पूर्वी अफ्रिकाको भूपरिवेष्टित देश युगान्डाको इतिहास केवल गरिबीबाट समृद्धितर्फ अघि बढेको एउटा सामान्य आर्थिक कथा होइन।
यो राजनीतिक हिंसा, राज्यको विघटन, आर्थिक संस्थाहरूको पतन, अन्तर्राष्ट्रिय अलगाव र दशकौँको अस्थिरतापछि एउटा देशले आफ्नो अर्थतन्त्र पुनःनिर्माण गर्न गरेको लामो संघर्षको कथा हो।
आज युगान्डा कफी निर्यात, कृषि उत्पादन, पर्यटन, निर्माण, सेवा क्षेत्र र पूर्वाधार विकासका कारण अफ्रिकाका सम्भावनायुक्त अर्थतन्त्रमध्ये एकका रूपमा चिनिन्छ।
एक समय आफ्नै नागरिकलाई रोजगारी दिन नसक्ने, उद्योगहरू बन्द हुने अवस्थामा पुगेको र मुद्रास्फीतिले मुद्रा प्रणाली नै कमजोर बनाएको देश अहिले क्षेत्रीय व्यापार, विदेशी लगानी र औद्योगिकीकरणको नयाँ सम्भावना खोजिरहेको छ।
तर युगान्डाको यो परिवर्तन एकै रातमा भएको होइन। यसको पछाडि राजनीतिक नेतृत्वको परिवर्तन, बजार अर्थतन्त्रतर्फको यात्रा, अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहयोग, कृषि क्षेत्रको पुनरुत्थान र निजी क्षेत्रलाई आर्थिक गतिविधिमा सहभागी गराउने नीतिहरूको लामो शृङ्खला छ।
सन् १९७० को दशकमा देशले भोगेको आर्थिक विनाश र सन् १९८६ पछिको पुनर्निर्माणलाई सँगसँगै राखेर हेर्दा युगान्डाको रूपान्तरण अझ स्पष्ट हुन्छ। विश्व बैंकको ऐतिहासिक अध्ययनले सन् १९८७ देखि २००४ सम्मको अवधिलाई देशको दिगो आर्थिक वृद्धि र पुनरुत्थानको चरणका रूपमा विश्लेषण गरेको छ।
स्वतन्त्रतापछिको सम्भावना र इदी अमिनको शासनले निम्त्याएको विनाश
युगान्डा सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएको थियो। स्वतन्त्रताका बेला देशसँग कृषि उत्पादन, कफी, कपास, चिया र खाद्य वस्तुको राम्रो सम्भावना थियो। औद्योगिक क्षेत्र पनि विस्तार हुँदै थियो।
कृषि उत्पादनमा आधारित उद्योगले आन्तरिक बजारको माग पूरा गर्नुका साथै केही वस्तु निर्यातसमेत गर्न थालेका थिए। यातायात, रेलमार्ग र व्यापारिक सञ्जालको अवस्था पनि क्षेत्रीय तुलनामा कमजोर थिएन।
स्वतन्त्रतापछिका प्रारम्भिक वर्षमा युगान्डाको अर्थतन्त्रले उत्साहजनक प्रगति गरेको थियो। सन् १९६३ देखि १९७३ सम्म कुल गार्हस्थ्य उत्पादनको औसत वार्षिक वृद्धिदर करिब ६ प्रतिशत थियो। विदेशी मुद्रा सञ्चिति, कृषि निर्यात र औद्योगिक गतिविधिले अर्थतन्त्रलाई थप बलियो बनाइरहेका थिए।
तर राजनीतिक अस्थिरताले आर्थिक विकासको त्यो गति धेरै समय टिक्न दिएन। सन् १९७१ मा सेनाका जनरल इदी अमिनले तत्कालीन राष्ट्रपति मिल्टन ओबोटेलाई सत्ताच्युत गर्दै शासन आफ्नो हातमा लिए। त्यसपछि युगान्डा राजनीतिक दमन, हिंसा, आर्थिक अव्यवस्था र अन्तर्राष्ट्रिय अलगावको चक्रमा फस्यो।
अमिनको शासनकालमा राज्यको आर्थिक नीतिमा व्यापक परिवर्तन गरियो। निजी क्षेत्रमाथि सरकारी नियन्त्रण बढाइयो। उद्योग र व्यापारमा संलग्न अनुभवी व्यवसायी तथा प्राविधिक जनशक्तिको ठूलो हिस्सा देशबाट विस्थापित भयो।
विशेषगरी सन् १९७२ मा युगान्डामा बसोबास गर्दै आएका एसियाली मूलका नागरिकलाई देश छाड्न आदेश दिइयो। उनीहरूसँग सम्बन्धित उद्योग, व्यापारिक प्रतिष्ठान र सम्पत्ति सरकारी नियन्त्रणमा लिइयो।
त्यतिबेला एसियाली मूलका समुदायले युगान्डाको व्यापार, उद्योग, बैंकिङ र वितरण प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए। उनीहरूको विस्थापनपछि उद्योग सञ्चालन गर्ने अनुभव, व्यवस्थापकीय क्षमता र व्यापारिक सञ्जालमा ठूलो रिक्तता पैदा भयो।
सरकारी नियन्त्रणमा पुगेका धेरै उद्योग प्रभावकारी रूपमा सञ्चालन हुन सकेनन्। उत्पादन घट्यो, रोजगारीका अवसर खुम्चिए र बजारमा उपभोग्य वस्तुको अभाव देखिन थाल्यो।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऐतिहासिक अध्ययनले सन् १९७० को दशकमा एसियाली समुदायको विस्थापनले उद्योग तथा व्यापार क्षेत्रमा प्राविधिक र व्यवस्थापकीय जनशक्तिको अभाव सिर्जना गरेको उल्लेख गरेको छ।
उत्पादनमूलक क्षेत्रको उपेक्षा, वित्तीय अनुशासनको अभाव र गलत विनिमय नीतिले आर्थिक संकट थप गहिरिएको थियो।
अमिन शासनको अन्त्यतिर युगान्डाको आर्थिक अवस्था अत्यन्त कमजोर भइसकेको थियो। सरकारी खर्च धान्न राजस्व पर्याप्त थिएन। बजेट घाटा बढ्दै जाँदा केन्द्रीय बैंकबाट ऋण लिएर खर्च चलाउने प्रवृत्ति बढ्यो। मुद्रा आपूर्ति विस्तार भयो र मुद्रास्फीति नियन्त्रणबाहिर पुग्न थाल्यो।
