पश्चिम अफ्रिकाको आर्थिक नक्सामा आइभरी कोस्ट अर्थात् कोट डी’आइभोरको स्थान पछिल्लो डेढ दशकमा उल्लेखनीय रूपमा बदलिएको छ।
कुनै समय राजनीतिक द्वन्द्व, गृहयुद्ध र कमजोर लगानी वातावरणका कारण आर्थिक सम्भावना गुमाइरहेको यो देश अहिले उपक्षेत्रकै तीव्र गतिमा विस्तार भइरहेका अर्थतन्त्रमध्ये एक बनेको छ।
कोको र काजु उत्पादन, कृषि प्रशोधन, निर्माण, ऊर्जा, यातायात र सेवाक्षेत्रको विस्तारले यसको आर्थिक संरचनामा परिवर्तन ल्याएको छ।
सन् २०११ को राजनीतिक संकटपछि सुरु भएको आर्थिक पुनरुत्थान यस परिवर्तनको मुख्य आधार हो। सरकारले सडक, बन्दरगाह, विद्युत्, शिक्षा र सार्वजनिक सेवामा लगानी बढायो।
निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक वातावरण सुधार्ने प्रयास गर्यो। कृषि उत्पादनलाई प्रशोधन उद्योगसँग जोड्ने नीति अघि सार्यो। अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहयोग र विदेशी लगानीले पनि पुनर्निर्माणलाई गति दिए।
विश्व बैंकका अनुसार सन् २०१२ देखि आइभरी कोस्टले लामो समयसम्म उच्च आर्थिक वृद्धि हासिल गर्यो। सन् २०१२ देखि २०१५ सम्म वास्तविक कुल गार्हस्थ्य उत्पादन औसत वार्षिक ८.५ प्रतिशतले बढेको थियो। यो वृद्धिमा राजनीतिक संकटपछि रोकिएका आर्थिक गतिविधि पुनःसञ्चालन हुनु, पूर्वाधारमा सरकारी लगानी र अनुकूल निर्यात वातावरणको योगदान थियो।
त्यसपछिका वर्षमा पनि अर्थतन्त्रले तुलनात्मक रूपमा उच्च वृद्धि कायम राख्यो। विश्व बैंकको पछिल्लो देशगत विवरणअनुसार सन् २०२५ मा आइभरी कोस्टको अर्थतन्त्र ६.३ प्रतिशतले विस्तार भएको थियो। निर्माण, सेवा, खानी, ऊर्जा र कृषि निर्यातले यसमा योगदान दिएका थिए।
तर यो कथा केवल आर्थिक वृद्धिको होइन। राजनीतिक स्थिरता, संस्थागत सुधार र पूर्वाधार निर्माणले कसरी लगानीको वातावरण बदल्न सक्छ भन्ने उदाहरण पनि हो।
अर्कोतर्फ, उच्च आर्थिक वृद्धिका बाबजुद गरिबी, क्षेत्रीय असमानता, रोजगारी र मानव पुँजी विकासका चुनौती बाँकी छन्। त्यसैले आइभरी कोस्टको पुनरुत्थानलाई सफलताको अन्तिम बिन्दु होइन, आर्थिक रूपान्तरणको जारी प्रक्रिया मान्नुपर्छ।
राजनीतिक संकटले थलिएको अर्थतन्त्र
आइभरी कोस्ट सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको थियो। स्वतन्त्रतापछि लामो समयसम्म पश्चिम अफ्रिकाको तुलनात्मक रूपमा स्थिर र आर्थिक रूपमा सक्रिय मुलुकका रूपमा परिचित रह्यो।
कोको, कफी, काठ र अन्य कृषि वस्तुको निर्यातले अर्थतन्त्रलाई बलियो बनाएको थियो। राजधानी यामुसुक्रो भए पनि आर्थिक गतिविधिको मुख्य केन्द्र आबिद्जान बन्यो। बन्दरगाह, व्यापार, बैंकिङ र उद्योगको विस्तारले यसलाई पश्चिम अफ्रिकाको महत्वपूर्ण आर्थिक केन्द्रका रूपमा स्थापित गर्यो।
तर सन् १९९० को दशकदेखि राजनीतिक तनाव बढ्न थाल्यो। नागरिकता, राष्ट्रिय पहिचान, राजनीतिक प्रतिनिधित्व र उत्तर–दक्षिणबीचको विभाजनले विवाद गहिरियो।
सन् १९९९ मा सैन्य विद्रोहपछि राजनीतिक अस्थिरता थपियो। सन् २००२ मा विद्रोह र सशस्त्र संघर्ष सुरु भएपछि देश उत्तर र दक्षिणमा विभाजित भयो। उत्तरमा विद्रोही समूहको नियन्त्रण र दक्षिणमा सरकारको प्रभाव कायम रह्यो।
