क्यारेबियन क्षेत्रमा अवस्थित डोमिनिकन रिपब्लिकको आर्थिक रूपान्तरणको कथा एउटा महत्वपूर्ण नीतिगत परिवर्तनसँग जोडिएको छ—परम्परागत कृषि र प्राकृतिक स्रोतमा निर्भर अर्थतन्त्रलाई पर्यटन, उत्पादन, सेवा र निर्यातसँग जोड्ने प्रयास।
उखु, कफी, कोको र खानीजन्य वस्तुको उत्पादन तथा निर्यातबाट परिचित यो देश अहिले क्यारेबियन क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य र निर्यात उत्पादन केन्द्रमध्ये एक बनेको छ।
यस परिवर्तनमा समुद्री पर्यटनको विस्तारसँगै निर्यात प्रशोधन क्षेत्र, विदेशी लगानी, मुक्त व्यापार सम्झौता र मेडिकल उपकरण उत्पादन उद्योगको भूमिका महत्वपूर्ण छ।
विशेषगरी अमेरिकी बजारसँगको भौगोलिक निकटता र व्यापारिक सम्बन्धले डोमिनिकन रिपब्लिकलाई अन्तर्राष्ट्रिय कम्पनीका लागि उत्पादन तथा आपूर्ति शृङ्खलाको आकर्षक केन्द्र बनाएको छ।
डोमिनिकन रिपब्लिकको विशेषता के हो भने यसको रूपान्तरण कुनै एउटा प्राकृतिक स्रोत वा एउटै उद्योगको भरमा भएको होइन। सरकारले सन् १९६९ मै पहिलो निर्यात प्रशोधन क्षेत्र स्थापना गरेको थियो।
त्यसपछि सन् १९८० र १९९० को दशकमा व्यापार उदारीकरण, विदेशी लगानीका लागि कर छुट, पर्यटन पूर्वाधार र निजी क्षेत्र विस्तारका नीतिले अर्थतन्त्रको दिशा बदल्न थाले। विश्व बैंकले यसलाई कृषि वस्तु निर्यात गर्ने अर्थतन्त्रबाट उत्पादन, खानी र सेवा निर्यात गर्ने अर्थतन्त्रतर्फको संरचनात्मक परिवर्तनका रूपमा व्याख्या गरेको छ।
आज यसको निर्यात प्रशोधन क्षेत्रबाट मेडिकल तथा औषधिजन्य उत्पादन सबैभन्दा ठूलो निर्यात समूह बनेको छ। सन् २०२५ मा यी क्षेत्रबाट मात्रै २ अर्ब ८९ करोड अमेरिकी डलर बराबरका वस्तु निर्यात भए। पर्यटनमा पनि सन् २०२५ मा हवाईमार्गबाट ८८ लाख ६० हजारभन्दा बढी गैरआवासीय पर्यटक पुगे।
यो उपलब्धि कसरी सम्भव भयो? कृषि निर्भर अर्थतन्त्रले पर्यटन, निर्यात प्रशोधन र मेडिकल उपकरण उत्पादनमा कसरी स्थान बनायो? र तीव्र आर्थिक वृद्धिका बाबजुद गरिबी तथा असमानताको चुनौती किन बाँकी छ? डोमिनिकन रिपब्लिकको अनुभवले यी प्रश्नको जवाफ दिन्छ।
उखु र कृषिमा निर्भर पुरानो अर्थतन्त्र
डोमिनिकन रिपब्लिक क्यारेबियन समुद्रमा रहेको हिस्पानियोला द्वीपको पूर्वी भागमा अवस्थित छ। यसको पश्चिममा हाइटी छ भने उत्तर र पूर्वतर्फ एटलान्टिक महासागर तथा दक्षिणमा क्यारेबियन समुद्र फैलिएको छ। भौगोलिक अवस्थिति, समुद्री तट र अमेरिकी बजारसँगको निकटताले यसको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्।
लामो समयसम्म देशको अर्थतन्त्र कृषि उत्पादनमा आधारित थियो। उखु, चिनी, कफी, कोको र सुर्ती प्रमुख उत्पादन तथा निर्यात वस्तु थिए। विशेषगरी चिनी उद्योगले देशको रोजगारी, निर्यात आम्दानी र ग्रामीण अर्थतन्त्रमा ठूलो प्रभाव पारेको थियो।
