले आफ्नो उत्पादनको उपयोगिता प्रमाणित गर्दै बजारमा ग्राहक बनाउन थाल्यो। कम्पनीको एक टुक्रे बम्पर डिजाइनले उत्पादन प्रक्रियालाई सरल बनाउने र टिकाउपन बढाउने सम्भावना देखाएको थियो। यही उत्पादनले उनलाई पूर्वकम्पनीसँगको प्रतिस्पर्धामा समेत नयाँ आधार दियो।
उनको उद्यमशीलताको मुख्य शक्ति यही थियो-बजारमा पहिलेदेखि उपलब्ध वस्तु बेच्नेभन्दा विद्यमान वस्तु कसरी राम्रो बनाउन सकिन्छ भन्ने प्रश्नमा केन्द्रित हुनु। उनले नयाँ उद्योग सिर्जना गरेका थिएनन्, तर पुरानो उद्योगको उत्पादन विधिमा सुधार ल्याएका थिए।
सन् १९८० मा फ्लेक्स–एन–गेट बिक्रीका लागि उपलब्ध भयो। खानका लागि यो असाधारण अवसर थियो। कुनै समय जागिर खाएको र आफ्नो व्यावसायिक सीप विकास गरेको त्यही कम्पनी अब खरिद गर्न सकिने अवस्थामा थियो। उनले फ्लेक्स–एन–गेट खरिद गरे र बम्पर वर्क्सलाई त्यसैमा समाहित गरे।
यसरी उनी पूर्वकर्मचारीबाट पूर्वकम्पनीकै मालिक बने। उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यावसायिक मोड यही थियो। तर कम्पनी खरिद गर्नु सफलताको अन्तिम बिन्दु थिएन। त्यसलाई ठूलो उद्योगमा रूपान्तरण गर्ने चुनौती अब सुरु हुँदै थियो।
सानो उद्योगबाट अन्तर्राष्ट्रिय आपूर्तिकर्तासम्म
फ्लेक्स–एन–गेटको स्वामित्व प्राप्त गरेपछि खानले कम्पनीलाई केवल बम्पर उत्पादनमा सीमित राखेनन्। उनले अटोमोबाइल उद्योगको आपूर्ति शृङ्खलालाई नजिकबाट अध्ययन गरे। गाडी उत्पादन गर्ने कम्पनीलाई बम्पर मात्र होइन, धातुका संरचना, प्लास्टिकका बाहिरी भाग, मेकानिकल एसेम्ब्ली र अन्य धेरै पार्टपुर्जाको आवश्यकता पर्छ। एउटै ग्राहकलाई विभिन्न प्रकारका उत्पादन उपलब्ध गराउन सके बजारमा कम्पनीको उपस्थिति बलियो बनाउन सकिने उनको बुझाइ थियो।
उनले यही रणनीतिअनुसार उत्पादनको दायरा विस्तार गरे। बम्पर उत्पादनसँगै अन्य अटोमोबाइल कम्पोनेन्ट निर्माणमा लगानी बढाए। नयाँ प्रविधि र उत्पादन उपकरण भित्र्याए।
उत्पादन क्षमता विस्तार गरे र अटोमोबाइल उत्पादक कम्पनीसँग दीर्घकालीन व्यावसायिक सम्बन्ध निर्माण गर्न थाले।
अमेरिकी अटोमोबाइल उद्योगमा जनरल मोटर्स, फोर्ड र क्रिसलरजस्ता ठूला उत्पादकको आपूर्ति प्रणालीमा प्रवेश गर्नु कुनै सानो उपलब्धि थिएन। यस्ता कम्पनीलाई पार्टपुर्जा आपूर्ति गर्न उत्पादनको गुणस्तर, समयमै डेलिभरी, मूल्य प्रतिस्पर्धा र प्राविधिक मापदण्ड पूरा गर्नुपर्छ। एउटा अर्डर प्राप्त गर्नु मात्रै पर्याप्त हुँदैन, हरेक पटक समान गुणस्तर कायम राख्न सक्नुपर्छ।
खानले कम्पनीलाई यही प्रतिस्पर्धात्मक वातावरणमा अघि बढाए। बम्पर उत्पादनमा विकसित गरेको प्राविधिक दक्षता अन्य उत्पादनमा विस्तार गरे। कम्पनीले टोयोटा, बीएमडब्ल्यू, फोर्ड, जनरल मोटर्स र अन्य प्रमुख अटोमोबाइल उत्पादकका लागि विभिन्न पार्टपुर्जा आपूर्ति गर्ने क्षमता विकास गर्यो।