यसले अर्थतन्त्रलाई गम्भीर असर पार्यो। कृषि उत्पादन, व्यापार, ढुवानी र सार्वजनिक प्रशासन प्रभावित भए। विदेशी लगानीकर्ताले नयाँ परियोजना रोक्न थाले। कतिपय कम्पनीले आफ्नो गतिविधि अन्य देशमा सार्न थाले। राजनीतिक जोखिमका कारण लगानी लागत बढ्यो र रोजगारीका अवसर खुम्चिए।
सन् २०१० को राष्ट्रपति निर्वाचनपछि संकट फेरि चर्कियो। निर्वाचन परिणाम स्वीकार गर्ने विषयमा तत्कालीन राष्ट्रपति लरेन्ट गबाग्बो र विपक्षी नेता अलासान ओआताराबीच विवाद भयो। दुवै पक्षले आफूलाई विजयी दाबी गरेपछि राजनीतिक विवाद सशस्त्र संघर्षमा परिणत भयो।
सन् २०१० को अन्त्यदेखि सन् २०११ अप्रिलसम्म चलेको हिंसाले देशको आर्थिक गतिविधि लगभग ठप्प बनायो। बैंक तथा वित्तीय संस्था बन्द भए। बन्दरगाह र व्यापारिक गतिविधि प्रभावित भए। युरोपेली संघले प्रतिबन्ध लगाएपछि निर्यात र वित्तीय कारोबारमा थप समस्या आयो। आबिद्जानलगायतका क्षेत्रमा व्यवसाय, घर र सार्वजनिक संरचनामा क्षति पुग्यो।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०११ मा वास्तविक कुल गार्हस्थ्य उत्पादन ५.८ प्रतिशतले संकुचित हुने अनुमान गरिएको थियो। संकटका बेला अधिकांश बैंक दुईदेखि तीन महिनासम्म बन्द भएका थिए। प्रतिव्यक्ति आय अघिल्लो दशकमा करिब एकछैटौँले घटेको थियो र सन् २०१० मा झन्डै आधा जनसङ्ख्या गरिबीको रेखामुनि रहेको थियो।
विश्व बैंकको विवरणअनुसार सन् २०११ सम्म आइपुग्दा गरिबीको दर ५५ प्रतिशतभन्दा माथि पुगेको थियो। लामो राजनीतिक अस्थिरताले पहिलेको आर्थिक प्रगतिलाई कमजोर बनाएको थियो।
सन् २०११ अप्रिलमा गबाग्बो पक्राउ परेपछि सशस्त्र संघर्ष अन्त्यतर्फ गयो। ओआतारा राष्ट्रपतिको रूपमा स्थापित भए। नयाँ सरकारले राष्ट्रिय मेलमिलाप, सुरक्षा संयन्त्रको पुनर्गठन, प्रशासनको पुनःस्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दियो।
त्यसपछिको मुख्य चुनौती देशलाई फेरि एउटै प्रशासनिक र आर्थिक प्रणालीमा जोड्नु थियो। उत्तर र दक्षिणबीचको विभाजन हटाउनु, सार्वजनिक सेवा सञ्चालन गर्नु, बैंक खोल्नु र व्यापारिक गतिविधि पुनःसुरु गर्नु तत्कालीन प्राथमिकता बने।
सन् २०११ पछिको पुनर्निर्माण रणनीति
राजनीतिक संकट अन्त्य भएपछि आइभरी कोस्टले आर्थिक पुनरुत्थानलाई योजनाबद्ध रूपमा अघि बढायो। सरकारले सार्वजनिक लगानी, निजी क्षेत्रको सहभागिता र निर्यात विस्तारलाई जोडेर आर्थिक रणनीति बनायो। सन् २०१२–२०१५ को राष्ट्रिय विकास योजनाले पूर्वाधार निर्माण, कृषि आधुनिकीकरण, ऊर्जा, शिक्षा, स्वास्थ्य र निजी लगानीलाई प्राथमिकतामा राख्यो।
पुनर्निर्माणको पहिलो चरणमा सडक, पुल, बन्दरगाह, विद्युत् र प्रशासनिक संरचनाको सुधार आवश्यक थियो। युद्धका कारण रोकिएका परियोजना पुनःसञ्चालन गरिए।
देशका विभिन्न भागलाई आबिद्जानसँग जोड्ने सडक तथा यातायात पूर्वाधारमा लगानी बढाइयो। ऊर्जा उत्पादन र वितरण क्षमता विस्तार गर्ने काम पनि अघि बढ्यो।
विश्व बैंकका अनुसार सन् २०१२ देखि २०१५ सम्म अर्थतन्त्रको औसत वार्षिक वृद्धि ८.५ प्रतिशत पुगेको थियो। यो वृद्धिमा दशक लामो राजनीतिक संकटपछि रोकिएका आर्थिक गतिविधिको पुनरागमन, सरकारी पूर्वाधार खर्च, राम्रो कृषि उत्पादन र अनुकूल अन्तर्राष्ट्रिय व्यापार वातावरणको योगदान थियो।