तर कृषि वस्तुको अन्तर्राष्ट्रिय मूल्यमा हुने उतारचढावले अर्थतन्त्रलाई अस्थिर बनाउँथ्यो। चिनीको मूल्य घट्दा निर्यात आम्दानी प्रभावित हुन्थ्यो। उत्पादन लागत, मौसम र अन्तर्राष्ट्रिय बजारको मागमा निर्भर कृषि प्रणालीले स्थिर तथा उच्च आर्थिक वृद्धि सुनिश्चित गर्न सकेको थिएन।
सन् १९६१ मा राफेल त्रुजिलोको तीन दशक लामो तानाशाही शासन अन्त्य भएपछि देश राजनीतिक संक्रमणमा प्रवेश गर्यो। सन् १९६३ मा निर्वाचित सरकार अपदस्थ भयो र सन् १९६५ मा गृहयुद्ध भयो। त्यसपछि अमेरिकी सैन्य हस्तक्षेप र राजनीतिक पुनर्संरचनाको प्रक्रिया अघि बढ्यो। यी घटनाले राज्यका संस्था र आर्थिक नीतिमा प्रभाव पारे।
त्यसपछिका वर्षमा राजनीतिक स्थिरता र आर्थिक विकासलाई जोड्ने प्रयास सुरु भयो। सरकारले औद्योगिकीकरण र आयात प्रतिस्थापनलाई प्राथमिकता दियो। देशभित्रै उत्पादन बढाउने, विदेशी वस्तुको आयात घटाउने र घरेलु उद्योग स्थापना गर्ने नीति अघि बढाइयो।
तर सानो घरेलु बजार र सीमित औद्योगिक क्षमताले यो रणनीतिलाई लामो समयसम्म प्रभावकारी बनाउन सकेन। कृषि उत्पादनमा निर्भरता पनि कायमै रह्यो। सन् १९८० को दशकमा उच्च मुद्रास्फीति, वित्तीय असन्तुलन, ऋणको दबाब र व्यापारसम्बन्धी प्रतिबन्धले अर्थतन्त्रलाई थप कमजोर बनायो।
सन् १९८० को दशक धेरै ल्याटिन अमेरिकी अर्थतन्त्रका लागि ‘हराएको दशक’ मानिन्छ। डोमिनिकन रिपब्लिक पनि यसबाट अछुतो रहेन। वित्तीय घाटा, विदेशी मुद्रा अभाव, मूल्य नियन्त्रण र कमजोर निर्यात प्रतिस्पर्धाले आर्थिक गतिविधि प्रभावित बनायो।
सन् १९९० मा मुद्रास्फीति ७९.९ प्रतिशत पुगेको र कुल गार्हस्थ्य उत्पादन ५ प्रतिशतले खुम्चिएको विश्व व्यापार संगठनको ऐतिहासिक विवरणमा उल्लेख छ।
यही आर्थिक दबाबले देशलाई पुरानो आर्थिक मोडेल परिवर्तन गर्न बाध्य बनायो। कृषि उत्पादनमा मात्र निर्भर रहनुभन्दा पर्यटन, उत्पादनमूलक उद्योग र विदेशी लगानीलाई नयाँ विकासको आधार बनाउने सोच अघि आयो।
खुला अर्थतन्त्र र निर्यात प्रशोधन क्षेत्र
डोमिनिकन रिपब्लिकको आर्थिक रूपान्तरणमा निर्यात प्रशोधन क्षेत्र अर्थात् फ्री ट्रेड जोनको भूमिका अत्यन्त महत्वपूर्ण छ। यी क्षेत्रले विदेशी कम्पनीलाई कर तथा भन्सार छुटसहित उत्पादन स्थापना गर्ने सुविधा दिन्छन्। कम्पनीले आयातित कच्चा पदार्थ र उपकरण प्रयोग गरेर देशभित्र वस्तु उत्पादन गर्छन् र त्यसलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्छन्।
देशले सन् १९६९ मै पहिलो फ्री ट्रेड जोन स्थापना गरेको थियो। तर सन् १९८० र १९९० को दशकमा यसको विस्तार तीव्र भयो। सरकारले निर्यातमुखी उद्योगलाई प्रोत्साहन गर्न कर छुट, भन्सार सुविधा र विदेशी लगानीसम्बन्धी प्रतिबन्ध खुकुलो बनायो।