विशेषगरी जापानी अटोमोबाइल उत्पादकसँगको व्यावसायिक सम्बन्ध विस्तार उनका लागि महत्त्वपूर्ण बन्यो। सन् १९८४ तिर टोयोटाका पिकअप ट्रकका लागि बम्पर आपूर्ति सुरु गर्नु कम्पनीको बजार विस्तारमा उल्लेखनीय चरण थियो। जापानी उत्पादकहरू उत्पादनको गुणस्तर, लागत नियन्त्रण र कार्यक्षमताका विषयमा कडा मापदण्ड अपनाउँथे। उनीहरूको आपूर्ति प्रणालीमा प्रवेश गर्नु कम्पनीको उत्पादन क्षमताको परीक्षणसमेत थियो।
खानले व्यवसाय विस्तार गर्दा एउटा महत्त्वपूर्ण सिद्धान्त अपनाए—उत्पादनको गुणस्तर र ग्राहकको विश्वासलाई अल्पकालीन नाफाभन्दा माथि राख्ने। अटोमोबाइल उद्योगमा कुनै पार्टपुर्जामा कमजोरी देखिए त्यसले गाडी उत्पादकको ब्रान्ड र उत्पादन दुवैलाई असर गर्न सक्छ। त्यसैले ग्राहकले आपूर्तिकर्तासँग केवल सस्तो मूल्य होइन, निरन्तर विश्वसनीयता पनि खोज्छन्।
उनले उत्पादन प्रक्रियामा सुधार, प्राविधिक अनुसन्धान र उत्पादन क्षमताको विस्तारलाई प्राथमिकता दिए। कम्पनीले नयाँ कारखाना स्थापना गर्न थाल्यो। आवश्यकताअनुसार अन्य उत्पादक कम्पनी तथा उत्पादन केन्द्रहरू खरिद गरेर आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्यो।
यसको परिणाम क्रमशः देखिन थाल्यो। सानो अमेरिकी उत्पादकका रूपमा सुरु भएको फ्लेक्स–एन–गेट उत्तर अमेरिकी अटोमोबाइल उद्योगको प्रमुख आपूर्तिकर्तामध्ये एक बन्यो। कम्पनीको व्यापार अमेरिकामा मात्र सीमित रहेन। क्यानडा, मेक्सिको, दक्षिण अमेरिका, युरोप र एसियासम्म उत्पादन तथा व्यावसायिक सञ्जाल विस्तार भयो।
आज कम्पनीको आधिकारिक विवरणअनुसार फ्लेक्स–एन–गेटका ११ देशमा उत्पादन तथा अनुसन्धानसम्बन्धी उपस्थिति छ। विश्वभर ८० उत्पादन तथा अनुसन्धान केन्द्र र २८ हजारभन्दा बढी कर्मचारी रहेको कम्पनीले जनाएको छ।
अटोमोबाइल उद्योगका लागि धातु तथा प्लास्टिकका पार्टपुर्जा, बम्पर प्रणाली र जटिल मेकानिकल एसेम्ब्ली उत्पादन गर्नु यसको मुख्य व्यवसाय हो। कम्पनीसँग विश्वका विभिन्न देशमा ८५० भन्दा बढी पेटेन्टसमेत रहेको विवरण छ।
कम्पनीको विस्तारले खानको व्यावसायिक सोचलाई पनि प्रमाणित गर्यो। उनले एउटै उत्पादनमा निर्भर भएर व्यवसाय चलाएनन्। एउटा उत्पादनबाट प्राप्त प्राविधिक क्षमता र बजार सम्बन्धलाई अन्य उत्पादनमा विस्तार गरे। नयाँ ग्राहक, नयाँ उद्योग र नयाँ भौगोलिक बजारमा प्रवेश गर्दै कम्पनीलाई विविधीकरण गरे।
यो रणनीति उत्पादन उद्योगका उद्यमीका लागि विशेष महत्त्वपूर्ण छ। एउटा उत्पादन सफल भएपछि त्यसैमा मात्र निर्भर रहने हो भने बजारमा नयाँ प्रविधि वा प्रतिस्पर्धीको प्रवेशले व्यवसायलाई जोखिममा पार्न सक्छ। तर ग्राहकको आवश्यकता बुझेर उत्पादनको दायरा विस्तार गर्न सकियो भने कम्पनीको बजार उपस्थिति दिगो बन्न सक्छ।
खानले यही मोडल अपनाए। उनी केवल बम्पर निर्माता रहेनन्, अटोमोबाइल उत्पादकका लागि विभिन्न प्रणाली र कम्पोनेन्ट उपलब्ध गराउने औद्योगिक साझेदार बने।
अर्बौंको सम्पत्ति र लगानीको नयाँ क्षेत्र
औद्योगिक उत्पादनमा स्थापित सफलताले खानलाई ठूलो पुँजी निर्माण गर्ने अवसर दियो। तर उनले आफ्नो लगानीलाई अटोमोबाइल उद्योगमै सीमित राखेनन्। व्यवसायबाट आर्जित सम्पत्तिलाई खेलकुद, मनोरञ्जन, होटल तथा रियल इस्टेटजस्ता क्षेत्रमा विस्तार गर्ने निर्णय गरे।