यस अवधिमा वित्तीय घाटा औसत कुल गार्हस्थ्य उत्पादनको २.४ प्रतिशतमा सीमित रह्यो भने मुद्रास्फीति औसत १.४ प्रतिशत थियो।
सरकारले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदार बनाउने नीति पनि अघि सार्यो। व्यवसाय दर्ता, लगानी स्वीकृति र प्रशासनिक प्रक्रिया सहज बनाउने प्रयास गरियो। विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी प्रवर्द्धनसम्बन्धी संस्थागत संरचना बलियो बनाइयो।
यसका साथै अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको सहयोगमा वित्तीय सुधार, सार्वजनिक ऋण व्यवस्थापन र गरिबी न्यूनीकरणका कार्यक्रम अघि बढाइए।
सन् २०११ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले आइभरी कोस्टका लागि तीन वर्षको विस्तारित कर्जा सुविधा स्वीकृत गरेको थियो। त्यसले आर्थिक स्थायित्व कायम गर्न र पुनर्निर्माण कार्यक्रमलाई वित्तीय आधार उपलब्ध गराउन सहयोग गर्यो।
पुनर्निर्माणको अर्को महत्वपूर्ण पक्ष थियो—देशको उत्तर र दक्षिणबीच आर्थिक तथा प्रशासनिक सम्बन्ध पुनःस्थापित गर्नु। विद्रोही नियन्त्रणमा रहेका क्षेत्रमा सरकारी प्रशासन फर्काइयो। सुरक्षा संयन्त्र पुनर्गठन गरियो र पूर्वलडाकुलाई पुनःएकीकरण गर्ने प्रयास भयो। यसले वस्तु तथा मानिसको आवागमन सहज बनाउन र देशव्यापी बजार पुनःसञ्चालन गर्न मद्दत गर्यो।
आर्थिक सुधारले छोटो समयमै परिणाम दिन थाले पनि चुनौती समाप्त भएका थिएनन्। राजनीतिक मेलमिलाप, संस्थागत विश्वास र सुरक्षा संयन्त्रको व्यावसायिकता दीर्घकालीन स्थिरताका लागि आवश्यक थिए। आर्थिक वृद्धिको लाभ सबै क्षेत्रमा पुर्याउनु पनि उत्तिकै महत्वपूर्ण थियो।
कोकोबाट मूल्य अभिवृद्धितर्फको यात्रा
आइभरी कोस्टको आर्थिक पहिचानको केन्द्रमा कोको छ। यो विश्वकै सबैभन्दा ठूलो कोको उत्पादक तथा निर्यातकर्ता देश हो। कोको उत्पादनले लाखौँ किसानको जीविकोपार्जनसँगै विदेशी मुद्रा आर्जन, ग्रामीण अर्थतन्त्र र निर्यात व्यापारलाई धानेको छ।
तर लामो समयसम्म देशको कोको अर्थतन्त्र कच्चा बिन्स निर्यातमा बढी निर्भर थियो। किसानले उत्पादन गरेको कोको विदेश पठाइन्थ्यो र त्यसको प्रशोधन तथा चकलेट उत्पादनबाट प्राप्त हुने ठूलो मूल्य अभिवृद्धि युरोप तथा अन्य औद्योगिक अर्थतन्त्रमा सिर्जना हुन्थ्यो।
यसले उत्पादनको ठूलो हिस्सा ओगट्ने देशलाई प्रशोधन र अन्तिम उपभोग्य वस्तुबाट प्राप्त हुने आम्दानीको सीमित हिस्सा मात्र उपलब्ध गराउँथ्यो।
सरकारले यही संरचनात्मक कमजोरी परिवर्तन गर्ने रणनीति अघि सार्यो। कच्चा कोको निर्यातमा निर्भरता घटाएर देशभित्रै प्रशोधन उद्योग स्थापना गर्ने, कोको बटर, कोको पाउडर र अन्य अर्धप्रशोधित वस्तु उत्पादन गर्ने लक्ष्य राखियो। यसबाट किसानको उत्पादनलाई औद्योगिक मूल्य शृङ्खलासँग जोड्ने र निर्यातबाट प्राप्त हुने आम्दानी बढाउने अपेक्षा गरिएको छ।
यसका लागि कर तथा निर्यात नीतिमा परिवर्तन गरियो। स्थानीय प्रशोधन उद्योगलाई प्रोत्साहन गर्ने, औद्योगिक पूर्वाधार उपलब्ध गराउने र विदेशी कम्पनीलाई उत्पादन इकाइ स्थापना गर्न आकर्षित गर्ने काम अघि बढ्यो। अन्तर्राष्ट्रिय कम्पनीहरू पनि कोको प्रशोधन उद्योगमा सक्रिय भए।
