Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

सिएरा लियोन: रक्तपातबाट आर्थिक पुनर्निर्माणसम्म

दशक लामो गृहयुद्धले ध्वस्त पारेको सिएरा लियोनले खनिज सम्पदा, कृषि, सेवा क्षेत्र र निजी लगानीको विस्तारबाट आर्थिक पुनरुत्थानको आधार तयार गरेको छ।

सिएरा लियोन: रक्तपातबाट आर्थिक पुनर्निर्माणसम्म
सिएरा लियोनको समुद्री तटीय पर्यटन क्षेत्र।
A A+ A-

पश्चिम अफ्रिकाको सानो देश सिएरा लियोनसँग प्रकृतिले प्रशस्त सम्पत्ति दिएको छ।

हिरा, सुन, फलाम, बक्साइट र रुटाइलजस्ता खनिजले भरिएको यो देशसँग उर्वर जमिन, लामो समुद्री तट र कृषि तथा पर्यटनको सम्भावना पनि छ। तर प्राकृतिक स्रोतको यही सम्पत्ति कुनै समय देशका लागि समृद्धिको आधार बन्न सकेन।

बरु त्यसले रक्तपात, हिंसा र विनाशको एउटा लामो अध्यायलाई मलजल गर्‍यो।

सन् १९९१ मा सुरु भएको गृहयुद्धले सिएरा लियोनको अर्थतन्त्र, सामाजिक संरचना र राज्य संयन्त्रलाई नराम्ररी ध्वस्त बनायो। विद्रोही समूहले हिरा खानीमाथि नियन्त्रण जमाएर त्यसबाट प्राप्त आम्दानी हतियार खरिद र युद्ध सञ्चालनमा प्रयोग गरे।

अन्तर्राष्ट्रिय बजारमा चम्किने हिरा देशभित्र भने हिंसा र मानवीय त्रासदीको प्रतीक बन्यो। यही कारण सिएरा लियोनका हिरा विश्वभर ‘ब्लड डायमन्ड’ अर्थात् रक्तरञ्जित हिराका नामले चिनिए।

सन् २००२ मा गृहयुद्ध अन्त्य हुँदा देशले ठूलो मानवीय र आर्थिक क्षति बेहोरिसकेको थियो।

पूर्वाधार ध्वस्त थिए, लाखौँ मानिस विस्थापित भएका थिए, उद्योगधन्दा ठप्प थिए र राज्यका आधारभूत सेवा सञ्चालन गर्ने क्षमता कमजोर बनेको थियो।

युद्धपछि देशले शान्ति स्थापना, पुनर्वास, पुनर्निर्माण र आर्थिक सुधारलाई एकसाथ अघि बढाउनुपर्ने चुनौती सामना गर्‍यो।

दुई दशकभन्दा बढी समय बितिसक्दा सिएरा लियोनले युद्धग्रस्त अवस्थाबाट बाहिर निस्केर आर्थिक गतिविधि विस्तार गर्ने दिशामा उल्लेखनीय प्रगति गरेको छ। खनिज उत्खनन, कृषि, सेवा क्षेत्र, अन्तर्राष्ट्रिय सहयोग र निजी क्षेत्रको लगानीले अर्थतन्त्रलाई गति दिएका छन्। तर यो यात्रा पूर्ण सफलताको कथा भने होइन। गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, खाद्य असुरक्षा र राजनीतिक चुनौती अझै कायम छन्।

सिएरा लियोनको अनुभवले एउटा महत्वपूर्ण तथ्य देखाउँछ-प्राकृतिक स्रोतको धनी हुनु मात्र विकासको ग्यारेन्टी होइन। स्रोतको व्यवस्थापन, राजनीतिक स्थिरता, संस्थागत क्षमता र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न सके मात्र युद्धबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न सकिन्छ।

हिरा बनेको युद्धको इन्धन

सन् १९६१ अप्रिल २७ मा बेलायतबाट स्वतन्त्र भएको सिएरा लियोनसँग विकासका लागि आवश्यक प्राकृतिक र मानवीय सम्भावना थिए। तर स्वतन्त्रतापछिको राजनीतिक अस्थिरता, कमजोर शासन प्रणाली, भ्रष्टाचार र आर्थिक व्यवस्थापनको कमजोरीले देशलाई अपेक्षित दिशामा अघि बढ्न दिएन।