उनको अर्को ठूलो रुचि अमेरिकी फुटबल थियो। विश्वविद्यालयमा अध्ययन गर्दादेखि नै उनी अमेरिकी फुटबलका प्रशंसक थिए। विद्यार्थी जीवनमा साथीहरूसँग बसेर एनएफएलका खेल हेर्ने गर्थे। त्यसबेला एउटा दिन आफू पनि फुटबल क्लबको मालिक बन्ने सपना उनले देखेका थिए। त्यो सपना पूरा गर्न उनलाई चार दशकभन्दा बढी समय लाग्यो।
सन् २०१० मा उनले सेन्ट लुइस र्याम्स फुटबल टोली खरिद गर्ने प्रयास गरेका थिए। तर त्यो प्रयास सफल भएन। खेलकुद क्लबको स्वामित्व प्राप्त गर्ने पहिलो प्रयास असफल भएपछि पनि उनले आफ्नो लक्ष्य त्यागेनन्।
सन् २०११ मा उनले ज्याक्सनभिल जगुअर्स खरिद गर्ने सम्झौता गरे। एनएफएलका मालिकहरूले डिसेम्बर १४, २०११ मा सर्वसम्मतिले उनको खरिद प्रस्तावलाई समर्थन गरे। सन् २०१२ जनवरी ४ मा खरिद प्रक्रिया पूरा भयो। करिब ७७ करोड अमेरिकी डलरमा गरिएको यो कारोबारले उनलाई एनएफएलको टोली स्वामित्व प्राप्त गर्ने पहिलो पाकिस्तानी मूलका अमेरिकी व्यवसायी बनायो।
कारोबार केवल खेलप्रतिको व्यक्तिगत रुचि पूरा गर्ने विषय थिएन। अमेरिकी फुटबल विश्वकै ठूलो व्यावसायिक खेलकुद बजारमध्ये एक हो। एनएफएलका क्लबहरू टेलिभिजन प्रसारण अधिकार, प्रायोजन, टिकट बिक्री, व्यापारिक सामग्री, स्टेडियम र अन्य व्यावसायिक गतिविधिबाट आम्दानी गर्छन्। यस्तो बजारमा प्रवेश गर्नु खानका लागि आफ्नो औद्योगिक व्यवसायभन्दा फरक प्रकृतिको लगानी विस्तार थियो।
तर खेलकुद क्लबको स्वामित्व प्राप्त गरेपछि उनको भूमिका केवल मालिकमा सीमित रहेन। उनले ज्याक्सनभिल सहरको आर्थिक तथा पूर्वाधार विकाससँग क्लबलाई जोड्ने प्रयास गरे। स्टेडियम, खेलकुद पूर्वाधार, मनोरञ्जन र स्थानीय व्यवसायको विकासलाई क्लबको दीर्घकालीन सम्भावनासँग जोड्न थाले।
उनको अर्को महत्त्वपूर्ण रणनीति अमेरिकी बजारमा मात्र सीमित नहुने थियो। एनएफएलको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले उनले ज्याक्सनभिल जगुअर्सलाई बेलायतमा नियमित खेल खेलाउने योजनालाई समर्थन गरे। लन्डनमा खेल आयोजना गर्दा क्लबको अन्तर्राष्ट्रिय पहिचान बढ्ने, नयाँ दर्शकसम्म पुग्ने र व्यावसायिक अवसर विस्तार हुने उनको बुझाइ थियो।
ज्याक्सनभिल जगुअर्सले सन् २०१३ देखि लन्डनमा नियमित रूपमा खेल खेल्न थालेको हो। यसले अमेरिकी फुटबललाई बेलायती दर्शकमाझ पुर्याउने अभियानमा क्लबको भूमिका बढायो। एनएफएलको अन्तर्राष्ट्रिय बजार विस्तारसँग जोडिएको यो प्रयास खानको दीर्घकालीन व्यावसायिक सोचको अर्को उदाहरण हो।
अमेरिकी फुटबलमा प्रवेश गरेको एक वर्षपछि उनले युरोपेली फुटबलमा पनि लगानी गरे। सन् २०१३ मा उनले बेलायतको पुरानो फुटबल क्लब फुलहम एफसी खरिद गरे। सन् १८७९ मा स्थापना भएको फुलहम लन्डनको सबैभन्दा पुरानो व्यावसायिक फुटबल क्लबमध्ये एक हो। क्लबको स्वामित्व लिएर उनले आफ्नो लगानीलाई अमेरिकी खेलकुदबाट युरोपेली फुटबलसम्म विस्तार गरे।