आइभरी कोस्टको सरकारी आर्थिक पोर्टलका अनुसार सन् २०१६–१७ को कोको सिजनमा देशको कुल उत्पादनको २८.६ प्रतिशत मात्रै स्थानीय रूपमा प्रशोधन हुन्थ्यो। सन् २०२३–२४ मा यो अनुपात बढेर ४२ प्रतिशत पुगेको थियो। सन् २०१७ मा वार्षिक प्रशोधन क्षमता सात लाख ३० हजार टन रहेकोमा सन् २०२४ सम्म नौ लाख ७२ हजार ४० टन पुगेको थियो।
सन् २०२५ मा आबिद्जानमा ट्रान्सकाओको नयाँ प्रशोधन कारखाना सञ्चालनमा आएपछि देशको कुल प्रशोधन क्षमता वार्षिक १० लाख २२ हजार टन पुगेको सरकारी विवरण छ।
सरकारको दीर्घकालीन लक्ष्य सन् २०३० सम्म कुल कोको उत्पादनको कम्तीमा आधा देशभित्रै प्रशोधन गर्नु हो।
यो परिवर्तनले आइभरी कोस्टलाई कच्चा कृषि वस्तु निर्यात गर्ने देशबाट कृषि प्रशोधन उद्योगको केन्द्र बन्ने दिशामा अघि बढाएको छ। प्रशोधन उद्योगले कारखानामा प्रत्यक्ष रोजगारी सिर्जना गर्छ। प्याकेजिङ, ढुवानी, भण्डारण, ऊर्जा, मर्मतसम्भार र वित्तीय सेवामा पनि नयाँ आर्थिक गतिविधि बढाउँछ।
तर प्रशोधन क्षमता बढ्दैमा सबै समस्या समाधान हुँदैनन्। कोको उत्पादन मौसम, रोग, बुढा बोट, जलवायु परिवर्तन र किसानको आम्दानीसँग जोडिएको छ। उत्पादन घट्दा प्रशोधन उद्योगले आवश्यक कच्चा पदार्थ पाउन कठिन हुन्छ। सन् २०२४ मा उत्पादनमा आएको गिरावटका कारण स्थानीय प्रशोधनको मात्रा पनि अघिल्लो वर्षको तुलनामा घटेको सरकारी तथ्याङ्कले देखाउँछ।
कोको किसानको आम्दानी र उद्योगको प्रतिस्पर्धात्मकता पनि महत्वपूर्ण विषय हुन्। अन्तर्राष्ट्रिय बजारमा कोकोको मूल्य बढ्दा निर्यात आम्दानी बढ्न सक्छ, तर उत्पादन घटेमा किसानले अपेक्षित लाभ लिन सक्दैनन्। प्रशोधन उद्योगलाई ऊर्जा, श्रम र ढुवानीको लागत पनि प्रतिस्पर्धी बनाउनुपर्ने हुन्छ।
त्यसैले आइभरी कोस्टको कोको रणनीति केवल कारखाना खोल्ने योजनामा सीमित छैन। किसानको उत्पादकत्व बढाउने, गुणस्तर सुधार गर्ने, वन विनाश रोक्ने र उत्पादनलाई अन्तर्राष्ट्रिय वातावरणीय तथा आपूर्ति शृङ्खलाका मापदण्डअनुसार बनाउने चुनौती पनि त्यससँग जोडिएको छ।
काजु, कफी र कृषि विविधीकरण
कोकोबाहेक आइभरी कोस्टको कृषि अर्थतन्त्रमा काजु, कफी, पाम तेल, रबर, कपास, फलफूल र अन्य उत्पादनको महत्वपूर्ण भूमिका छ। कोकोमा अत्यधिक निर्भरता घटाउन सरकारले कृषि उत्पादनको विविधीकरण र प्रशोधन उद्योग विस्तारलाई प्राथमिकता दिएको छ।
काजु यसको प्रमुख उदाहरण हो। आइभरी कोस्ट विश्वकै सबैभन्दा ठूलो काजु उत्पादक देशमध्ये एक हो। लामो समयसम्म कच्चा काजु निर्यात हुँदै आएकोमा पछिल्ला वर्षमा स्थानीय प्रशोधन उद्योग विस्तार भएको छ।
सरकारी तथ्याङ्कअनुसार सन् २०१४ मा देशको काजु प्रशोधन क्षमता वार्षिक ७७ हजार ३८४ टन थियो। सन् २०२४ सम्म यो बढेर चार लाख ५० हजार टन पुगेको छ।

सोही अवधिमा स्थानीय रूपमा प्रशोधन गरिएको काजुको मात्रा ३७ हजार ६९६ टनबाट बढेर तीन लाख ४४ हजार २८ टन पुगेको थियो। कुल उत्पादनमा स्थानीय प्रशोधनको हिस्सा ६.७ प्रतिशतबाट बढेर ३६.४ प्रतिशत पुगेको थियो।