सन् १९९० देखि सरकारले व्यापार नीति, कर प्रणाली, वित्तीय क्षेत्र र श्रम बजारमा सुधार अघि बढायो। विदेशी लगानीका लागि कानुनी वातावरण सहज बनाइयो।
नाफा विदेश पठाउने सुविधा, आयातित कच्चा पदार्थमा भन्सार छुट र निर्यातमुखी उत्पादनका लागि विशेष व्यवस्था गरियो। सन् १९९६ को विश्व व्यापार संगठनको समीक्षा प्रतिवेदनले यी सुधारपछि फ्री ट्रेड जोन र पर्यटन विदेशी मुद्रा आर्जनका प्रमुख स्रोत बनेको उल्लेख गरेको छ।
सन् १९९० को दशकको दोस्रो भागमा आर्थिक गतिविधि तीव्र भयो। सन् १९९६ देखि २००० सम्म अर्थतन्त्र औसतमा वार्षिक करिब ७.७ प्रतिशतले विस्तार भएको थियो। पर्यटन, दूरसञ्चार, निर्माण र निर्यात प्रशोधन उद्योग यस वृद्धिका प्रमुख आधार बने।
फ्री ट्रेड जोनमा सुरुमा कपडा, जुत्ता, सुर्तीजन्य वस्तु र सामान्य उपभोग्य सामानको उत्पादन बढी थियो। अमेरिकी बजारसँगको निकटता र व्यापारिक प्राथमिकताले कम्पनीहरूलाई यहाँ उत्पादन स्थापना गर्न आकर्षित गर्यो। कम लागतमा उत्पादन गर्न सकिने, समुद्री ढुवानी सहज हुने र अमेरिकी बजारमा पहुँच प्राप्त हुने कारण डोमिनिकन रिपब्लिक अन्तर्राष्ट्रिय उत्पादन शृङ्खलामा जोडिन थाल्यो।
तर समयसँगै विश्व व्यापारको संरचना बदलियो। एसियाली मुलुकबाट सस्तो कपडा तथा तयारी पोसाकको प्रतिस्पर्धा बढेपछि डोमिनिकन रिपब्लिकको परम्परागत कपडा उद्योगमाथि दबाब आयो।
त्यसपछि देशले उत्पादनको प्रकृति बदल्न थाल्यो। सामान्य श्रमप्रधान उत्पादनबाट उच्च मूल्यका वस्तु, मेडिकल उपकरण, औषधिजन्य सामग्री, विद्युतीय उपकरण र अन्य औद्योगिक वस्तुतर्फ विस्तार भयो।
यस परिवर्तनले फ्री ट्रेड जोनलाई केवल कर छुट पाउने क्षेत्रबाट अन्तर्राष्ट्रिय उत्पादन सञ्जालको हिस्सा बनायो। अहिले त्यहाँ उत्पादनसँगै गुणस्तर परीक्षण, प्याकेजिङ, आपूर्ति व्यवस्थापन र अन्य व्यावसायिक सेवा पनि सञ्चालन भइरहेका छन्।
सन् २०२५ मा डोमिनिकन रिपब्लिकका फ्री ट्रेड जोनमा ९८ औद्योगिक पार्कभित्र ८५८ कम्पनी सञ्चालनमा थिए। ती कम्पनीले दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गरेका थिए। सोही वर्ष यी क्षेत्रबाट ८ अर्ब ५४ करोड ८६ लाख अमेरिकी डलर बराबरको निर्यात भएको थियो। यो देशको कुल वस्तु निर्यातको करिब ५४ प्रतिशत हो।
यसले निर्यात प्रशोधन क्षेत्र डोमिनिकन रिपब्लिकको आर्थिक संरचनामा कति महत्वपूर्ण बनेको छ भन्ने देखाउँछ।
समुद्री तटबाट विश्वस्तरीय पर्यटन गन्तव्यसम्म
डोमिनिकन रिपब्लिकको आर्थिक रूपान्तरणको अर्को प्रमुख आधार पर्यटन हो। क्यारेबियन समुद्रका सुन्दर समुद्री तट, उष्णकटिबन्धीय मौसम, होटल तथा रिसोर्ट, सांस्कृतिक सम्पदा र अमेरिकी बजारसँगको सहज हवाई सम्पर्कले यसलाई अन्तर्राष्ट्रिय पर्यटकको आकर्षक गन्तव्य बनाएको छ।