फुलहमको स्वामित्व प्राप्त गर्नु उनको व्यावसायिक पोर्टफोलियोका लागि अर्को महत्त्वपूर्ण कदम थियो। अमेरिकी फुटबल र युरोपेली फुटबलको व्यावसायिक संरचना फरक छ। क्लबको आम्दानी, दर्शकको व्यवहार, खेलाडी खरिदबिक्री, प्रसारण अधिकार र प्रायोजनका मोडल पनि फरक हुन्छन्। यी दुई बजारमा लगानी गरेर उनले खेलकुदलाई अन्तर्राष्ट्रिय व्यवसायको रूपमा हेर्ने दृष्टिकोण अघि बढाए।
फुलहमको घरेलु मैदान क्रेभेन कटेजलाई आधुनिक बनाउने र खेलकुदसँगै आतिथ्य तथा मनोरञ्जन व्यवसाय जोड्ने योजनासमेत अघि बढाइएको छ। टेम्स नदीको किनारमा रहेको क्लबको मैदानसँग जोडिएको फुलहम पियर परियोजनाले खेलकुद दर्शकलाई आतिथ्य, मनोरञ्जन र अन्य व्यावसायिक सेवासँग जोड्ने प्रयास गरेको छ। यसले क्लबको आम्दानीलाई खेलको नतिजामा मात्र निर्भर नराख्ने सम्भावना सिर्जना गर्छ।
नका लागि खेलकुदमा लगानी गर्नु प्रतिष्ठा प्रदर्शन गर्ने माध्यम मात्र थिएन। उनी खेलकुदको व्यावसायिक सम्भावना, अन्तर्राष्ट्रिय दर्शक, प्रसारण बजार र पूर्वाधार विकासलाई जोडेर हेर्छन्। औद्योगिक उत्पादनमा विकसित गरेको लगानी विस्तारको सोचलाई उनले खेलकुद क्षेत्रमा पनि लागू गर्न खोजेका छन्।
छोराको सोचमा लगानी, नयाँ उद्योगमा प्रवेश
शाहिद खानको व्यवसायिक विस्तारको अर्को रोचक पक्ष पारिवारिक उद्यमशीलतासँग जोडिएको छ। उनका छोरा टोनी खानलाई सानैदेखि व्यावसायिक कुस्ती र मनोरञ्जन क्षेत्रमा रुचि थियो। टोनीको यो रुचि सामान्य प्रशंसकको तहमा मात्र सीमित रहेन। उनले कुस्ती मनोरञ्जन उद्योगको बजार, दर्शकको व्यवहार र व्यावसायिक सम्भावनालाई नजिकबाट अध्ययन गरे।
शाहिद खानले छोराको रुचिलाई सुरुमा सहजै स्वीकार गरेका थिएनन्। परम्परागत व्यवसायबाट ठूलो सम्पत्ति निर्माण गरेका उनका लागि कुस्ती मनोरञ्जनमा लगानी गर्नु जोखिमपूर्ण निर्णय थियो। तर टोनीले आफ्नो व्यावसायिक योजनामा सम्भावना देखाएपछि उनले आवश्यक लगानी उपलब्ध गराउने निर्णय गरे।
सन् २०१९ मा शाहिद र टोनी खानको लगानीमा अल एलिट रेस्लिङ (एईडब्लू) सुरु भयो। यो व्यावसायिक कुस्ती मनोरञ्जन कम्पनी हो, जसले अमेरिकी बजारमा स्थापित डब्लूडब्लूईसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राख्यो।
टोनी खान यसको प्रमुख कार्यकारी नेतृत्वमा छन्।
यस क्षेत्रमा प्रवेश गर्दा उनीहरूले स्थापित बजारमा नयाँ प्रतिस्पर्धीका रूपमा स्थान बनाउनुपर्ने चुनौती सामना गरे। कुस्ती मनोरञ्जन केवल खेल प्रदर्शन होइन। यसमा टेलिभिजन प्रसारण, प्रत्यक्ष कार्यक्रम, खेलाडी व्यवस्थापन, दर्शक समुदाय, डिजिटल सामग्री र प्रायोजनको ठूलो भूमिका हुन्छ।
एईडब्लूले नयाँ खेलाडी, पुराना चर्चित कुस्तीबाज र फरक प्रस्तुति शैलीलाई जोड्दै बजारमा आफ्नो स्थान बनाउन प्रयास गर्यो। अन्तर्राष्ट्रिय स्तरमा प्रत्यक्ष कार्यक्रम आयोजना गर्ने र प्रसारण बजार विस्तार गर्ने रणनीतिले यसलाई नयाँ व्यावसायिक प्रतिस्पर्धीका रूपमा स्थापित गर्न मद्दत गर्यो।