यसले कृषि उत्पादनलाई औद्योगिक मूल्य शृङ्खलामा जोड्ने प्रयासको परिणाम देखाउँछ। कच्चा काजु निर्यात गर्दा प्राप्त हुने आम्दानीभन्दा प्रशोधित काजुबाट बढी मूल्य प्राप्त गर्न सकिन्छ। प्रशोधन उद्योगले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै महिला श्रमिकको सहभागिताका लागि पनि अवसर खोल्न सक्छ।
सरकारले सन् २०३० सम्म काजु उत्पादनको आधा हिस्सा देशभित्रै प्रशोधन गर्ने लक्ष्य राखेको छ। त्यसका लागि नयाँ प्रशोधन इकाइ स्थापना, निजी लगानी र निर्यात बजार विस्तारलाई प्रोत्साहन गरिएको छ।
कफी उत्पादनमा पनि आइभरी कोस्टको ऐतिहासिक भूमिका छ। स्वतन्त्रतापछिका दशकमा कफी र कोको देशका प्रमुख निर्यात वस्तु थिए। तर विश्व बजारको प्रतिस्पर्धा, उत्पादनमा गिरावट र किसानको कमजोर आम्दानीले कफी क्षेत्र प्रभावित भएको छ। पछिल्ला वर्षमा गुणस्तर सुधार, प्रशोधन र स्थानीय बजार विस्तारमा जोड दिइएको छ।
पाम तेल, रबर, कपास र फलफूलको उत्पादनले पनि कृषि अर्थतन्त्रलाई विविध बनाउने सम्भावना राख्छ। विशेषगरी पाम तेल तथा फलफूल प्रशोधन उद्योगले स्थानीय बजार र निर्यात दुवैमा अवसर सिर्जना गर्न सक्छन्।
कृषि विविधीकरणको मुख्य उद्देश्य एउटा उत्पादनको मूल्य वा उत्पादन घट्दा समग्र अर्थतन्त्रमा ठूलो धक्का नपरोस् भन्ने हो। कोकोको अन्तर्राष्ट्रिय मूल्यमा उतारचढाव हुँदा किसान, निर्यातकर्ता र सरकारी राजस्व प्रभावित हुन सक्छन्।
काजु, रबर, पाम तेल र अन्य कृषि उत्पादन विस्तारले जोखिम बाँड्न मद्दत गर्छ।
तर कृषि विविधीकरणका लागि उत्पादन मात्र बढाएर पुग्दैन। सिँचाइ, भण्डारण, ग्रामीण सडक, कृषि ऋण, बीमा, प्रविधि र बजार पहुँच आवश्यक हुन्छ। किसानले उत्पादन गरेको वस्तु प्रशोधन उद्योगसम्म पुर्याउन नसके स्थानीय मूल्य अभिवृद्धिको लक्ष्य पूरा हुँदैन।
निर्माण, ऊर्जा र विदेशी लगानीको विस्तार
सन् २०११ पछिको आर्थिक पुनरुत्थानमा पूर्वाधार निर्माणले महत्वपूर्ण भूमिका खेलेको छ। सरकारले सडक, पुल, बन्दरगाह, विद्युत् उत्पादन, सहरी यातायात र सार्वजनिक सेवामा लगानी बढायो। आबिद्जानलाई क्षेत्रीय व्यापार तथा वित्तीय केन्द्रका रूपमा विकास गर्ने रणनीतिसमेत अघि बढाइयो।
आबिद्जान बन्दरगाह आइभरी कोस्टको अर्थतन्त्रको महत्वपूर्ण प्रवेशद्वार हो। यसले देशको आयात–निर्यात कारोबार मात्र होइन, भूपरिवेष्ठित छिमेकी मुलुक बुर्किना फासो र मालीको व्यापारलाई पनि सेवा दिन्छ। बन्दरगाहको क्षमता, सडक सञ्जाल र ढुवानी पूर्वाधारमा भएको सुधारले क्षेत्रीय व्यापारमा देशको भूमिका बढाएको छ।
निर्माण क्षेत्रमा आएको विस्तारले सिमेन्ट, फलाम, निर्माण सामग्री, इन्जिनियरिङ, यातायात र श्रम बजारमा माग बढाएको छ। सहरी आवास, व्यावसायिक भवन, सडक र औद्योगिक संरचनाका परियोजनाले निजी क्षेत्रलाई समेत आकर्षित गरेका छन्।
ऊर्जा क्षेत्रमा पनि लगानी बढेको छ। विद्युत् उत्पादन क्षमता विस्तार, प्रसारण लाइन र वितरण प्रणाली सुधारले औद्योगिक गतिविधिका लागि आवश्यक आधार तयार गरेको छ। आइभरी कोस्टले आफ्नै विद्युत् आवश्यकता पूरा गर्ने र छिमेकी देशलाई समेत बिजुली निर्यात गर्ने क्षेत्रीय ऊर्जा केन्द्रका रूपमा विकास हुने लक्ष्य राखेको छ।
विश्व बैंकका अनुसार आइभरी कोस्टको विकास रणनीतिमा पूर्वाधार, ऊर्जा, कृषि व्यवसाय, उत्पादनमूलक उद्योग र सेवाक्षेत्रलाई जोड दिइएको छ। निजी लगानीलाई आर्थिक वृद्धिको प्रमुख चालक बनाउने उद्देश्यसहित विदेशी तथा स्वदेशी लगानीका लागि वातावरण सुधार गर्ने काम अघि बढाइएको छ।