सन् १९८० को दशकसम्म आइपुग्दा अर्थतन्त्र कमजोर बन्दै गएको थियो। सरकारी संस्थाहरूको प्रभावकारिता घटेको थियो। खानी क्षेत्रको उत्पादन र निर्यातमा समस्या देखिएको थियो।

मुद्रा अवमूल्यन, महँगी र गरिबीले जनजीवन कठिन बनाएको थियो। विश्व बैंकका अनुसार सन् १९९० को दशकमा सिएरा लियोनको कुल गार्हस्थ्य उत्पादन २३ प्रतिशतले संकुचित भएको थियो भने प्रतिव्यक्ति आय २७ प्रतिशतले घटेको थियो। गरिबीको दायरा जनसङ्ख्याको करिब ८० प्रतिशतसम्म पुगेको थियो।

यही पृष्ठभूमिमा सन् १९९१ मार्चमा रिभोलुसनरी युनाइटेड फ्रन्ट (आरयूएफ) नामक विद्रोही समूहले सशस्त्र विद्रोह सुरु गर्‍यो। फोडे सान्कोहको नेतृत्वमा रहेको समूहले छिमेकी लाइबेरियाबाट सशस्त्र गतिविधि अघि बढाएको थियो। सुरुमा सरकारविरुद्धको विद्रोहका रूपमा देखिएको आन्दोलन विस्तारै देशको ठूलो भूभागमा फैलियो।

विद्रोहको प्रमुख लक्ष्य खनिज स्रोतमा नियन्त्रण जमाउनु थियो। विशेषगरी हिरा उत्पादन हुने पूर्वी क्षेत्र विद्रोहीका लागि महत्वपूर्ण बन्यो। खानी क्षेत्र कब्जा गरेर हिरा अवैध रूपमा बेच्ने र त्यसबाट प्राप्त रकमले हतियार तथा सैन्य सामग्री जुटाउने क्रम बढ्यो।

हिराको कारोबार युद्धको अर्थतन्त्रसँग जोडियो। खानीबाट निकालिएका हिरा छिमेकी देश हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्थे। त्यसबाट प्राप्त आम्दानीले विद्रोही समूहको सैन्य क्षमता बढायो। खनिज सम्पदाले देशको विकासमा योगदान दिनुपर्नेमा त्यसले हिंसालाई निरन्तरता दिने स्रोतको काम गर्‍यो।

गृहयुद्धमा नागरिकमाथि चरम हिंसा भयो। गाउँबस्ती ध्वस्त पारिए, हजारौँ मानिस मारिए र ठूलो सङ्ख्यामा मानिस विस्थापित भए। बालबालिकासमेत सशस्त्र समूहमा भर्ती गरिए। नागरिकका हातखुट्टा काट्ने जस्ता क्रूर घटनाले सिएरा लियोनलाई विश्वकै सबैभन्दा भयावह मानवीय सङ्कटमध्ये एकको केन्द्र बनायो।

सन् १९९० को दशकभरि शान्ति सम्झौता र युद्धविरामका प्रयास भए। तर राजनीतिक अविश्वास र विद्रोही समूहको गतिविधिका कारण ती प्रयास टिक्न सकेनन्।

सन् १९९९ को लोमे शान्ति सम्झौताले युद्ध अन्त्य गर्ने आधार तयार गरे पनि त्यसको कार्यान्वयन सहज भएन।

संयुक्त राष्ट्रसङ्घले सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय मिसन इन सिएरा लियोन (युनामसिल) स्थापना गर्‍यो। पछि यसको सैन्य उपस्थिति १७ हजार ५०० सम्म पुगेको थियो। मिसनले विद्रोही र सरकारी पक्षका लडाकु निःशस्त्रीकरण, शान्ति प्रक्रिया, निर्वाचन र राज्यका सेवा पुनःस्थापनामा सहयोग गर्‍यो।