पर्यटन विकासको सम्भावना सरकारले सन् १९६० को दशकबाटै पहिचान गरेको थियो। सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको अध्ययनले देशमा पर्यटन विस्तारको सम्भावना औँल्याएको थियो। त्यसपछि सन् १९६८ मा पर्यटनलाई राष्ट्रिय विकास रणनीतिमा प्राथमिकता दिइयो र सन् १९६९ मा पर्यटन प्रवर्द्धनका लागि सरकारी संरचना स्थापना गरियो।
तर पर्यटनको वास्तविक विस्तार सन् १९८० र १९९० को दशकमा भयो। सरकारले होटल निर्माणमा लगानी आकर्षित गर्न कर छुट र अन्य सुविधा उपलब्ध गरायो। विदेशी होटल चेन तथा रिसोर्ट सञ्चालकलाई लगानीका लागि प्रोत्साहित गरियो। विमानस्थल, सडक, बन्दरगाह र पर्यटकीय पूर्वाधार विस्तार गरियो।
देशको पूर्वी तटीय क्षेत्र पुन्दा कानाले अन्तर्राष्ट्रिय पर्यटनको नयाँ पहिचान बनायो। सेतो बालुवा, नीलो समुद्र र रिसोर्टमा आधारित पर्यटनले युरोप तथा उत्तर अमेरिकाबाट ठूलो सङ्ख्यामा पर्यटक आकर्षित गर्यो। राजधानी सान्तो दोमिङ्गोको ऐतिहासिक सम्पदा, सामाना क्षेत्र, पुएर्तो प्लाता र अन्य तटीय गन्तव्यले पर्यटनको विविधता बढाए।
पर्यटन विस्तारले होटल र रिसोर्टमा मात्र होइन, यातायात, रेस्टुरेन्ट, मनोरञ्जन, निर्माण, कृषि आपूर्ति, खुद्रा व्यापार र अन्य सेवामा पनि आर्थिक गतिविधि बढायो। होटलमा प्रयोग हुने खाद्य सामग्री, फर्निचर, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तुको मागले स्थानीय व्यवसायलाई बजार उपलब्ध गरायो।
सन् २०१५ मा देशमा करिब ७२ हजार होटल कोठा थिए। सन् २०२४ सम्म यो सङ्ख्या बढेर ९० हजार पुगेको सरकारी लगानी मार्गदर्शिकामा उल्लेख छ। सन् २०२४ मा होटलको औसत अकुपेन्सी दर ७६.४ प्रतिशत थियो र होटल क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब चार लाख रोजगारी सिर्जना भएको अनुमान गरिएको छ।
पर्यटनबाट प्राप्त आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। सन् २०१५ मा होटल क्षेत्रको आम्दानी ६ अर्ब ११ करोड ५९ लाख अमेरिकी डलर थियो। सन् २०२४ मा यो बढेर १० अर्ब ७१ करोड २४ लाख डलर पुगेको सरकारी तथ्याङ्क छ।
कोभिड–१९ महामारीले पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्यायो। अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धका कारण सन् २०२० मा हवाईमार्गबाट आउने गैरआवासीय पर्यटकको सङ्ख्या २४ लाखमा सीमित भयो। होटल अकुपेन्सी दर ४०.५ प्रतिशतमा झर्यो। पर्यटन आम्दानी पनि सन् २०१९ को तुलनामा तीव्र रूपमा घट्यो।
तर सरकारले पर्यटन क्षेत्र पुनःसञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, होटल तथा विमानस्थल सञ्चालन र अन्तर्राष्ट्रिय प्रचारमा जोड दियो। पर्यटकका लागि स्वास्थ्यसम्बन्धी सहयोग कार्यक्रमसमेत ल्याइयो। त्यसपछि पर्यटन क्षेत्र छिटो पुनरुत्थान भयो।