शाहिद खानले छोराको व्यावसायिक योजनामा गरेको लगानीले उनको अर्को पक्ष देखाउँछ। उनी आफ्ना सन्तानलाई केवल स्थापित व्यवसायको उत्तराधिकारीका रूपमा तयार पार्न चाहँदैनन्। नयाँ क्षेत्रमा अवसर पहिचान गर्ने र त्यसमा जोखिम लिन सक्ने वातावरण पनि दिन्छन्।
उनकी छोरी शन्ना खान पनि पारिवारिक लगानीसँग सम्बन्धित व्यवसायमा सक्रिय छिन्। उनी इगुआना इन्भेस्टमेन्ट्ससँग सम्बन्धित रियल इस्टेट तथा विकास परियोजनाको नेतृत्वमा संलग्न छिन्। यसले परिवारको व्यावसायिक गतिविधि अटोमोबाइल र खेलकुदबाट होटल, पर्यटन तथा सहरी पूर्वाधार विकाससम्म फैलिएको देखाउँछ।
खानको लगानीको अर्को क्षेत्र होटल व्यवसाय हो। सन् २०१६ मा उनले क्यानडाको टोरन्टोस्थित फोर सिजन्स होटलको पूर्ण स्वामित्व प्राप्त गरे। अन्तर्राष्ट्रिय आतिथ्य उद्योगमा स्थापित ब्रान्डसँग जोडिएको यो लगानीले उनको व्यवसायिक पोर्टफोलियोमा अर्को क्षेत्र थप्यो। होटलको व्यवस्थापन फोर सिजन्सकै व्यवस्थापन संरचनाअन्तर्गत सञ्चालन हुँदै आएको छ।
यसरी हेर्दा खानको व्यवसायिक विस्तार एउटा निश्चित उद्योगमा सीमित छैन। अटोमोबाइल उत्पादन उनको मूल व्यवसाय हो। खेलकुद, मनोरञ्जन, होटल र रियल इस्टेटमा गरिएको लगानीले उनको सम्पत्ति व्यवस्थापन र दीर्घकालीन लगानीको दायरा फराकिलो बनाएको छ।
सम्पत्तिको आकार र व्यावसायिक साम्राज्य
खानको व्यावसायिक सफलताको आकार बुझ्न उनको सम्पत्ति र कम्पनीको विस्तार हेर्न सकिन्छ। फोर्ब्सको नोभेम्बर २६, २०२६ को प्रोफाइलअनुसार उनको अनुमानित कुल सम्पत्ति १६.१ अर्ब अमेरिकी डलर पुगेको छ। विश्वका धनी व्यक्तिहरूको सूचीमा उनी १८३औँ स्थानमा छन्। उनको सम्पत्तिको प्रमुख आधार फ्लेक्स–एन–गेट, खेलकुद क्लब र अन्य लगानी हुन्।
उनको सम्पत्तिको ठूलो हिस्सा अटोमोबाइल पार्टपुर्जा उत्पादन गर्ने व्यवसायबाट आएको हो। फ्लेक्स–एन–गेटको विकासले उनलाई नियमित नगद प्रवाह, औद्योगिक सम्पत्ति र दीर्घकालीन व्यावसायिक आधार प्रदान गरेको छ। त्यसैको जगमा उनले खेलकुद तथा अन्य क्षेत्रमा लगानी विस्तार गर्न सके।
अमेरिकाको अटोमोबाइल आपूर्ति उद्योगमा कम्पनीको स्थान पनि उल्लेखनीय छ। एनएफएलको सन् २०२५ को आधिकारिक मिडिया गाइडमा उल्लेख गरिएको विवरणअनुसार फ्लेक्स–एन–गेटसँग विश्वभर करिब २६ हजार कर्मचारी, ७८ उत्पादन केन्द्र र पाँच उन्नत उत्पादन विकास केन्द्र छन्। कम्पनी उत्तर अमेरिकाका प्रमुख अटोमोबाइल उपकरण आपूर्तिकर्तामध्ये एकका रूपमा सूचीकृत छ।
यसको अर्थ खानले एउटा बम्पर उत्पादन गर्ने सानो व्यवसायलाई विश्वव्यापी उत्पादन सञ्जालमा रूपान्तरण गरेका छन्। उनको व्यवसायले विभिन्न देशमा रोजगारी सिर्जना गरेको छ। अटोमोबाइल उद्योगको आपूर्ति प्रणालीमा योगदान दिएको छ र विश्वका प्रमुख गाडी उत्पादकसँग व्यावसायिक सम्बन्ध स्थापित गरेको छ।
यद्यपि उनको सम्पत्तिको मूल्य र कम्पनीको कारोबारलाई एउटै विषयका रूपमा बुझ्नु हुँदैन।
व्यक्तिगत सम्पत्ति विभिन्न कम्पनी, लगानी र सम्पत्तिको मूल्यांकनमा आधारित हुन्छ। कम्पनीको बिक्री आम्दानी, नाफा र बजार मूल्य अलग-अलग वित्तीय सूचक हुन्।