सन् २००२ जनवरी १८ मा सरकारले गृहयुद्ध औपचारिक रूपमा अन्त्य भएको घोषणा गर्‍यो। संयुक्त राष्ट्रसङ्घीय मिसनका अनुसार त्यसअघि ७५ हजारभन्दा बढी पूर्वलडाकुलाई निःशस्त्रीकरण तथा पुनःस्थापनाको प्रक्रियामा समेटिएको थियो। बालसैनिकसमेत यो प्रक्रियामा सहभागी थिए। आधा मिलियनभन्दा बढी शरणार्थी तथा आन्तरिक रूपमा विस्थापित मानिसलाई घर फर्काउन पनि सहयोग गरिएको थियो।

युद्ध सकिए पनि त्यसले सिर्जना गरेको आर्थिक र सामाजिक संकट तत्काल समाधान हुने अवस्था थिएन। देशले पुनर्निर्माणको काम शून्यबाट सुरु गर्नुपर्ने स्थिति थियो।

शान्तिसँगै सुरु भयो पुनर्निर्माण

गृहयुद्ध अन्त्य भएपछि सिएरा लियोनले सबैभन्दा पहिले सुरक्षा र राज्यको उपस्थिति पुनःस्थापित गर्ने काम अघि बढायो। विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा सरकारी प्रशासन फर्काउनु, विस्थापित नागरिकलाई पुनर्वास गराउनु, पूर्वलडाकुलाई समाजमा पुनःएकीकरण गर्नु र ध्वस्त पूर्वाधार पुनर्निर्माण गर्नु तत्कालीन प्राथमिकता बने।

सन् २००२ को निर्वाचनपछि राष्ट्रपति अहमद तेजान काब्बाहको सरकारले शान्ति प्रक्रियालाई आर्थिक पुनर्निर्माणसँग जोड्ने प्रयास गर्‍यो। अन्तर्राष्ट्रिय समुदायको सहयोगमा सडक, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी र प्रशासनिक संरचना पुनःनिर्माण गर्न थालियो।

विश्व बैंक, संयुक्त राष्ट्रसङ्घ, बेलायत, युरोपेली संघ र अन्य विकास साझेदारले पुनर्निर्माण तथा विकास कार्यक्रमका लागि सहयोग गरे। युद्धबाट प्रभावित समुदायलाई पुनःस्थापित गर्ने, पूर्वलडाकुलाई रोजगारी र सीप दिने तथा स्थानीय प्रशासनलाई बलियो बनाउने कार्यक्रम सञ्चालन भए।

सन् २००२ मा सुरु भएको राष्ट्रिय पुनःस्थापना रणनीतिले शान्ति निर्माणलाई आर्थिक पुनरुत्थानसँग जोडेको थियो। विस्थापित नागरिकको पुनर्वास, राज्यको प्रशासनिक पहुँच विस्तार, आधारभूत सेवा पुनःस्थापना र आर्थिक गतिविधि चलायमान बनाउने विषयलाई प्राथमिकतामा राखियो। अन्तर्राष्ट्रिय सहयोगले युद्धपछिको संक्रमणलाई व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

पुनर्निर्माणको अर्को महत्वपूर्ण पक्ष थियो—हिरा कारोबारलाई कानुनी दायरामा ल्याउनु। युद्धका बेला अवैध हिरा कारोबारले विद्रोहीलाई आर्थिक स्रोत उपलब्ध गराएको अनुभवपछि अन्तर्राष्ट्रिय समुदायले द्वन्द्वग्रस्त क्षेत्रबाट उत्पादन भएका हिराको कारोबार नियन्त्रण गर्न दबाब बढायो।

यसै सन्दर्भमा किम्बर्ली प्रोसेस प्रमाणीकरण योजना अघि बढ्यो। सन् २००० मा सुरु भएको प्रक्रियाले सन् २००२ नोभेम्बरमा औपचारिक प्रमाणीकरण प्रणालीको रूप लियो। यसको उद्देश्य द्वन्द्वमा संलग्न विद्रोही समूहलाई हिरा बिक्रीबाट आर्थिक लाभ लिन नदिनु र अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने हिराको स्रोत पहिचान गर्नु थियो।