विदेशी लगानीको प्रवृत्तिले पनि यस परिवर्तनलाई देखाउँछ। आइभरी कोस्टको आर्थिक पोर्टलमा प्रकाशित लगानी प्रवर्द्धनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१२ देखि २०२४ सम्म स्वीकृत कुल लगानीको परिमाण सात हजार २९५ अर्ब सीएफए फ्राङ्क पुगेको थियो। त्यसमध्ये विदेशी प्रत्यक्ष लगानी पाँच हजार २४२ अर्ब सीएफए फ्राङ्क थियो।
सन् २०२४ मा मात्रै विदेशी प्रत्यक्ष लगानी ४३६ अर्ब सीएफए फ्राङ्क पुगेको थियो। त्यस वर्ष लगानीको सबैभन्दा ठूलो हिस्सा कृषि तथा खाद्य प्रशोधन उद्योगमा गएको थियो। यस क्षेत्रमा कुल विदेशी लगानीको ३८.९१ प्रतिशत हिस्सा रहेको थियो। दूरसञ्चारमा २०.७३ प्रतिशत र अन्य उत्पादनमूलक उद्योगमा १०.६३ प्रतिशत लगानी भएको सरकारी तथ्याङ्क छ।
विश्व बैंक समूहको निजी क्षेत्रसम्बन्धी लगानी पनि उल्लेखनीय छ। सन् २०२५ जनवरीसम्म अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को आइभरी कोस्टमा लगानी पोर्टफोलियो करिब ७६ करोड १० लाख अमेरिकी डलर थियो। पछिल्ला पाँच वर्षमा आईएफसीले देशमा २ अर्ब ४० करोड डलरभन्दा बढी लगानी गरेको विश्व बैंक समूहले जनाएको छ।
यसले विदेशी लगानीकर्ताको चासो कृषि प्रशोधनमा मात्र सीमित नरहेको देखाउँछ। पूर्वाधार, वित्तीय सेवा, उद्योग, ऊर्जा, आवास र व्यापारमा पनि लगानीका अवसर विस्तार भएका छन्।
यद्यपि विदेशी लगानीको मात्रा बढ्नु मात्र पर्याप्त उपलब्धि होइन। लगानीबाट कति रोजगारी सिर्जना भयो, स्थानीय कम्पनीले कति प्रविधि र सीप प्राप्त गरे, उत्पादनको कति हिस्सा देशभित्रै रह्यो र निर्यात क्षमता कति बढ्यो भन्ने विषयले त्यसको वास्तविक प्रभाव निर्धारण गर्छ।
आर्थिक वृद्धिको निरन्तरता र क्षेत्रीय प्रभाव
आइभरी कोस्टको आर्थिक विस्तारले यसलाई पश्चिम अफ्रिकाको महत्वपूर्ण आर्थिक केन्द्रका रूपमा स्थापित गरेको छ। आबिद्जानमा बैंक, बीमा कम्पनी, व्यापारिक प्रतिष्ठान, बन्दरगाह, उद्योग र क्षेत्रीय संस्थाको उपस्थिति बढेको छ। पश्चिम अफ्रिकी आर्थिक तथा मौद्रिक संघ (यूईएमओए) को सदस्य भएकाले देशले साझा मुद्रा र क्षेत्रीय बजारको लाभ पनि लिँदै आएको छ।
यूईएमओएको साझा मुद्रा सीएफए फ्राङ्कले क्षेत्रीय कारोबारमा विनिमय दरको अनिश्चितता कम गर्छ। आबिद्जानको बन्दरगाह र व्यापारिक संरचनाले बुर्किना फासो, माली र अन्य भूपरिवेष्ठित मुलुकलाई समुद्री व्यापारसँग जोड्छ। यसले आइभरी कोस्टको आर्थिक महत्व राष्ट्रिय सीमाभन्दा बाहिरसम्म विस्तार गरेको छ।
आर्थिक वृद्धिको तथ्याङ्कले पनि यसको परिवर्तन देखाउँछ। विश्व बैंकका अनुसार सन् २०२१ देखि २०२३ सम्म वास्तविक कुल गार्हस्थ्य उत्पादन औसत ६.५ प्रतिशतले बढेको थियो।
सन् २०२४ मा ६.३ प्रतिशत र सन् २०२५ मा पनि ६.३ प्रतिशत वृद्धि भएको पछिल्लो देशगत विवरणमा उल्लेख छ। निर्माण, सेवा, खानी तथा ऊर्जा क्षेत्रको विस्तार र कृषि निर्यातले आर्थिक गतिविधिलाई सहयोग गरेका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ जुनमा सार्वजनिक विवरणले सन् २०२५ मा आर्थिक वृद्धि ६.५ प्रतिशत रहेको र मुद्रास्फीति ०.१ प्रतिशतमा झरेको उल्लेख गरेको छ। तर सन् २०२६ को वृद्धि ६.१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। विभिन्न संस्थाका तथ्याङ्कमा राष्ट्रिय लेखा संशोधन र अनुमानको समयका कारण केही भिन्नता देखिन सक्छ।