विश्व बैंकको अध्ययनअनुसार अमिन शासनको अवधिमा युगान्डाको वास्तविक कुल गार्हस्थ्य उत्पादन करिब २५ प्रतिशतले खुम्चिएको थियो। विशेषगरी औद्योगिक उत्पादन र बजारमा बिक्री हुने कृषि उपजको उत्पादनमा ठूलो गिरावट आएको थियो। अर्थतन्त्रको ठूलो हिस्सा औपचारिक कारोबारबाट हटेर अनौपचारिक तथा निर्वाहमुखी गतिविधिमा सीमित हुन थालेको थियो।
सन् १९७९ मा तान्जानियाली सेना र युगान्डाका विद्रोही समूहको संयुक्त प्रयासबाट अमिन शासनको अन्त्य भयो। तर त्यसपछि पनि देशले राजनीतिक स्थिरता प्राप्त गर्न सकेन। सत्ता परिवर्तन, आन्तरिक द्वन्द्व र कमजोर प्रशासनले आर्थिक पुनर्निर्माणको प्रयासलाई अवरुद्ध गरिरह्यो।
सन् १९८० को निर्वाचनपछि मिल्टन ओबोटे पुनः सत्तामा फर्किए। तर उनको दोस्रो कार्यकाल पनि शान्तिपूर्ण रहेन। सरकार र विद्रोही समूहबीचको संघर्ष चर्कियो। यातायात, विद्युत्, खानेपानी र औद्योगिक पूर्वाधारमा क्षति पुग्यो। उद्योगहरू बन्द भए वा न्यून क्षमतामा सञ्चालन हुन थाले। कृषि क्षेत्र पनि बजारका लागि उत्पादन गर्ने अवस्थाबाट परिवारको दैनिक आवश्यकता पूरा गर्ने निर्वाहमुखी उत्पादनतर्फ फर्कियो।
सन् १९८६ सम्म आइपुग्दा युगान्डाको अर्थतन्त्र पुनःनिर्माण गर्नुपर्ने अवस्थामा पुगेको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोषको ऐतिहासिक विवरणअनुसार त्यस समय वार्षिक मुद्रास्फीति सन् १९८७ मा २४० प्रतिशतसम्म पुगेको थियो। विदेशी मुद्राको अभाव, कमजोर सरकारी राजस्व, घट्दो लगानी र आर्थिक संस्थाको निष्क्रियताले देशलाई गम्भीर संकटमा पुर्याएको थियो।
यो युगान्डाको आर्थिक इतिहासको सबैभन्दा कठिन मोड थियो। राजनीतिक परिवर्तन मात्रै पर्याप्त थिएन। देशलाई उत्पादन, व्यापार, लगानी र वित्तीय प्रणालीमा आमूल परिवर्तन आवश्यक थियो।
सन् १९८६ पछिको नेतृत्व र आर्थिक सुधारको सुरुवात
सन् १९८६ मा योवेरी मुसेभेनी नेतृत्वको नेसनल रेसिस्टेन्स मुभमेन्ट (एनआरएम) सत्तामा आयो। नयाँ सरकारले देशको राजनीतिक तथा आर्थिक पुनर्निर्माणलाई प्राथमिकतामा राख्यो।
मुसेभेनीले सत्ता सम्हाल्दा युगान्डाको आर्थिक आधार कमजोर थियो। उत्पादनमूलक उद्योगहरू बन्द अवस्थामा थिए, सरकारी राजस्व खुम्चिएको थियो र विदेशी लगानीकर्ताको विश्वास गुमेको थियो।
सरकारले सुरुमा राजनीतिक स्थिरता कायम गर्ने, सुरक्षा व्यवस्था सुधार्ने र आर्थिक गतिविधि पुनःसञ्चालन गर्ने नीति अघि सार्यो। त्यसपछि अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र द्विपक्षीय विकास साझेदारसँग सहकार्य गर्दै आर्थिक सुधारको कार्यक्रम सुरु गरियो।
सन् १९८७ मा सरकारले आर्थिक पुनरुत्थान कार्यक्रम (इकोनोमिक रिकभरी प्रोग्राम) कार्यान्वयनमा ल्यायो। यसको मुख्य उद्देश्य मुद्रास्फीति नियन्त्रण, विनिमय दर व्यवस्थापन, सरकारी वित्तीय अनुशासन, व्यापार उदारीकरण र निजी क्षेत्रको पुनर्स्थापना थियो।
यस कार्यक्रमअन्तर्गत सरकारी खर्च व्यवस्थापनमा सुधार, राजस्व संकलन वृद्धि, वित्तीय क्षेत्रको पुनर्संरचना र निजी लगानीको वातावरण निर्माणमा जोड दिइयो। आयात तथा निर्यात प्रक्रियामा रहेका अवरोध हटाउने, विदेशी मुद्राको कारोबारलाई व्यवस्थित गर्ने र व्यापारिक गतिविधिमा सरकारी हस्तक्षेप घटाउने काम अघि बढाइयो।
विश्व बैंकले सन् १९८७ देखि १९९२ सम्म युगान्डाको आर्थिक पुनरुत्थान कार्यक्रमलाई सहयोग गर्न २५ वटा नीतिगत ऋण तथा सहयोग कार्यक्रममार्फत एक अर्ब अमेरिकी डलरभन्दा बढी उपलब्ध गराएको ऐतिहासिक विवरण सार्वजनिक गरेको छ। यस सहयोगको उद्देश्य तत्कालीन आर्थिक संकटबाट बाहिर निकाल्नुका साथै दीर्घकालीन सुधारका लागि आधार तयार गर्नु थियो।
सुधारको प्रारम्भिक परिणाम पनि देखिन थाल्यो। विश्व बैंकको अभिलेखअनुसार सन् १९८८ देखि १९९१ सम्म युगान्डाको औसत वार्षिक आर्थिक वृद्धि ६.३ प्रतिशत पुगेको थियो। त्यही अवधिमा वार्षिक मुद्रास्फीति औसत १९० प्रतिशतबाट घटेर सन् १९९१ मा करिब २८ प्रतिशतमा झरेको थियो। निर्यात, निजी लगानी र सार्वजनिक लगानीमा समेत क्रमिक सुधार देखिन थाल्यो।
युगान्डाको आर्थिक सुधारमा सबैभन्दा महत्त्वपूर्ण परिवर्तन विदेशी विनिमय बजार, कफी कारोबार र वित्तीय प्रणालीमा गरियो। सन् १९९० देखि १९९२ बीच सरकारले समानान्तर विदेशी मुद्रा बजारलाई कानुनी मान्यता दियो, कफी बजार खुला गर्यो र सरकारी वित्तीय अनुशासन कायम गर्ने प्रयास गर्यो।
पहिले विदेशी मुद्रा कारोबारमा सरकारी नियन्त्रण अत्यधिक थियो। आधिकारिक विनिमय दर र अनौपचारिक बजारको दरबीच ठूलो अन्तर थियो।