सिएरा लियोनका लागि यो केवल हिरा निर्यातको विषय थिएन। युद्धको प्रमुख आर्थिक स्रोत बनेको खनिज क्षेत्रलाई पुनः वैधानिक र व्यवस्थित बनाउने प्रयास पनि थियो। खानी सञ्चालन, निर्यात, राजस्व सङ्कलन र नियमनलाई संस्थागत बनाउने काम अघि बढ्यो।

तर शान्ति सम्झौता र अन्तर्राष्ट्रिय सहयोगले मात्रै अर्थतन्त्रलाई दिगो बनाउँदैनथ्यो। त्यसका लागि उत्पादन, लगानी, रोजगारी र निर्यातका नयाँ आधार आवश्यक थिए। सिएरा लियोनले खनिज क्षेत्रलाई पुनर्जीवित गर्दै कृषि र सेवा क्षेत्रमा समेत सम्भावना खोज्न थाल्यो।

खनिज सम्पत्तिले फेरि खोल्यो बजार

सिएरा लियोनको आर्थिक पुनरुत्थानमा खनिज क्षेत्रको भूमिका महत्वपूर्ण रह्यो। हिरा मात्र होइन, फलाम, सुन, बक्साइट र रुटाइलजस्ता खनिजले देशको निर्यात तथा विदेशी मुद्रा आर्जनमा योगदान दिन थाले।

विशेषगरी फलाम अयस्क उत्पादन र निर्यातले पछिल्ला वर्षमा अर्थतन्त्रलाई गति दिएको छ। ठूला खानी परियोजना सञ्चालनमा आएपछि खनिज उत्खनन, ढुवानी, बन्दरगाह र निर्यातसँग सम्बन्धित गतिविधि विस्तार भए। यसले सरकारी राजस्व, रोजगारी र विदेशी लगानीमा समेत प्रभाव पारेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार सन् २०२४ मा सिएरा लियोन विश्वको तेस्रो ठूलो रुटाइल उत्पादक बनेको थियो। विश्व उत्पादनमा यसको हिस्सा करिब १७ प्रतिशत थियो। रुटाइल टाइटेनियम उत्पादनमा प्रयोग हुने महत्वपूर्ण खनिज हो। सोही वर्ष देश हिरा उत्पादनमा विश्वको नवौँ स्थानमा थियो।

खनिज क्षेत्रको उत्पादन र निर्यातमा उतारचढाव भने निरन्तर छ।

सिएरा लियोन सरकारको सन् २०२४ को आर्थिक बुलेटिनअनुसार खनिज क्षेत्रको वृद्धि ७.८ प्रतिशतमा सीमित रह्यो। सोही वर्ष फलाम अयस्क उत्पादन ७७.९ प्रतिशतले बढेको थियो भने हिरा उत्पादन १०.३ प्रतिशतले वृद्धि भएको थियो।

तर बक्साइट र रुटाइल उत्पादनमा गिरावट देखिएको थियो।

खनिज निर्यातको संरचनाले पनि अर्थतन्त्रमा यसको प्रभाव देखाउँछ। सिएरा लियोनको सूचना मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२४ मा फलाम अयस्कले कुल खनिज निर्यातको करिब ७० प्रतिशत हिस्सा ओगटेको थियो। त्यसको निर्यात मूल्य करिब ७८ करोड ५० लाख अमेरिकी डलर थियो। हिराको निर्यात मूल्य करिब १० करोड २० लाख डलर रहेको थियो।

खनिज क्षेत्रबाट प्राप्त आम्दानीले अर्थतन्त्रलाई गति दिए पनि यसको लाभ सबै नागरिकसम्म पुग्न सकेको छैन। ठूलो खानी परियोजनाले प्रत्यक्ष रोजगारी सीमित मात्र सिर्जना गर्छन्।

उत्पादन र निर्यात बढे पनि स्थानीय उद्योग, प्रशोधन र आपूर्ति शृङ्खलामा पर्याप्त अवसर सिर्जना नहुँदा खनिजमा आधारित अर्थतन्त्रको लाभ सीमित हुने जोखिम रहन्छ।

गृहयुद्धको विनाशबाट उठ्दै आर्थिक तथा पूर्वाधार विकासको बाटोमा अघि बढिरहेको सिएरा लियोनको राजधानी फ्रिटाउन।