उनको व्यावसायिक सफलताको वास्तविक आधार भनेको उत्पादन उद्योगमा निर्माण गरेको दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमता हो।
खानको लगानी शैलीमा एउटा अर्को पक्ष पनि देखिन्छ। उनले सबै व्यवसाय आफैँले दैनिक सञ्चालन गर्नेभन्दा सक्षम व्यवस्थापन संरचना विकास गर्ने र परिवारका सदस्यलाई उनीहरूको रुचि तथा क्षमताअनुसार जिम्मेवारी दिने अभ्यास गरेका छन्। अटोमोबाइल उद्योगमा उनको नेतृत्व कायम रहँदा खेलकुद तथा मनोरञ्जन क्षेत्रमा छोराको भूमिका महत्त्वपूर्ण छ। रियल इस्टेट तथा विकास परियोजनामा छोरीको सहभागिता छ।
यस्तो संरचनाले पारिवारिक व्यवसायलाई एउटै व्यक्तिको दैनिक सक्रियतामा मात्र निर्भर नराख्ने सम्भावना बढाउँछ। तर ठूलो लगानीको पोर्टफोलियो सञ्चालन गर्दा पुँजी व्यवस्थापन, जोखिम नियन्त्रण र विभिन्न क्षेत्रको विशेषज्ञता कायम राख्नु पनि उत्तिकै चुनौतीपूर्ण हुन्छ।
अवसर, जोखिम र उद्यमशीलताको पाठ
शाहिद खानको सफलताको कथा हेर्दा सबैभन्दा पहिले देखिने पक्ष उनको संघर्ष हो। १६ वर्षको उमेरमा अपरिचित देश पुगेर भाँडा माझ्ने कामबाट जीवन सुरु गरेका उनले अर्बौं डलरको सम्पत्ति निर्माण गरे। तर उनको सफलतालाई केवल कठिन परिस्थितिमा गरेको मिहिनेतसँग जोडेर व्याख्या गर्नु पर्याप्त हुँदैन।
उनको यात्रामा केही महत्त्वपूर्ण व्यावसायिक निर्णय छन्, जसले उनलाई अरूभन्दा फरक बनाएका छन्।
पहिलो, उनले समस्यालाई व्यावसायिक अवसरका रूपमा हेरे। फ्लेक्स–एन–गेटमा काम गर्दा उनले बम्पर उत्पादनको कमजोरी पहिचान गरे। अरूले स्वीकार गरिरहेको उत्पादन विधिलाई उनले सुधार गर्न सकिने विषयका रूपमा लिए। यही सोचले एक टुक्रे बम्परको डिजाइन विकास गर्न प्रेरित गर्यो। नयाँ उत्पादनले ग्राहकलाई लागत र गुणस्तर दुवैमा फाइदा दिन सक्ने सम्भावना देखायो।
दोस्रो, उनले प्राविधिक सीपलाई व्यवसायसँग जोडे। इन्जिनियरिङ पढ्नु र इन्जिनियरका रूपमा काम गर्नु मात्र उनको लक्ष्य थिएन। उनले प्राविधिक ज्ञानलाई उत्पादन, बजार र नाफासँग जोड्ने प्रयास गरे। धेरै उद्यमीले बजारको माग देखे पनि त्यसलाई उत्पादनको सुधारमा रूपान्तरण गर्न सक्दैनन्। खानले यही दूरी कम गरे।
तेस्रो, उनले जोखिम लिन तयार भए। स्थिर जागिर छाडेर आफ्नै कम्पनी सुरु गर्नु त्यतिबेला ठूलो निर्णय थियो। अझ पूर्वकम्पनीसँग कानुनी विवाद हुँदा व्यवसाय बन्द हुने जोखिमसमेत थियो। तर उनले आफ्नो उत्पादनमाथि विश्वास राखे र चुनौतीको सामना गरे। त्यसपछि त्यही पूर्वकम्पनी खरिद गरेर आफ्नो व्यावसायिक यात्रालाई नयाँ चरणमा पुर्याए।
चौथो, उनले व्यवसायलाई उत्पादन विविधीकरणसँग जोडे। बम्परमा सफल भएपछि त्यसैमा मात्र निर्भर रहेनन्। अटोमोबाइल उद्योगका अन्य उत्पादनमा प्रवेश गरे। ग्राहकको आवश्यकता बुझेर कम्पनीको उत्पादन क्षमता विस्तार गरे। यसले बजारमा कम्पनीको भूमिका र आम्दानीको सम्भावना दुवै बढायो।