निर्यातकर्ताले विदेशी मुद्रा प्राप्त गर्न कठिनाइ भोग्थे। यसले निर्यात व्यापारलाई निरुत्साहित गरिरहेको थियो। विदेशी मुद्रा कारोबार खुला भएपछि बजारको वास्तविक अवस्थाअनुसार विनिमय दर निर्धारण हुन थाल्यो। निर्यातकर्तालाई विदेशी मुद्रा कारोबार गर्न सहज भयो र निजी क्षेत्रको व्यावसायिक गतिविधि विस्तार हुन थाल्यो।
सन् १९९० को दशकमा सरकारले सरकारी स्वामित्वका केही उद्योग तथा व्यावसायिक प्रतिष्ठानको निजीकरण पनि अघि बढायो। निजी क्षेत्रलाई उत्पादन, व्यापार र सेवामा थप सक्रिय हुन प्रोत्साहित गरियो। बैंकिङ तथा वित्तीय क्षेत्रमा सुधार गर्दै निजी लगानीकर्ताका लागि अवसर विस्तार गरियो।
अक्सफोर्ड युनिभर्सिटी प्रेसमा प्रकाशित युगान्डाको आर्थिक सुधारसम्बन्धी अध्ययनले सन् १९९० देखि १९९२ सम्मका तीन प्रमुख सुधारलाई अर्थतन्त्रमा स्थायित्व ल्याउने निर्णायक कदमका रूपमा व्याख्या गरेको छ। ती सुधारमा विदेशी विनिमय बजारको उदारीकरण, कफी बजार खुला गर्नु र सरकारी वित्तीय अनुशासन कायम गर्नु समावेश थिए।
तर आर्थिक सुधारको यो प्रक्रिया विवादरहित थिएन। सरकारी संस्थानको निजीकरण, सार्वजनिक खर्च कटौती र बजार उदारीकरणले केही क्षेत्रमा रोजगारी तथा सेवामा दबाब सिर्जना गर्यो। अन्तर्राष्ट्रिय सहयोगमा निर्भरता पनि बढ्यो। त्यसैले युगान्डाको आर्थिक पुनरुत्थानलाई केवल सफल सुधारको कथा भनेर मात्र बुझ्नु पर्याप्त हुँदैन। यसको पछाडि अवसरसँगै सामाजिक लागत र नीतिगत बहस पनि जोडिएका छन्।
कफी उद्योग : आर्थिक पुनरुत्थानको पहिलो इन्जिन
युगान्डाको आर्थिक पुनरुत्थानमा कृषि क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रह्यो। विशेषगरी कफी उद्योगले देशलाई विदेशी मुद्रा आर्जन गर्ने बलियो आधार प्रदान गर्यो। लामो समयदेखि युगान्डाको प्रमुख निर्यात वस्तुका रूपमा रहेको कफी राजनीतिक अस्थिरता र सरकारी हस्तक्षेपका कारण कमजोर बनेको थियो। नयाँ सरकारले यसलाई पुनः प्रतिस्पर्धी बनाउने रणनीति अघि सार्यो।
कफी उत्पादन युगान्डाका लाखौँ किसानको जीविकोपार्जनसँग जोडिएको छ। साना किसानले आफ्नो खेतबारीमा कफी उत्पादन गर्छन् र स्थानीय व्यापारी, प्रशोधनकर्ता तथा निर्यातकर्तामार्फत अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउँछन्। यसले ग्रामीण क्षेत्रमा आम्दानी सिर्जना गर्नुका साथै कृषि श्रम, ढुवानी, प्रशोधन र व्यापारमा रोजगारीको अवसर विस्तार गरेको छ।
सन् १९९० को दशकको प्रारम्भमा सरकारले कफी बजार उदारीकरण गर्यो। यसअघि कफीको खरिद, बिक्री र निर्यात प्रक्रियामा सरकारी संस्थाको नियन्त्रण थियो। न्यूनतम मूल्य निर्धारण, निर्यात कर र बजार प्रवेशमा रहेका विभिन्न अवरोध हटाइए। निजी व्यापारी तथा निर्यातकर्तालाई बजारमा प्रवेश गर्न दिइयो। किसानले आफ्नो उत्पादन बिक्री गर्न थप विकल्प पाए।
यसले कफी उत्पादन र निर्यातमा निजी क्षेत्रको सहभागिता बढायो। अन्तर्राष्ट्रिय बजारको मागअनुसार उत्पादन, गुणस्तर र कारोबार व्यवस्थापन गर्न व्यवसायीलाई सहज भयो। सन् १९९४/९५ को अन्तर्राष्ट्रिय कफी मूल्य वृद्धिले पनि युगान्डाको निर्यात आम्दानी बढाउन सहयोग पुर्यायो। कफीको आम्दानीले ग्रामीण अर्थतन्त्रमा नगद प्रवाह बढायो र समग्र आर्थिक वृद्धिलाई बलियो बनायो।
कफी उद्योगलाई केवल कृषि उत्पादनको रूपमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय व्यापारसँग जोड्ने रणनीतिले युगान्डालाई अफ्रिकाको प्रमुख कफी निर्यातक देशमध्ये स्थापित गर्यो।
रोबस्टा र अरेबिका दुवै प्रकारको कफी उत्पादन हुने युगान्डाले युरोप, एसिया, अफ्रिका र अन्य बजारमा आफ्नो उपस्थिति विस्तार गर्यो।
यसको परिणाम पछिल्ला वर्षका निर्यात तथ्याङ्कमा देखिन्छ। युगान्डाको कृषि, पशुपालन तथा मत्स्य मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२४/२५ मा देशले ७९ लाख ३० हजार बोरा कफी निर्यात गरेको थियो। यसको कुल मूल्य २ अर्ब २४ करोड अमेरिकी डलर पुगेको थियो। अघिल्लो वर्षको तुलनामा निर्यात आम्दानी ५८.७ प्रतिशतले बढेको थियो भने निर्यात परिमाण १७.९ प्रतिशतले वृद्धि भएको थियो।
यो उपलब्धि युगान्डाको कृषि निर्यात क्षमताको महत्त्वपूर्ण उदाहरण हो। सन् १९८० को दशकमा राजनीतिक अस्थिरता र कमजोर व्यवस्थापनका कारण प्रभावित भएको कफी क्षेत्रले अहिले देशको विदेशी मुद्रा आर्जनमा प्रमुख योगदान दिइरहेको छ।
कफीको सफलताले युगान्डालाई एउटा अर्को आर्थिक पाठ पनि दिएको छ। प्राकृतिक स्रोत र कृषि उत्पादन मात्रै पर्याप्त हुँदैनन्। उत्पादनलाई बजारसँग जोड्ने नीति, प्रतिस्पर्धी मूल्य, निजी क्षेत्रको सहभागिता, गुणस्तर नियन्त्रण र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच आवश्यक हुन्छ।