सन् २०२१–२०२५ को राष्ट्रिय विकास योजनाले पूर्वाधार, निजी क्षेत्र, मानव पुँजी, ऊर्जा र सामाजिक सेवामा ठूलो लगानी परिचालन गर्ने लक्ष्य राखेको थियो।
विश्व बैंकका अनुसार योजनाको अनुमानित आकार ५९ हजार अर्ब सीएफए फ्राङ्क अर्थात् करिब १०० अर्ब अमेरिकी डलर थियो। सन् २०२६–२०३० का लागि सरकारले थप ठूलो राष्ट्रिय विकास योजना अघि सारेको छ, जसको घोषित लगानी आकार २०६ अर्ब अमेरिकी डलर छ।
यो योजनाले देशलाई उच्च मध्यम आय भएको अर्थतन्त्रतर्फ लैजाने, गरिबी घटाउने र लाखौँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। तर लक्ष्य प्राप्त गर्न सरकारी खर्च र विदेशी लगानी मात्र पर्याप्त हुँदैन। स्थानीय उत्पादन, निजी उद्यम, दक्ष जनशक्ति र निर्यात क्षमतामा सुधार आवश्यक हुन्छ।
उच्च वृद्धिको छायामा गरिबी र असमानता
आइभरी कोस्टको आर्थिक पुनरुत्थान उल्लेखनीय भए पनि त्यसको लाभ सबै नागरिकसम्म समान रूपमा पुगेको छैन। उच्च आर्थिक वृद्धिका बाबजुद गरिबी र क्षेत्रीय असमानता देशका ठूला चुनौती बनेका छन्।
विश्व बैंकको तथ्याङ्कअनुसार सन् २०११ मा गरिबीको दर ५५ प्रतिशतभन्दा माथि पुगेको थियो। आर्थिक पुनरुत्थानसँगै सन् २०१५ मा यो ४४.४ प्रतिशत र सन् २०१८ मा ३९.४ प्रतिशतमा झरेको थियो। तर सन् २०२१ मा राष्ट्रिय गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ३७.५ प्रतिशत थियो।
पछिल्ला वर्षमा पनि गरिबी घट्ने गति अपेक्षाअनुसार तीव्र हुन सकेको छैन। विश्व बैंकको सन् २०२४ को गरिबी तथा समानता विवरणअनुसार सन् २०२० मा ३८.५ प्रतिशत रहेको गरिबी सन् २०२२ मा ३६.५ प्रतिशतमा झरेको थियो। तर सन् २०२३ मा पुनः ३८ प्रतिशत पुगेको र सन् २०२४ मा ३६.५ प्रतिशत रहेको अनुमान गरिएको छ।
यसले आर्थिक वृद्धि र आम नागरिकको जीवनस्तरबीच अझै दूरी रहेको देखाउँछ। आबिद्जानजस्ता सहरी क्षेत्रमा आर्थिक अवसर, सेवा र पूर्वाधारको पहुँच तुलनात्मक रूपमा राम्रो छ। तर ग्रामीण क्षेत्रमा गरिबीको दर उच्च छ। विश्व बैंकका अनुसार ग्रामीण गरिबी ५० प्रतिशतभन्दा माथि रहँदा आबिद्जानमा यो करिब २० प्रतिशत छ।
रोजगारीको गुणस्तर पनि चुनौती हो। कृषि क्षेत्रमा ठूलो जनसङ्ख्या आश्रित भए पनि धेरै किसानको उत्पादन निर्वाहमुखी वा कम उत्पादकत्वमा आधारित छ। सहरी क्षेत्रमा अनौपचारिक रोजगारीको हिस्सा ठूलो छ। युवालाई पर्याप्त सीप र स्थायी रोजगारी उपलब्ध गराउन नसक्दा आर्थिक वृद्धिको लाभ सीमित समूहमा केन्द्रित हुने जोखिम रहन्छ।
मानव पुँजी विकास अर्को महत्वपूर्ण विषय हो। शिक्षा, स्वास्थ्य, पोषण र प्राविधिक सीपमा लगानी नगरी उच्च आय भएको अर्थतन्त्र निर्माण गर्न कठिन हुन्छ। विश्व बैंकले कमजोर मानव पुँजी, पूर्वाधारको असमान पहुँच, वित्तीय स्रोतको सीमितता र भूमि बजारको खण्डीकरणलाई दीर्घकालीन विकासका अवरोधका रूपमा औँल्याएको छ।