यही कारण सिएरा लियोनले खनिज क्षेत्रको नियमन र पारदर्शितामा सुधार गर्नुपर्ने आवश्यकता महसुस गरेको छ। सन् २०२२ को खानी तथा खनिज विकास ऐनले खानी कम्पनीका वास्तविक लाभग्राही स्वामित्व खुलाउनुपर्ने व्यवस्था गरेको छ। नयाँ खानी कम्पनीमा सरकारले १० प्रतिशत निःशुल्क स्वामित्व प्राप्त गर्ने प्रावधान पनि राखिएको छ।

यसले खनिज सम्पत्तिबाट प्राप्त हुने लाभ राज्य र नागरिकसम्म पुर्‍याउने प्रयासलाई संस्थागत गर्न खोजेको देखिन्छ। तर कानुन बनाउनु र त्यसको प्रभावकारी कार्यान्वयन गर्नु फरक विषय हुन्। खानी क्षेत्रमा पारदर्शिता, वातावरणीय संरक्षण, स्थानीय समुदायको अधिकार र राजस्वको न्यायोचित वितरण अझै महत्वपूर्ण चुनौतीका रूपमा छन्।

कृषिमा खोजियो अर्को आर्थिक आधार

सिएरा लियोनको आर्थिक पुनर्निर्माण खनिजमा मात्र निर्भर रहन सक्दैनथ्यो। देशको ठूलो जनसङ्ख्या कृषि क्षेत्रमा आश्रित छ। धान, कसावा, मकै, कोको, पाम तेल र अन्य कृषि उत्पादन यसको ग्रामीण अर्थतन्त्रका प्रमुख आधार हुन्।

युद्धका कारण कृषि उत्पादन प्रणालीसमेत प्रभावित भएको थियो। किसान विस्थापित भएका थिए, खेतीयोग्य जमिन बाँझो बनेको थियो र बजारसम्म उत्पादन पुर्‍याउने सडक तथा यातायात संरचना ध्वस्त भएका थिए। बीउ, मल, कृषि औजार र वित्तीय सेवामा पहुँच कमजोर थियो।

शान्तिपछि सरकारले कृषि उत्पादन पुनःस्थापना र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्यो। अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगमा किसानलाई बीउ, औजार, तालिम र प्राविधिक सहायता उपलब्ध गराउने कार्यक्रम अघि बढाइयो। ग्रामीण सडक र बजार पहुँच सुधार गर्ने प्रयास पनि गरियो।

तर कृषि क्षेत्रको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन। विश्व बैंकका अनुसार सिएरा लियोनसँग करिब ५४ लाख हेक्टर खेतीयोग्य जमिन छ। तर त्यसको करिब १५ प्रतिशत मात्रै खेतीमा प्रयोग भएको छ। कृषि उत्पादन अझै धेरै हदसम्म वर्षामा निर्भर छ र किसानको बजारसँगको सम्बन्ध कमजोर छ।

कृषि क्षेत्रको यही सम्भावना उपयोग गर्न सरकारले ‘फिड सलोन’ रणनीति अघि सारेको छ। यसको उद्देश्य खाद्यान्न उत्पादन बढाउनु, आयातमा निर्भरता घटाउनु र कृषि क्षेत्रलाई व्यावसायिक बनाउनु हो।

धान, मकै, कसावा, कोको, तेलहन र कुखुरापालनजस्ता उत्पादनलाई प्राथमिकता दिइएको छ।

सन् २०२६ नोभेम्बरमा सरकारले विश्व बैंक र विकास साझेदारको सहयोगमा ‘एग्रीकनेक्ट कम्प्याक्ट’ पनि सुरु गरेको छ। यसले किसानलाई निर्वाहमुखी खेतीबाट बजारमुखी व्यावसायिक कृषितर्फ लैजाने लक्ष्य राखेको छ। कृषि उत्पादनको उत्पादकत्व बढाउने, सिँचाइ विस्तार गर्ने, जलवायु अनुकूल खेती प्रवर्द्धन गर्ने र किसानलाई प्रशोधन उद्योग तथा बजारसँग जोड्ने योजना यसमा समेटिएको छ।