तर कफी निर्यातमा वृद्धि भए पनि किसानले पाउने आम्दानी र अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने अन्तिम उत्पादनको मूल्यबीच ठूलो अन्तर रहन सक्छ। कच्चा कफी निर्यातमा निर्भर रहँदा प्रशोधन, प्याकेजिङ र ब्रान्डिङबाट प्राप्त हुन सक्ने अतिरिक्त आम्दानी देशभित्रै राख्न कठिन हुन्छ। त्यसैले अहिले युगान्डाले कफीको उत्पादन मात्र बढाउने होइन, प्रशोधन र मूल्य अभिवृद्धिमा समेत जोड दिइरहेको छ।
कृषि अर्थतन्त्रबाट औद्योगिकीकरणतर्फ
युगान्डाको अर्थतन्त्रको अर्को महत्त्वपूर्ण आधार कृषि हो। देशको भौगोलिक बनावट, उर्वर भूमि र अनुकूल मौसमले विभिन्न प्रकारका कृषि उत्पादनका लागि अवसर सिर्जना गरेको छ। कफीबाहेक चिया, मकै, कपास, कोको, उखु, माछा, फलफूल, दाल र अन्य खाद्य वस्तुको उत्पादन पनि अर्थतन्त्रमा महत्त्वपूर्ण छन्।
कृषिलाई उत्पादन र रोजगारीको आधार बनाएको युगान्डाले पछिल्ला वर्षमा कृषि उत्पादनलाई उद्योगसँग जोड्ने रणनीति अघि सारेको छ। यसको उद्देश्य किसानले उत्पादन गरेको वस्तु कच्चा रूपमा बिक्री गर्ने अवस्थाबाट प्रशोधन, प्याकेजिङ र तयारी वस्तु उत्पादनसम्म पुर्याउनु हो।
अमेरिकी वाणिज्य विभागको सन् २०२५ को कृषि क्षेत्रसम्बन्धी विवरणअनुसार युगान्डाको कुल भूभागको करिब ८० प्रतिशत खेतीयोग्य सम्भावना भएको क्षेत्र मानिन्छ। तर त्यसमध्ये करिब ३५ प्रतिशत मात्रै खेतीमा प्रयोग भइरहेको छ। यसले कृषि विस्तार र उत्पादकत्व वृद्धिका लागि ठूलो सम्भावना बाँकी रहेको देखाउँछ।
आर्थिक वर्ष २०२४/२५ मा कृषि क्षेत्रले युगान्डाको कुल गार्हस्थ्य उत्पादनमा करिब २६.५ प्रतिशत योगदान दिएको थियो। कुल निर्यात आम्दानीको करिब ३६ प्रतिशत कृषि क्षेत्रबाट आएको थियो।
रोजगारीका हिसाबले पनि कृषि अर्थतन्त्रको प्रमुख आधार बनेको छ।
सरकारले कृषि उत्पादनलाई व्यावसायिक बनाउन कृषि यान्त्रीकरण, उन्नत बीउ, मल, सिँचाइ, भण्डारण, प्रशोधन र बजार पहुँच विस्तारमा जोड दिएको छ। साना किसानलाई उत्पादनसँगै बजार व्यवस्थापन र वित्तीय सेवामा पहुँच पुर्याउने प्रयास पनि अघि बढाइएको छ।
कृषि क्षेत्रको व्यावसायीकरणका लागि खाद्य प्रशोधन उद्योग, चिस्यान केन्द्र, प्याकेजिङ उद्योग र कृषि उत्पादन ढुवानीको पूर्वाधार विस्तार महत्त्वपूर्ण मानिएको छ। कृषि उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्न र अन्तर्राष्ट्रिय बजारमा गुणस्तर कायम गर्न यी पूर्वाधार आवश्यक हुन्छन्।
युगान्डाको कृषि क्षेत्रले निर्यात विविधीकरणमा समेत योगदान पुर्याएको छ। कफीबाहेक मकै, कोको, माछा, सिमी, चिया र अन्य कृषि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान बनाउन थालेका छन्। यसले एउटै वस्तुमा निर्भर रहने जोखिम कम गर्न सहयोग गरेको छ।
विश्व बैंकको ऐतिहासिक अध्ययनअनुसार सन् १९९२ देखि २००३ सम्म युगान्डाले औसत ६.४ प्रतिशतको वार्षिक वास्तविक आर्थिक वृद्धि हासिल गरेको थियो। यस अवधिमा निर्यात कर हटाउने, व्यापार उदारीकरण गर्ने र गैरपरम्परागत वस्तुको निर्यात बढाउने नीतिले आर्थिक वृद्धिलाई सहयोग पुर्याएको थियो।

अल्बर्ट ताल क्षेत्रको तेल विकास
तर कृषि क्षेत्रको विकासमा अझै धेरै चुनौती छन्। अधिकांश किसान सानो आकारको जमिनमा निर्भर छन्। आधुनिक उपकरण, गुणस्तरीय बीउ, मल, सिँचाइ र कृषि ऋणमा पहुँच सीमित छ। जलवायु परिवर्तनका कारण खडेरी, बाढी र रोगकिराको जोखिम बढिरहेको छ। उत्पादन बढे पनि बजार मूल्यमा उतारचढाव हुँदा किसानको आम्दानी स्थिर रहन सकेको छैन।
विश्व बैंकको सन् २०२६ को कृषि औद्योगिकीकरणसम्बन्धी प्रतिवेदनले युगान्डाको कृषि क्षेत्रलाई औद्योगिक विकाससँग जोड्न अझै ठूलो सुधार आवश्यक रहेको औँल्याएको छ। कृषि उत्पादनको आधार कमजोर हुनु, वित्तीय पहुँच सीमित रहनु, कमजोर पूर्वाधार र जलवायु जोखिम यस क्षेत्रका प्रमुख अवरोधका रूपमा उल्लेख गरिएका छन्।
त्यसैले युगान्डाको आगामी आर्थिक यात्रामा कृषि उत्पादन बढाउनु मात्र पर्याप्त हुने छैन। किसानको आम्दानी बढाउने, प्रशोधन उद्योग विस्तार गर्ने, अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्ने र कृषि उत्पादनलाई विश्वव्यापी आपूर्ति शृङ्खलामा जोड्ने चुनौती महत्त्वपूर्ण रहनेछ।
निजी लगानी, व्यापार र विदेशी पुँजीको विस्तार