सन् २०२४ मा हवाई तथा समुद्री मार्गबाट कुल १ करोड १२ लाखभन्दा बढी पर्यटक पुगेका थिए। सन् २०२५ मा हवाईमार्गबाट मात्रै ८८ लाख ६० हजार ७०९ गैरआवासीय पर्यटक आएका थिए। यो सन् २०२४ को तुलनामा ३.८ प्रतिशत बढी हो।
पर्यटनले देशलाई विदेशी मुद्रा, रोजगारी र लगानी उपलब्ध गराएको छ। तर यससँग केही जोखिम पनि जोडिएका छन्। महामारी, अन्तर्राष्ट्रिय आर्थिक मन्दी, हवाई सम्पर्कमा अवरोध र पर्यटकको खर्च क्षमतामा हुने परिवर्तनले पर्यटन आम्दानी प्रभावित पार्न सक्छ। तटीय क्षेत्रमा अत्यधिक निर्माण, फोहोर व्यवस्थापन र प्राकृतिक स्रोत संरक्षण पनि दीर्घकालीन चुनौती हुन्।
त्यसैले डोमिनिकन रिपब्लिकले समुद्री रिसोर्टमा आधारित पर्यटनसँगै सांस्कृतिक, पर्यावरणीय, ग्रामीण र साहसिक पर्यटन विस्तार गर्ने प्रयास गरिरहेको छ।
मेडिकल उपकरण : नयाँ औद्योगिक पहिचान
डोमिनिकन रिपब्लिकको आर्थिक रूपान्तरणमा सबैभन्दा रोचक पक्ष मेडिकल उपकरण उत्पादनको विस्तार हो। कुनै समय उखु, चिनी, कफी र सुर्ती निर्यातमा निर्भर रहेको देश अहिले अमेरिकी बजारमा मेडिकल उपकरण तथा औषधिजन्य वस्तु निर्यात गर्ने महत्वपूर्ण उत्पादन केन्द्र बनेको छ।
यस उद्योगको विकास फ्री ट्रेड जोनको विस्तारसँग जोडिएको छ। विदेशी कम्पनीलाई कर छुट, भन्सार सुविधा, अमेरिकी बजारको निकटता र तुलनात्मक रूपमा प्रतिस्पर्धी उत्पादन लागत उपलब्ध भएपछि मेडिकल उपकरण निर्माता कम्पनीहरू देशमा आकर्षित भए।
मेडिकल उपकरण उत्पादन सामान्य कपडा वा उपभोग्य वस्तु उत्पादनभन्दा फरक हुन्छ। यसका लागि उच्च गुणस्तरको कच्चा पदार्थ, प्रशिक्षित श्रमिक, सफा उत्पादन वातावरण, कडा गुणस्तर परीक्षण र अन्तर्राष्ट्रिय नियामकीय मापदण्ड पालना गर्नुपर्छ। त्यसैले यो क्षेत्रमा कम्पनीको उपस्थिति बढ्नुले देशको औद्योगिक क्षमता पनि माथि उठेको संकेत गर्छ।
सन् २०२४ मा फ्री ट्रेड जोनबाट मेडिकल तथा औषधिजन्य उत्पादनको निर्यात २ अर्ब ७६ करोड २६ लाख अमेरिकी डलर पुगेको थियो। यो फ्री ट्रेड जोनको कुल निर्यातको ३२.८ प्रतिशत हो।
सन् २०२० मा यस क्षेत्रको निर्यात १ अर्ब ८१ करोड डलर थियो। चार वर्षमै निर्यातमा उल्लेखनीय वृद्धि भएको सरकारी लगानी मार्गदर्शिकाले देखाउँछ।
सन् २०२५ मा मेडिकल तथा औषधिजन्य उत्पादनको निर्यात अझ बढेर २ अर्ब ८९ करोड ४ लाख डलर पुगेको थियो। यो फ्री ट्रेड जोनबाट भएको कुल निर्यातको ३३.८ प्रतिशत हो। यससँगै मेडिकल तथा औषधिजन्य वस्तु फ्री ट्रेड जोनको सबैभन्दा ठूलो निर्यात समूह बने।
यस क्षेत्रमा काम गर्ने कम्पनीले शल्यक्रियामा प्रयोग हुने उपकरण, अस्पतालका सामग्री, निदान उपकरण, मेडिकल ट्युब, क्याथेटर, कृत्रिम अंगसम्बन्धी सामग्री, औषधिजन्य उत्पादन र अन्य स्वास्थ्य उपकरण बनाउँछन्।