कार्यक्रमले १० लाख किसानलाई उत्पादन र बजार पहुँचसम्बन्धी सहयोग पुर्‍याउने, १० लाख मानिसको खाद्य तथा पोषण सुरक्षामा योगदान गर्ने र कृषि मूल्य शृङ्खलामा एक लाख २० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

यो कार्यक्रम सफल भए कृषि क्षेत्रले खाद्य सुरक्षामा मात्र नभई रोजगारी, आयात प्रतिस्थापन र निर्यात विस्तारमा पनि योगदान दिन सक्छ। तर त्यसका लागि किसानलाई उत्पादन सामग्री उपलब्ध गराउनु मात्रै पर्याप्त हुँदैन। भण्डारण, प्रशोधन, ढुवानी, वित्तीय पहुँच र बजार सुनिश्चितता पनि उत्तिकै आवश्यक हुन्छ।

सिएरा लियोनको कृषि क्षेत्रको चुनौती यही हो-उत्पादन बढाउने मात्र होइन, उत्पादनलाई व्यावसायिक मूल्य शृङ्खलामा जोड्ने।

सेवा क्षेत्र र निजी लगानीको विस्तार

युद्धपछि सिएरा लियोनको अर्थतन्त्रमा आएको अर्को परिवर्तन सेवा क्षेत्रको विस्तार हो। व्यापार, यातायात, सञ्चार, वित्तीय सेवा, पर्यटन र अन्य व्यवसायिक गतिविधिले अर्थतन्त्रमा आफ्नो हिस्सा बढाउँदै लगेका छन्।

सन् २०२४ मा गरिएको कुल गार्हस्थ्य उत्पादनको आधार वर्ष परिवर्तनले अर्थतन्त्रको आकार र संरचनाबारे नयाँ तस्वीर प्रस्तुत गर्‍यो। संयुक्त राष्ट्रसङ्घको सन् २०२५ को मध्यावधि प्रतिवेदनअनुसार नयाँ आधार वर्ष प्रयोग गर्दा अर्थतन्त्रको अनुमानित आकार करिब चार अर्ब डलरबाट आठ अर्ब डलर पुगेको थियो। नयाँ गणनामा सेवा क्षेत्रको योगदान ४६ प्रतिशत, कृषिको ३४ प्रतिशत र उद्योगको २१ प्रतिशत देखिएको थियो।

आधार वर्ष परिवर्तन हुनु भनेको अर्थतन्त्र एकै वर्षमा दोब्बर भएको होइन। यसले पहिलेको गणनामा समेटिन नसकेका आर्थिक गतिविधि र क्षेत्रलाई नयाँ तथ्याङ्कीय आधारमा समावेश गरेको हो। त्यसैले आर्थिक आकारको यो परिवर्तनलाई वास्तविक उत्पादनमा भएको तत्कालीन वृद्धिका रूपमा बुझ्नु हुँदैन।

निजी क्षेत्रको विकास सिएरा लियोनको दीर्घकालीन आर्थिक रणनीतिको महत्वपूर्ण हिस्सा बनेको छ। खानी, निर्माण, व्यापार, कृषि प्रशोधन, पर्यटन र वित्तीय सेवामा निजी लगानी आकर्षित गर्ने प्रयास भइरहेको छ।

विश्व बैंकले सन् २०२५ नोभेम्बरमा सार्वजनिक गरेको आर्थिक अद्यावधिकले निजी क्षेत्रको सुधारलाई रोजगारी र आर्थिक वृद्धिको मुख्य आधारका रूपमा औँल्याएको थियो।

प्रतिवेदनले कृषि उत्पादकत्व, खानी विस्तार र सेवा क्षेत्रको स्थिर गतिविधिका कारण सन् २०२५ मा आर्थिक वृद्धि ४.३ प्रतिशत हुने र सन् २०२७ सम्म ४.६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो। निजी लगानीको वातावरण सुधार, व्यवसाय सञ्चालनका अवरोध हटाउने र अर्थतन्त्रलाई विविधीकरण गर्ने विषयलाई त्यसले प्राथमिकतामा राखेको थियो।