युगान्डाको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रको भूमिका अर्को निर्णायक पक्ष हो। सन् १९८० को दशकसम्म सरकारी नियन्त्रण र राजनीतिक अस्थिरताका कारण निजी व्यवसायीले लगानी विस्तार गर्न सकेका थिएनन्। उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ, विदेशी मुद्रा, ऊर्जा र बजारको सुनिश्चितता थिएन।
आर्थिक सुधारपछि सरकारले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा अघि सार्यो। निजीकरण, बजार उदारीकरण, विदेशी लगानी प्रोत्साहन र वित्तीय क्षेत्र सुधारमार्फत व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्ने प्रयास गरियो।
यसको परिणाम उद्योग, व्यापार, बैंकिङ, दूरसञ्चार, निर्माण, पर्यटन र सेवा क्षेत्रमा देखिन थाल्यो। स्थानीय व्यवसायीका साथै विदेशी लगानीकर्ताले पनि युगान्डामा अवसर खोज्न थाले। क्षेत्रीय व्यापारको विस्तारले देशलाई पूर्वी अफ्रिकाको बजारसँग जोड्ने काम गर्यो।
युगान्डाको भौगोलिक अवस्थाले पनि व्यापारिक अवसर सिर्जना गरेको छ। समुद्री बन्दरगाह नभए पनि केन्या र तान्जानियाका बन्दरगाहमार्फत अन्तर्राष्ट्रिय व्यापार सञ्चालन हुन्छ। पूर्वी अफ्रिकी समुदायको सदस्य भएकाले क्षेत्रीय बजारमा वस्तु तथा सेवाको कारोबारका लागि अवसर उपलब्ध छ।
उद्योग तथा निर्माण क्षेत्रमा लगानी विस्तार हुँदा सडक, विद्युत्, आवास, व्यापारिक भवन र औद्योगिक संरचनाको माग बढेको छ। राजधानी कम्पाला र अन्य सहरी क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुँदै गएको छ। बैंकिङ, बीमा, दूरसञ्चार र डिजिटल वित्तीय सेवाले पनि व्यवसाय सञ्चालनलाई सहज बनाएका छन्।
विदेशी लगानीको आकर्षणमा युगान्डाको प्राकृतिक स्रोत, कृषि सम्भावना, युवा जनसंख्या र क्षेत्रीय बजारको पहुँच महत्त्वपूर्ण छन्। खनिज, ऊर्जा, पर्यटन, कृषि प्रशोधन र पूर्वाधारमा लगानीका अवसर खोजिएका छन्।
सरकारले सन् २०४० सम्म अर्थतन्त्रलाई दस गुणासम्म विस्तार गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य अघि सारेको छ। यसका लागि कृषि, औद्योगिकीकरण, पर्यटन, खनिजमा आधारित उद्योग, सूचना प्रविधि, वित्तीय सेवा र अर्थतन्त्रको औपचारिक विस्तारलाई प्राथमिकता दिइएको छ।
विश्व बैंकले पनि यी क्षेत्रलाई युगान्डाको प्रतिस्पर्धात्मक क्षमता बढाउन सक्ने सम्भावित क्षेत्रका रूपमा उल्लेख गरेको छ।
यद्यपि निजी लगानीको विस्तारमा वित्तीय लागत, विद्युत् आपूर्ति, प्रशासनिक जटिलता, पूर्वाधारको गुणस्तर र नीतिगत स्थिरता चुनौतीका रूपमा रहेका छन्। लगानीकर्ताले दीर्घकालीन योजना बनाउन सक्ने वातावरण निर्माण गर्नु आर्थिक रूपान्तरणका लागि आवश्यक छ।
निजी क्षेत्र विस्तार हुँदैमा सबै नागरिकले समान रूपमा लाभ पाउँछन् भन्ने हुँदैन। औपचारिक रोजगारीको सिर्जना, श्रम उत्पादकत्व वृद्धि र साना व्यवसायलाई वित्तीय पहुँच उपलब्ध गराउनु अझै महत्त्वपूर्ण छ। युगान्डाको आर्थिक सफलताको वास्तविक मापन कुल गार्हस्थ्य उत्पादनको वृद्धिभन्दा पनि नागरिकको जीवनस्तरमा आएको परिवर्तनबाट गर्नुपर्ने हुन्छ।
गरिबी न्यूनीकरण र सामाजिक विकासको प्रयास
आर्थिक पुनरुत्थानको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि गरिबी न्यूनीकरणमा देखिएको परिवर्तन हो। सन् १९८० को दशकमा राजनीतिक हिंसा र आर्थिक विनाशबाट गुज्रिएको युगान्डाले पछिल्ला दशकमा स्वास्थ्य, शिक्षा, पूर्वाधार र आम्दानीका क्षेत्रमा सुधार गर्ने प्रयास गरेको छ।
सन् १९९० को दशकदेखि सरकारले आर्थिक वृद्धिको लाभ गरिब समुदायसम्म पुर्याउने उद्देश्यले गरिबी न्यूनीकरणलाई विकास नीतिको महत्त्वपूर्ण हिस्सा बनायो। सन् १९९७ मा गरिबी उन्मूलन कार्ययोजना (पोभर्टी इरेडिकेसन एक्सन प्लान) सुरु गरियो। यसले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ र ग्रामीण पूर्वाधारमा सार्वजनिक लगानी बढाउने लक्ष्य राखेको थियो।
यस योजनाले सरकारी बजेट र अन्तर्राष्ट्रिय विकास सहयोगलाई गरिबी न्यूनीकरणका कार्यक्रमसँग जोड्ने प्रयास गर्यो। शिक्षा र स्वास्थ्य सेवाको विस्तार, ग्रामीण सडक निर्माण तथा कृषि क्षेत्रमा सहयोगलाई प्राथमिकता दिइयो।
आईएमएफको ऐतिहासिक तथ्याङ्कअनुसार युगान्डामा राष्ट्रिय गरिबी दर सन् १९९२ मा ५६ प्रतिशत रहेकोमा सन् २००० मा ३४ प्रतिशतमा झरेको थियो। सन् २००५/०६ सम्म आइपुग्दा यो दर ३१.५ प्रतिशतमा झरेको अनुमान गरिएको थियो। आर्थिक वृद्धिसँगै कफीको मूल्यमा भएको सुधार र कृषि आम्दानीको वृद्धिले यसमा योगदान पुर्याएको थियो।