पाँचौँ, उनले दीर्घकालीन लगानीलाई प्राथमिकता दिए। ज्याक्सनभिल जगुअर्स र फुलहमजस्ता खेलकुद क्लब खरिद गर्नु तत्काल नाफा कमाउने सामान्य व्यापारिक निर्णय थिएन। यी लगानीमा ठूलो पुँजी, व्यवस्थापन क्षमता र दीर्घकालीन रणनीति आवश्यक थियो। उनले खेलकुदलाई मनोरञ्जनसँगै अन्तर्राष्ट्रिय बजार, पूर्वाधार र व्यावसायिक ब्रान्ड निर्माणको अवसरका रूपमा हेरे।
तर उनको यात्रामा जोखिमविहीन सफलता भने छैन। खेलकुद क्लबको स्वामित्वमा ठूलो सञ्चालन खर्च, खेलाडी व्यवस्थापन, दर्शकको अपेक्षा र प्रतियोगिताको नतिजासँग जोडिएका अनिश्चितता हुन्छन्।
अटोमोबाइल उद्योग आफैँ पनि प्रविधि परिवर्तन, विद्युतीय गाडीको विस्तार, विश्वव्यापी आपूर्ति शृङ्खलाको समस्या र लागत दबाबबाट प्रभावित हुन्छ। यस्तो अवस्थामा कम्पनीको प्रतिस्पर्धात्मक क्षमता कायम राख्न निरन्तर लगानी र अनुसन्धान आवश्यक हुन्छ।
फ्लेक्स–एन–गेटको भविष्य पनि यही परिवर्तनसँग जोडिएको छ। विश्व अटोमोबाइल उद्योग पेट्रोलियम इन्धनमा आधारित गाडीबाट विद्युतीय तथा नयाँ प्रविधिका गाडीतर्फ विस्तार भइरहेको छ।
गाडीको संरचना, तौल, ब्याट्री प्रणाली र सुरक्षा प्रविधिमा परिवर्तन हुँदा पार्टपुर्जा उत्पादकले पनि आफ्नो उत्पादन प्रणाली बदल्नुपर्ने हुन्छ।
खानको कम्पनीका लागि यो अवसर र चुनौती दुवै हो। नयाँ गाडीका लागि आवश्यक धातु तथा प्लास्टिकका संरचना, हलुका सामग्री र आधुनिक मेकानिकल प्रणाली उत्पादन गर्न सक्ने क्षमता विकास गर्न सके भविष्यको बजारमा पनि कम्पनीको स्थान बलियो रहन सक्छ। पुरानो सफलतामै निर्भर रहनु भने पर्याप्त हुँदैन।
यस अर्थमा खानको व्यावसायिक जीवनले एउटा महत्त्वपूर्ण पाठ दिन्छ—सफल व्यवसायको आधार केवल उत्पादन होइन, परिवर्तनलाई बुझेर आफूलाई समयअनुसार रूपान्तरण गर्ने क्षमता पनि हो।
अमेरिकी सपनाभन्दा फराकिलो पहिचान
खानको जीवनलाई अमेरिकी सपनाको उदाहरणका रूपमा प्रस्तुत गरिन्छ। पाकिस्तानबाट अमेरिका पुगेको किशोरले सीमित पैसाबाट अध्ययन र काम सुरु गरेर विश्वस्तरको औद्योगिक व्यवसाय निर्माण गर्नु आफैँमा असाधारण उपलब्धि हो।
सन् २०२५ मा कार्नेगी कर्पोरेसन अफ न्युयोर्कले उनलाई ‘ग्रेट इमिग्रेन्ट्स’ सम्मानमा समेटेको थियो। आप्रवासीका रूपमा अमेरिकामा गरेको योगदान र व्यावसायिक यात्रालाई संस्थाले विशेष रूपमा उल्लेख गरेको छ।
तर खानको पहिचान अमेरिकामा सफल भएको आप्रवासीमा मात्र सीमित छैन। उनी पाकिस्तानमा जन्मिएका व्यक्ति हुन्। अमेरिकी औद्योगिक क्षेत्रमा व्यवसाय निर्माण गरेका उद्यमी हुन्। युरोपेली फुटबलमा लगानी गरेका क्लब मालिक हुन्। अन्तर्राष्ट्रिय मनोरञ्जन उद्योगमा प्रवेश गरेका लगानीकर्ता पनि हुन्।
उनको सफलतामा शिक्षा र अवसरको भूमिका महत्त्वपूर्ण छ। इलिनोइस विश्वविद्यालयले उनलाई इन्जिनियरिङ शिक्षा प्रदान गर्यो। त्यहाँको औद्योगिक वातावरणले व्यावहारिक अनुभव दिलायो। विद्यार्थी जीवनमै प्राप्त गरेको जागिरले उनलाई उत्पादन उद्योग बुझ्ने अवसर दियो। त्यही अनुभवले भविष्यमा आफ्नै कम्पनी सुरु गर्ने आधार तयार गर्यो।