तर निजी क्षेत्रले अझै धेरै अवरोध सामना गरिरहेको छ। बिजुलीको सीमित उपलब्धता, महँगो ढुवानी, कमजोर सडक, वित्तीय स्रोतमा कठिन पहुँच र नीतिगत अनिश्चितताले व्यवसायको लागत बढाउँछन्।

साना तथा मझौला उद्यमलाई बैंक ऋण प्राप्त गर्न कठिन छ। उत्पादनमूलक उद्योगको विस्तारका लागि आवश्यक ऊर्जा र पूर्वाधार पर्याप्त छैनन्।

यस्तो अवस्थामा विदेशी लगानी आकर्षित गर्नु मात्र पर्याप्त हुँदैन। स्थानीय उद्यमीलाई पनि लगानी, प्रविधि र बजारमा पहुँच दिनुपर्छ। स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय मूल्य शृङ्खलासँग जोड्न सके मात्रै आर्थिक वृद्धिले व्यापक रोजगारी सिर्जना गर्न सक्छ।

आर्थिक वृद्धिसँगै बाँकी चुनौती

सिएरा लियोनको पुनर्निर्माण यात्रामा आर्थिक वृद्धिका केही सकारात्मक संकेत देखिएका छन्। तर देशको अर्थतन्त्र अझै बाह्य धक्का र आन्तरिक कमजोरीबाट प्रभावित हुने अवस्थामा छ।

विश्व बैंकको पछिल्लो देशगत विवरणअनुसार सन् २०२५ मा वास्तविक कुल गार्हस्थ्य उत्पादन ४.८ प्रतिशतले बढेको थियो, जुन सन् २०२४ को ४.६ प्रतिशतभन्दा केही बढी हो। खानीबाहेकका क्षेत्रमा पनि कृषि र उत्पादनमूलक गतिविधिले योगदान दिन थालेको विश्व बैंकले उल्लेख गरेको छ। तर सन् २०२६ मा आर्थिक वृद्धि ४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ।

मुद्रास्फीतिमा पनि सुधारको संकेत देखिएको थियो। सन् २०२५ डिसेम्बरमा मुद्रास्फीति ४.४ प्रतिशतमा झरेको विश्व बैंकको विवरण छ। तर त्यसपछि अन्तर्राष्ट्रिय ऊर्जा, खाद्यान्न, मल र ढुवानी लागतमा आएको दबाबले मूल्यवृद्धि फेरि बढाएको छ। सन् २०२६ अगस्टमा मुद्रास्फीति १५.७ प्रतिशत पुगेको विश्व बैंकले जनाएको छ।

यसले सिएरा लियोनको अर्थतन्त्र अझै अन्तर्राष्ट्रिय बजारको उतारचढावप्रति संवेदनशील रहेको देखाउँछ। इन्धन र खाद्यान्न आयातमा निर्भरता उच्च हुँदा विश्व बजारमा मूल्य बढे त्यसको प्रत्यक्ष असर स्थानीय उपभोक्तामा पर्छ।

सार्वजनिक वित्त व्यवस्थापन पनि अर्को चुनौती हो। सरकारको आम्दानीको आधार साँघुरो छ। विकास निर्माणका लागि आवश्यक पूँजीगत खर्च र सामाजिक क्षेत्रमा लगानीबीच सन्तुलन कायम गर्न कठिन छ। सार्वजनिक ऋण, विदेशी मुद्रा सञ्चिति र सरकारी खर्चको व्यवस्थापन आर्थिक स्थायित्वका लागि महत्वपूर्ण बनेका छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ जुनमा सिएरा लियोनका लागि लचिलोपन तथा दिगोपनसम्बन्धी वित्तीय सुविधा स्वीकृत गर्नुका साथै विस्तारित कर्जा सुविधाअन्तर्गत तेस्रो समीक्षा पूरा गरेको थियो। कोषले आर्थिक स्थायित्व, राजस्व वृद्धि, सार्वजनिक वित्त व्यवस्थापन, वित्तीय क्षेत्रको सुधार र जलवायु जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेको थियो।