शिक्षा क्षेत्रमा पनि विस्तार भयो। विद्यालयमा बालबालिकाको पहुँच बढाउने नीतिले मानव पुँजी विकासको आधार तयार गर्यो। स्वास्थ्य सेवाको पहुँच विस्तार र ग्रामीण क्षेत्रमा आधारभूत पूर्वाधार निर्माणले सामाजिक विकासलाई सहयोग पुर्यायो।
तर आर्थिक वृद्धिको लाभ सबै क्षेत्रमा समान रूपमा पुगेको छैन। ग्रामीण तथा सहरी क्षेत्रबीच आम्दानीको अन्तर कायम छ। उत्तरी युगान्डामा लामो समयसम्म द्वन्द्व र अस्थिरताका कारण विकासको गति अन्य क्षेत्रको तुलनामा कमजोर रह्यो।
संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास सम्मेलन (अंकटाड) को सन् २०२६ को अध्ययनअनुसार युगान्डाको राष्ट्रिय गरिबी दर सन् २०१९/२० मा २०.३ प्रतिशत रहेकोमा सन् २०२३/२४ मा १६.१ प्रतिशतमा झरेको छ। यस अवधिमा असमानता मापन गर्ने गिनी सूचकाङ्क पनि ०.४१३ बाट ०.३८२ मा घटेको छ।
तर यही अध्ययनले युगान्डाको ५३.१ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा रहेको देखाएको छ। यसको अर्थ आम्दानीको अभाव मात्रै होइन, शिक्षा, स्वास्थ्य र जीवनस्तरका विभिन्न पक्षमा पनि ठूलो जनसंख्या वञ्चित छ। ग्रामीण क्षेत्रमा गरिबीको दर १९.४ प्रतिशत हुँदा सहरी क्षेत्रमा १०.३ प्रतिशत रहेको छ।
यो तथ्यले युगान्डाको आर्थिक पुनरुत्थान अझै अधुरो रहेको देखाउँछ। आर्थिक वृद्धिदर उच्च भए पनि त्यसको लाभ सबै नागरिकसम्म समान रूपमा पुर्याउन सकिएको छैन। विशेषगरी कृषि क्षेत्रमा निर्भर ग्रामीण परिवार, महिला श्रमिक र युवा जनसंख्याका लागि पर्याप्त रोजगारी तथा आम्दानी सिर्जना गर्नु चुनौती बनेको छ।
युगान्डाको जनसंख्या पनि तीव्र गतिमा बढिरहेको छ। ठूलो युवा जनसंख्या देशका लागि श्रमशक्ति र बजार विस्तारको अवसर हो। तर पर्याप्त रोजगारी सिर्जना गर्न नसकिए यही जनसंख्या आर्थिक तथा सामाजिक दबाबको कारण बन्न सक्छ।
युगान्डा तथ्याङ्क विभागका अनुसार सन् २०२५ मा १५ वर्षमाथिको बेरोजगारी दर १२.२ प्रतिशत थियो। १५ देखि २४ वर्ष उमेर समूहमा बेरोजगारी दर १७.९ प्रतिशत पुगेको थियो। अझ चिन्ताजनक पक्ष, १५ देखि २४ वर्षका ४२.६ प्रतिशत युवा रोजगारी, शिक्षा वा तालिममध्ये कुनै पनि गतिविधिमा संलग्न थिएनन्।
पर्यटन, पूर्वाधार र तेलको नयाँ सम्भावना
युगान्डाले कृषि र कफी निर्यातसँगै पर्यटनलाई पनि आर्थिक विकासको महत्त्वपूर्ण आधार बनाएको छ। प्राकृतिक सौन्दर्य, वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, ताल, नदी र पहाडी क्षेत्रले देशलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गरेका छन्।
विशेषगरी गोरिल्ला ट्रेकिङ, सफारी, वन्यजन्तु अवलोकन र प्राकृतिक पर्यटन युगान्डाको पर्यटन उद्योगका प्रमुख आकर्षण हुन्। ब्विन्डी इम्पेनेट्रेबल राष्ट्रिय निकुञ्जमा पाइने पहाडी गोरिल्ला विश्व पर्यटन बजारमा युगान्डाको पहिचान बनेका छन्। क्विन एलिजाबेथ राष्ट्रिय निकुञ्ज, मर्चिसन फल्स र भिक्टोरिया ताल क्षेत्रले पनि पर्यटक आकर्षित गर्छन्।
पर्यटनले होटल, रेस्टुरेन्ट, यातायात, गाइड सेवा, हस्तकला र स्थानीय व्यवसायलाई आम्दानीको अवसर दिएको छ। यसले ग्रामीण क्षेत्रसम्म आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुर्याएको छ।
युगान्डाको पर्यटन मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२१ मा ५ लाख १२ हजार ९४५ पर्यटक देश पुगेका थिए। सन् २०२२ मा यो संख्या ८ लाख १४ हजार ५०८ पुगेको थियो। सन् २०२३ मा १२ लाख ७४ हजार २१० र सन् २०२४ मा १३ लाख ७१ हजार ८९५ पुगेको थियो।
सन् २०२५ मा पर्यटक आगमन बढेर १६ लाख ४२ हजार २१५ पुगेको छ। यस वर्ष पर्यटन क्षेत्रबाट १ अर्ब ६२ करोड अमेरिकी डलर आम्दानी भएको सरकारी तथ्याङ्क छ। सन् २०२४ मा यस क्षेत्रले प्रत्यक्ष रूपमा ८ लाख ७६ हजार ५१२ रोजगारी सिर्जना गरेको विवरण छ।
पर्यटनको विस्तारले युगान्डाको सेवा अर्थतन्त्रलाई बलियो बनाएको छ। तर यस क्षेत्रमा पनि पूर्वाधार, अन्तर्राष्ट्रिय हवाई सम्पर्क, सेवा गुणस्तर, सुरक्षा र वातावरण संरक्षण महत्त्वपूर्ण चुनौती छन्।
यसका अतिरिक्त युगान्डाले पछिल्ला वर्षमा पेट्रोलियम क्षेत्रलाई आर्थिक रूपान्तरणको नयाँ आधार बनाउने तयारी गरेको छ। अल्बर्ट ताल क्षेत्रमा तेलको ठूलो भण्डार भेटिएपछि देशले ऊर्जा उत्पादन र निर्यातको सम्भावना खोज्न थालेको हो।
युगान्डाको तेल विकास परियोजनामा टिलेन्गा र किङफिसर प्रमुख छन्। यी परियोजनामा फ्रान्सेली कम्पनी टोटल इनर्जिज, चीनको सीएनओओसी र युगान्डाको राष्ट्रिय तेल कम्पनी सहभागी छन्।