उनको यात्रामा पारिवारिक सहयोग र व्यक्तिगत सम्बन्धको भूमिका पनि उल्लेखनीय छ। पत्नी एन कार्लसनले लामो समयसम्म उनको व्यावसायिक यात्रामा साथ दिइन्। सन्तानले पनि व्यवसायका विभिन्न क्षेत्रमा आफ्नो भूमिका विकास गरे। तर उनको उद्यमशीलताको मूल आधार भने व्यक्तिगत सीप, बजारको पहिचान र व्यावसायिक निर्णय नै हुन्।
खानले आफ्नो सफलतालाई केवल व्यक्तिगत सम्पत्तिमा सीमित राखेका छैनन्। ज्याक्सनभिलको स्थानीय विकास, खेलकुद पूर्वाधार र सामुदायिक गतिविधिमा उनको लगानी जोडिएको छ। विश्वविद्यालय र अन्य शैक्षिक संस्थासँग पनि उनको सम्बन्ध कायम छ। उनी र उनकी पत्नीले इलिनोइस तथा ज्याक्सनभिल क्षेत्रमा विभिन्न परोपकारी गतिविधिमा सहयोग गर्दै आएका छन्।
खानको सार्वजनिक जीवनमा देखिने एउटा महत्त्वपूर्ण पक्ष आप्रवासीप्रतिको दृष्टिकोण पनि हो। आफूले नयाँ देशमा अवसर पाएर जीवन निर्माण गरेको अनुभवका कारण उनले नयाँ नागरिकता प्राप्त गर्ने आप्रवासीलाई ज्याक्सनभिल जगुअर्सका खेलका क्रममा सम्मान गर्ने कार्यक्रमसमेत आयोजना गरेका छन्। यसले आफ्नो व्यक्तिगत अनुभवलाई सामुदायिक पहिचानसँग जोड्ने उनको प्रयास देखाउँछ।
उनको जीवनमा सबैभन्दा उल्लेखनीय पक्ष भनेको सुरुवात र वर्तमानबीचको दूरी हो। कुनै समय प्रतिघण्टा १.२० डलर कमाउन भाँडा माझ्ने किशोरले पछि हजारौँ कर्मचारीलाई रोजगारी दिने औद्योगिक कम्पनीको स्वामित्व प्राप्त गरे। एउटा ग्यारेजबाट सुरु भएको बम्पर उत्पादन अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलाको हिस्सा बन्यो। विश्वविद्यालयमा अमेरिकी फुटबल हेर्ने विद्यार्थीले पछि त्यही खेलको व्यावसायिक टोली खरिद गरे।
तर यो यात्रालाई भाग्यको कथा भनेर मात्र बुझ्न मिल्दैन। अवसर पाउनु र अवसरलाई व्यवसायमा बदल्नु फरक कुरा हो। खानले अवसरलाई उत्पादन, लगानी, व्यवस्थापन र बजार विस्तारसँग जोड्न सके।
उनीसँग सुरुमा ठूलो पुँजी थिएन, तर एउटा समस्याको समाधान गर्ने प्राविधिक सोच थियो। त्यही सोचले उनलाई उद्यमी बनायो। उद्यमले पुँजी निर्माण गर्यो र पुँजीले नयाँ क्षेत्रमा लगानी गर्ने ढोका खोल्यो।
आज शाहिद खानको व्यावसायिक पहिचान अटोमोबाइल उद्योग, अमेरिकी फुटबल, बेलायती फुटबल, होटल र मनोरञ्जन क्षेत्रमा फैलिएको छ। उनको यात्रा हेर्दा एउटा सानो उत्पादन सुधारले पनि विश्वव्यापी व्यवसाय निर्माणको आधार दिन सक्ने देखिन्छ।
व्यवसाय सुरु गर्न सधैँ ठूलो आविष्कार वा विशाल पुँजी आवश्यक हुँदैन। कहिलेकाहीँ बजारमा पहिलेदेखि उपलब्ध वस्तुलाई अझ राम्रो, सस्तो र उपयोगी बनाउने सोच नै पर्याप्त सुरुवात हुन सक्छ।
लाहोरबाट ५०० डलर बोकेर अमेरिका पुगेका शाहिद खानले त्यही सोचलाई व्यावसायिक जीवनको आधार बनाए। भाँडा माझ्ने कामबाट सुरु भएको उनको यात्रा आज अर्बौं डलरको लगानी र विश्वव्यापी व्यावसायिक पहिचानसम्म पुगेको छ। उनको कथा सफलताको चमकभन्दा बढी त्यसको पछाडि रहेको उत्पादन, जोखिम, निरन्तरता र निर्णय क्षमताको कथा हो।