गरिबी र रोजगारीको समस्या पनि उत्तिकै गम्भीर छ। युद्धपछि शान्ति स्थापना भए पनि ठूलो जनसङ्ख्याले पर्याप्त आय र रोजगारीको अवसर पाउन सकेको छैन। युवाको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा निर्भर छ। ग्रामीण क्षेत्रमा कृषि उत्पादकत्व कम छ भने सहरी क्षेत्रमा रोजगारी खोज्ने युवाको सङ्ख्या बढिरहेको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सुधारले दीर्घकालीन विकासको आधार तयार गर्न सक्छन्। सरकारले निःशुल्क विद्यालय शिक्षाको कार्यक्रम अघि बढाएको छ। तर विद्यालयको गुणस्तर, शिक्षकको उपलब्धता, स्वास्थ्य संस्थाको क्षमता र दक्ष जनशक्ति उत्पादनमा अझै सुधार आवश्यक छ।

जलवायु परिवर्तनले पनि विकासको चुनौती थपेको छ। अनियमित वर्षा, बाढी, जमिनको क्षय र समुद्री तटीय जोखिमले कृषि, पूर्वाधार र बस्तीलाई प्रभावित गर्न सक्छ। कृषि उत्पादनमा निर्भर ठूलो जनसङ्ख्याका लागि यस्तो जोखिम प्रत्यक्ष आर्थिक चुनौती हो।

पुनरुत्थानको कथा, तर अधुरो समृद्धि

सिएरा लियोनको पछिल्लो दुई दशकको यात्रा युद्धबाट शान्तितर्फ र शान्तिबाट आर्थिक पुनर्निर्माणतर्फ अघि बढेको कथा हो। सन् १९९१ मा सुरु भएको गृहयुद्धले देशको अर्थतन्त्रलाई ध्वस्त बनाएको थियो। खनिज सम्पत्ति हिंसाको स्रोत बनेको थियो। राज्यका संस्था कमजोर थिए र ठूलो जनसङ्ख्या गरिबी तथा विस्थापनको चपेटामा परेको थियो।

सन् २००२ पछि शान्ति स्थापना, पूर्वलडाकुको पुनःएकीकरण, पूर्वाधार पुनर्निर्माण र अन्तर्राष्ट्रिय सहयोगले आर्थिक गतिविधि पुनःसञ्चालन गर्ने आधार तयार गर्‍यो।

खानी क्षेत्रको पुनरुत्थान, कृषि उत्पादन विस्तार र सेवा क्षेत्रको विकासले अर्थतन्त्रलाई अघि बढायो। पछिल्ला वर्षमा निजी क्षेत्रको लगानी र व्यावसायिक कृषि विस्तारलाई थप प्राथमिकता दिइएको छ।

तर सिएरा लियोन अझै समृद्ध मुलुक बनिसकेको छैन। खनिज निर्यातमा निर्भरता, कमजोर औद्योगिक आधार, सीमित रोजगारी, गरिबी, खाद्य असुरक्षा र पूर्वाधारको अभावले आर्थिक विकासको गति सीमित बनाइरहेको छ। प्राकृतिक सम्पत्तिबाट प्राप्त आम्दानीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र त्यसको लाभ नागरिकसम्म पुर्‍याउनुपर्ने चुनौती बाँकी छ।

यस देशको अनुभवले युद्ध अन्त्य हुनु र समृद्धि हासिल हुनु एउटै कुरा होइन भन्ने स्पष्ट पार्छ। शान्तिले विकासको ढोका खोल्न सक्छ, तर त्यसलाई समृद्धिमा रूपान्तरण गर्न संस्थागत सुधार, पारदर्शी शासन, उत्पादन वृद्धि, लगानी र मानव पुँजी विकास आवश्यक हुन्छ।

सिएरा लियोनले रक्तपातपूर्ण गृहयुद्धबाट बाहिर निस्केर आर्थिक पुनर्निर्माणको बाटो समातेको छ। अब उसको वास्तविक परीक्षा प्राकृतिक स्रोतको निर्यातबाट प्राप्त आम्दानीलाई रोजगारी, उद्योग, कृषि उत्पादकत्व, शिक्षा र नागरिकको जीवनस्तर सुधारमा रूपान्तरण गर्न सक्नुमा छ। यही रूपान्तरणले मात्रै युद्धको खरानीबाट उठेको देशलाई दिगो समृद्धितर्फ अघि बढाउन सक्छ।

2