तेल उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन युगान्डा र तान्जानियाबीच पूर्वी अफ्रिकी कच्चा तेल पाइपलाइन (ईएसीओपी) निर्माण भइरहेको छ। करिब १ हजार ४४७ किलोमिटर लामो यो पाइपलाइन युगान्डाको होइमा क्षेत्रबाट सुरु भएर तान्जानियाको टाङ्गा बन्दरगाहसम्म पुग्नेछ।
आयोजनाको अनुमानित निर्माण लागत करिब ४ अर्ब अमेरिकी डलर रहेको परियोजनाको आधिकारिक विवरणमा उल्लेख छ। यसले युगान्डाको तेललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने मार्ग तयार गर्नेछ।
टिलेन्गा र किङफिसर परियोजनाबाट पूर्ण क्षमतामा दैनिक करिब २ लाख ३० हजार ब्यारेल तेल उत्पादन गर्ने लक्ष्य राखिएको छ। यी परियोजनाबाट कम्तीमा २० वर्षसम्म उत्पादन गर्ने योजना छ।
तेल उत्पादन सुरु भएपछि युगान्डाले विदेशी मुद्रा आम्दानी, सरकारी राजस्व, पूर्वाधार विकास र औद्योगिक विस्तारमा थप अवसर प्राप्त गर्न सक्छ। ऊर्जा क्षेत्रमा ठूलो लगानी भित्रिँदा निर्माण, यातायात, इन्जिनियरिङ, सेवा र स्थानीय आपूर्तिकर्ताका लागि पनि व्यवसायिक अवसर सिर्जना हुन सक्छन्।
तर तेललाई आर्थिक समृद्धिको एकमात्र आधार बनाउनु जोखिमपूर्ण हुन सक्छ। प्राकृतिक स्रोतको आम्दानीमा निर्भर अर्थतन्त्रमा मूल्य उतारचढाव, भ्रष्टाचार, सार्वजनिक खर्चको कमजोर व्यवस्थापन र वातावरणीय क्षतिको जोखिम रहन्छ। त्यसैले तेलबाट प्राप्त आम्दानीलाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र उत्पादनमूलक उद्योगमा लगानी गर्नु आवश्यक हुनेछ।
विश्व बैंकले सन् २०२६ मा सार्वजनिक गरेको युगान्डाको आर्थिक विवरणले तेल उत्पादन सुरु हुने सम्भावनालाई आर्थिक वृद्धिको महत्त्वपूर्ण आधार मानेको छ। तर तीव्र आर्थिक विस्तारका लागि तेलबाहेक कृषि उत्पादकत्व, निजी लगानी, औद्योगिकीकरण र मानव पुँजीमा सुधार आवश्यक रहेको पनि औँल्याएको छ।
ऋण, असमानता र राजनीतिक चुनौती
युगान्डाको आर्थिक पुनरुत्थानलाई सफलताको कथाका रूपमा प्रस्तुत गर्दा यसले सामना गरिरहेका चुनौतीलाई बेवास्ता गर्न मिल्दैन। राजनीतिक स्थिरता र आर्थिक सुधारले वृद्धि हासिल गर्न सहयोग गरे पनि लोकतान्त्रिक संस्थाको अवस्था, सार्वजनिक जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण र आय वितरणको प्रश्न अझै महत्त्वपूर्ण छन्।
राष्ट्रपति योवेरी मुसेभेनी सन् १९८६ देखि निरन्तर सत्तामा छन्। लामो राजनीतिक निरन्तरताले आर्थिक नीति कार्यान्वयनमा केही स्थायित्व दिएको भए पनि सत्ता केन्द्रीकरण, राजनीतिक प्रतिस्पर्धा र नागरिक स्वतन्त्रतासम्बन्धी बहस निरन्तर चलिरहेको छ।
अर्थतन्त्रको विस्तारसँगै सरकारी ऋणको भार पनि बढिरहेको छ। विकास पूर्वाधार, ऊर्जा, सडक र अन्य ठूला आयोजनामा लगानी गर्न सरकारले आन्तरिक तथा बाह्य स्रोतबाट ऋण लिएको छ। तर राजस्वको तुलनामा ऋणको साँवा तथा ब्याज भुक्तानी बढ्दै जाँदा विकास खर्चका लागि उपलब्ध स्रोतमा दबाब परेको छ।
आईएमएफको जुलाई २०२६ को मूल्याङ्कनअनुसार युगान्डाको सार्वजनिक ऋण आर्थिक वर्ष २०२५/२६ मा कुल गार्हस्थ्य उत्पादनको करिब ५५.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
त्यस्तै, सोही आर्थिक वर्षमा बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
आईएमएफले सरकारी खर्च व्यवस्थापन, राजस्व संकलन वृद्धि र वित्तीय अनुशासन सुधार गर्न सुझाव दिएको छ। विशेषगरी ऋणको ब्याज भुक्तानी बढ्दा शिक्षा, स्वास्थ्य र अन्य प्राथमिकताका क्षेत्रमा लगानी गर्ने सरकारी क्षमतामा दबाब पर्ने जोखिम औँल्याइएको छ।
अर्कोतर्फ, कृषि क्षेत्रमा ठूलो जनसंख्या संलग्न भए पनि उत्पादनशीलता अपेक्षाकृत कमजोर छ। ग्रामीण क्षेत्रमा वित्तीय सेवा, आधुनिक प्रविधि र बजार पहुँच विस्तार गर्नुपर्ने आवश्यकता छ। औद्योगिकीकरणको गति बढाउन ऊर्जा, यातायात र सीपयुक्त श्रमशक्तिमा थप लगानी आवश्यक छ।
सन् २०२४ मा युगान्डाले संयुक्त राष्ट्रसङ्घको अतिकम विकसित देश (एलडीसी) सूचीबाट स्तरोन्नतिका लागि आवश्यक मापदण्ड पहिलोपटक पूरा गरेको थियो। तर यसको अर्थ देश तत्काल उक्त सूचीबाट बाहिरिसकेको भन्ने होइन। संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिले सन् २०२७ मा पुनः मूल्याङ्कन गर्नेछ। त्यसपछि आवश्यक प्रक्रिया पूरा भएमा मात्र स्तरोन्नतिको सिफारिस हुन सक्छ।
यो उपलब्धि युगान्डाको आर्थिक तथा सामाजिक विकासमा आएको दीर्घकालीन परिवर्तनको संकेत हो। तर स्तरोन्नतिको मापदण्ड पूरा गर्नु र नागरिकको जीवनस्तरमा व्यापक सुधार हुनु फरक विषय हुन्। गरिबी, शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक असमानताका चुनौती समाधान गर्न अझै धेरै काम गर्नुपर्ने देखिन्छ।