जलवायु परिवर्तनले कृषि क्षेत्रमा थप जोखिम सिर्जना गरेको छ। कोको र कफी उत्पादन मौसम, तापक्रम र वर्षामा निर्भर हुन्छन्। वन विनाश, माटोको उर्वराशक्ति घट्नु र अनियमित वर्षाले कृषि उत्पादकत्व प्रभावित हुन सक्छ। विश्व बजारमा कोकोको मूल्य बढ्दा आम्दानी बढे पनि उत्पादन घटेमा किसान र उद्योग दुवै प्रभावित हुन्छन्।
आइभरी कोस्टको कोको क्षेत्रलाई वन संरक्षण र दिगो उत्पादनसँग जोड्नु अहिलेको अर्को महत्वपूर्ण चुनौती हो। युरोपेली बजारमा वन विनाशसँग सम्बन्धित कृषि वस्तुको आयात नियन्त्रण गर्ने नियम कडा हुँदै जाँदा उत्पादनको स्रोत, जमिनको अवस्था र आपूर्ति शृङ्खलाको पारदर्शिता सुनिश्चित गर्नुपर्ने दबाब बढेको छ।
अबको परीक्षा : वृद्धिलाई समावेशी बनाउने
आइभरी कोस्टको सन् २०११ पछिको आर्थिक यात्रा राजनीतिक संकटबाट बाहिर निस्केर पुनर्निर्माण र विस्तारतर्फ अघि बढेको उदाहरण हो। राजनीतिक द्वन्द्वले विभाजित देशले प्रशासनिक संरचना पुनःस्थापित गर्यो, सार्वजनिक पूर्वाधारमा लगानी बढायो र निजी क्षेत्रलाई आर्थिक वृद्धिको साझेदार बनाउने प्रयास गर्यो।
कोको र कफीको कच्चा उत्पादन तथा निर्यातमा निर्भर अर्थतन्त्रलाई कृषि प्रशोधन, काजु उद्योग, निर्माण, ऊर्जा, वित्तीय सेवा र व्यापारतर्फ विस्तार गर्ने प्रयास भएको छ।
कोको प्रशोधनको अनुपात बढ्नु र काजु उद्योगको क्षमता विस्तार हुनु यस परिवर्तनका ठोस संकेत हुन्। विदेशी लगानीको प्रवाहले पनि देशको व्यावसायिक वातावरणप्रति अन्तर्राष्ट्रिय चासो बढेको देखाउँछ।
तर यो उपलब्धिलाई पूर्ण आर्थिक रूपान्तरण भन्न अझै हतार हुन्छ। उच्च वृद्धिका बाबजुद गरिबी उल्लेखनीय छ। ग्रामीण र सहरी क्षेत्रबीच ठूलो अन्तर छ। उत्पादनमूलक रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्यको गुणस्तर, कृषि उत्पादकत्व र निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता सुधार्नुपर्ने अवस्था छ।
राजनीतिक स्थिरता पनि दीर्घकालीन लगानीको आधार हो। आइभरी कोस्टले विगतका द्वन्द्वबाट प्राप्त अनुभवलाई संस्थागत सुधार, समावेशी शासन र राष्ट्रिय मेलमिलापमा रूपान्तरण गर्न सके मात्रै आर्थिक उपलब्धि टिकाउ बन्न सक्छ।
देशले अब कच्चा कृषि उत्पादन बेच्ने अर्थतन्त्रबाट प्रशोधित वस्तु निर्यात गर्ने, निर्माणमा आधारित वृद्धिबाट उत्पादनमूलक उद्योग विस्तार गर्ने र सरकारी लगानीसँगै निजी उद्यमलाई रोजगारीको प्रमुख स्रोत बनाउने दिशामा अघि बढ्नुपर्नेछ।
आइभरी कोस्टको अनुभवले एउटा महत्वपूर्ण पाठ दिन्छ-राजनीतिक संकटबाट बाहिर निस्कनु आर्थिक पुनरुत्थानको सुरुवात हो, अन्तिम उपलब्धि होइन। स्थिर शासन, पूर्वाधार, निजी लगानी र निर्यात विस्तारले अर्थतन्त्रलाई गति दिन सक्छन्। तर त्यसको वास्तविक सफलता नागरिकको आम्दानी, रोजगारी, शिक्षा, स्वास्थ्य र जीवनस्तरमा आएको सुधारबाट मापन हुन्छ।
सन् २०११ पछिको पुनरुत्थानले आइभरी कोस्टलाई पश्चिम अफ्रिकाको प्रभावशाली अर्थतन्त्रमध्ये एक बनाएको छ। अब उसको अगाडिको चुनौती आर्थिक वृद्धिलाई अझ व्यापक, उत्पादनमूलक र समावेशी बनाउनु हो।
कोकोको खेतदेखि प्रशोधन कारखानासम्म, बन्दरगाहदेखि क्षेत्रीय बजारसम्म र विदेशी लगानीदेखि स्थानीय उद्यमसम्म फैलिएको आर्थिक संरचनाले यही रूपान्तरणको आधार तयार गर्न सक्छ।