विनाशबाट पुनरुत्थानको यात्रा र बाँकी पाठ
युगान्डाको आर्थिक इतिहासले एउटा महत्त्वपूर्ण तथ्य स्थापित गरेको छ। राजनीतिक हिंसा, संस्थागत विघटन र आर्थिक विनाशबाट गुज्रिएको देशले पनि सही नीतिगत दिशा, उत्पादनमूलक क्षेत्रको पुनर्स्थापना, निजी क्षेत्रको सहभागिता र अन्तर्राष्ट्रिय सहकार्यबाट आर्थिक पुनरुत्थानको आधार तयार गर्न सक्छ।
सन् १९७० र १९८० को दशकमा युगान्डाले भोगेको संकट सामान्य आर्थिक मन्दी थिएन। उद्योग बन्द भएका थिए, व्यापारिक सञ्जाल ध्वस्त भएको थियो, विदेशी मुद्रा अभाव थियो र सरकारी वित्तीय प्रणाली कमजोर बनेको थियो। त्यस्तो अवस्थामा आर्थिक पुनर्निर्माणका लागि राज्यका संस्थाहरूलाई पुनःसक्रिय बनाउनु र निजी क्षेत्रको विश्वास फर्काउनु आवश्यक थियो।
सन् १९८७ पछिका सुधारले यही आधार तयार गरे। विदेशी विनिमय बजार खुला गरियो, कफी कारोबारमा निजी क्षेत्रलाई प्रवेश दिइयो, व्यापार उदारीकरण गरियो र सार्वजनिक वित्त व्यवस्थापन सुधार गर्ने प्रयास गरियो। कृषि निर्यात, पर्यटन, निर्माण र सेवाक्षेत्रको विस्तारले आर्थिक गतिविधिलाई थप विविध बनायो।
यस प्रक्रियामा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अन्य विकास साझेदारको सहयोग महत्त्वपूर्ण रह्यो। सन् १९९८ मा युगान्डाले ऋण राहत कार्यक्रमअन्तर्गत करिब ६५ करोड अमेरिकी डलरको ऋण राहत प्राप्त गर्ने निर्णय भएको थियो।
सन् २००० मा विस्तारित ऋण राहत कार्यक्रमअन्तर्गत थप राहत स्वीकृत भयो। दुवै कार्यक्रमबाट प्राप्त हुने कुल ऋण सेवा राहत करिब २ अर्ब अमेरिकी डलर पुग्ने आईएमएफको विवरण छ।
युगान्डाको आर्थिक पुनरुत्थानको अर्को पक्ष कृषि र निर्यातको महत्त्व हो। देशले आफ्नो परम्परागत कृषि उत्पादनलाई बजारसँग जोड्यो। कफीलाई अन्तर्राष्ट्रिय व्यापारको प्रमुख वस्तु बनायो। त्यसपछि पर्यटन, खनिज, निर्माण र ऊर्जा क्षेत्रमा नयाँ अवसर खोज्यो।
तर यो यात्रा पूर्ण सफलताको अन्तिम बिन्दुमा पुगेको छैन। आर्थिक वृद्धिको लाभ सबै नागरिकसम्म पुगेको छैन। युवाका लागि पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन। कृषि उत्पादकत्व, औद्योगिक क्षमता, सार्वजनिक ऋण र संस्थागत सुशासनका चुनौती कायम छन्।
विश्व बैंकको सन् २०२५ को आर्थिक मूल्याङ्कनले युगान्डाको आर्थिक वृद्धिलाई बलियो माने पनि कृषि औद्योगिकीकरणमा अपेक्षित प्रगति हुन नसकेको औँल्याएको थियो। सन् २०२४/२५ मा अर्थतन्त्रको वास्तविक वृद्धिदर ६.३ प्रतिशत पुगेको थियो। सन् २०२५/२६ मा पनि वृद्धिदर करिब ६.४ प्रतिशत रहने विश्व बैंकको पछिल्लो अनुमान छ।
युगान्डाको उदाहरणले आर्थिक रूपान्तरणका लागि प्राकृतिक स्रोत वा विदेशी सहयोग मात्रै पर्याप्त हुँदैन भन्ने देखाउँछ। आर्थिक संस्थाको पुनर्निर्माण, बजारमा प्रतिस्पर्धा, निजी क्षेत्रको सहभागिता, उत्पादनशील कृषि, निर्यात विविधीकरण र सामाजिक क्षेत्रमा लगानी आवश्यक हुन्छ।
राजनीतिक स्थिरता पनि आर्थिक विकासको महत्त्वपूर्ण आधार हो। तर स्थिरता दीर्घकालीन विकासमा रूपान्तरण हुन संस्थागत जवाफदेहिता, पारदर्शिता र नागरिकको सहभागिता सुनिश्चित हुनु आवश्यक हुन्छ।
युगान्डाको अनुभव नेपालजस्ता विकासशील देशका लागि पनि अध्ययनयोग्य छ। नेपाल र युगान्डाको भौगोलिक अवस्था, जनसंख्या, राजनीतिक इतिहास र आर्थिक संरचना समान छैनन्।
तर कृषि उत्पादनलाई निर्यातसँग जोड्ने, निजी लगानीको वातावरण सुधार्ने, पर्यटनको सम्भावना उपयोग गर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने विषयमा दुवै देशका लागि साझा सिकाइ छन्।
युगान्डाले युद्ध र राजनीतिक हिंसाबाट ध्वस्त भएको अर्थतन्त्रलाई पुनःनिर्माण गर्न दशकौँ खर्च गर्यो। आज पनि त्यहाँ गरिबी, बेरोजगारी र असमानता कायम छन्। तर सन् १९८० को दशकको आर्थिक विनाशबाट बाहिर निस्केर निरन्तर वृद्धि हासिल गर्ने आधार तयार गर्नु आफैँमा महत्त्वपूर्ण परिवर्तन हो।
एउटा समय थियो, जब युगान्डाको उद्योग बन्द थियो, कृषि बजार धराशायी थियो र राज्यको वित्तीय प्रणाली संकटमा थियो। अहिले त्यही देश कफी निर्यात, पर्यटन, कृषि प्रशोधन, औद्योगिकीकरण र तेल उत्पादनको सम्भावनामार्फत आर्थिक भविष्य खोजिरहेको छ।
युगान्डाको यात्रा त्यसैले केवल गृहयुद्धपछि उठेको देशको कथा होइन, आर्थिक विनाशपछि उत्पादन, बजार र संस्थागत सुधारलाई विकासको आधार बनाउने प्रयासको कथा पनि हो।