आर्थिक वर्ष २०२५ सम्म देशमा ४२ वटा मेडिकल उपकरण उत्पादक कम्पनी सञ्चालनमा रहेको सरकारी औद्योगिक क्षेत्रसम्बन्धी विवरणमा उल्लेख छ। ती उद्योगमा प्रत्यक्ष रूपमा करिब ३४ हजार श्रमिक कार्यरत थिए। यी कम्पनीमध्ये विश्वका प्रमुख मेडिकल उपकरण उत्पादक कम्पनीहरू पनि छन्।
यस क्षेत्रको अर्को विशेषता अमेरिकी बजारसँगको निकटता हो। डोमिनिकन रिपब्लिकबाट अमेरिका पुग्न समुद्री तथा हवाई ढुवानी तुलनात्मक रूपमा सहज छ। अमेरिकी कम्पनीले आफ्नै बजार नजिक उत्पादन गर्न पाउँछन् भने अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा ढुवानी समय र लागत घटाउन सक्छन्।
अर्गनाइजेसन फर इकोनोमिक को–अपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को अध्ययनअनुसार सन् २०२३ मा डोमिनिकन रिपब्लिकको मेडिकल उपकरण उत्पादनमा विश्वव्यापी तुलनात्मक प्रतिस्पर्धात्मकता निकै उच्च थियो।
मेडिकल उपकरणको एक प्रमुख वर्गमा यसको निर्यात १ अर्ब ३२ करोड २० लाख डलर पुगेको थियो। त्यस वर्ष अमेरिकाले डोमिनिकन रिपब्लिकबाट ९० करोड ७० लाख डलर बराबरका यस्ता उपकरण आयात गरेको थियो।
यसले देशको उत्पादन क्षमता सामान्य श्रमप्रधान उद्योगबाट उच्च गुणस्तर र नियमन आवश्यक पर्ने औद्योगिक उत्पादनतर्फ विस्तार भएको देखाउँछ।
तर मेडिकल उपकरण उद्योगलाई निरन्तर विस्तार गर्न प्राविधिक शिक्षा, गुणस्तर परीक्षण प्रयोगशाला, नियामकीय क्षमता, अनुसन्धान र स्थानीय आपूर्तिकर्ताको विकास आवश्यक हुन्छ। अहिले पनि उद्योगका धेरै कच्चा पदार्थ तथा उच्च प्रविधिका उपकरण आयातमा निर्भर छन्। स्थानीय कम्पनीलाई अन्तर्राष्ट्रिय उत्पादन शृङ्खलामा जोड्नु आगामी चरणको महत्वपूर्ण काम हो।
विदेशी लगानी र अमेरिकी बजारसँगको सम्बन्ध
डोमिनिकन रिपब्लिकको आर्थिक रूपान्तरणमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) निर्णायक आधारमध्ये एक हो। देशको भौगोलिक अवस्थिति, अमेरिकी बजारसँगको निकटता, पर्यटन सम्भावना, फ्री ट्रेड जोन, व्यापार सम्झौता र लगानीमैत्री कानुनी व्यवस्थाले विदेशी कम्पनीलाई आकर्षित गरेको छ।
अमेरिका यसको प्रमुख व्यापारिक साझेदार हो। ऐतिहासिक रूपमा अमेरिकी कम्पनीले कपडा, इलेक्ट्रोनिक्स, मेडिकल उपकरण र अन्य उत्पादनका लागि डोमिनिकन रिपब्लिकलाई उत्पादन केन्द्रका रूपमा उपयोग गरेका छन्। क्यारेबियन क्षेत्र र मध्य अमेरिकी बजारमा पहुँच पनि विदेशी लगानीकर्ताका लागि महत्वपूर्ण पक्ष हो।
सन् १९९० को दशकमा विदेशी लगानीसम्बन्धी प्रतिबन्ध खुकुलो पारियो। नाफा विदेश पठाउन सहज बनाइयो र विदेशी तथा स्वदेशी लगानीकर्तालाई समान व्यवहार गर्ने कानुनी व्यवस्था अघि बढाइयो। फ्री ट्रेड जोनमा उत्पादन तथा निर्यात गर्ने कम्पनीलाई कर तथा भन्सार छुट दिइयो। यसले पर्यटन, खानी, दूरसञ्चार र उत्पादनमूलक उद्योगमा लगानी बढायो।
सन् २०२४ मा डोमिनिकन रिपब्लिकमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह उल्लेखनीय रह्यो। देशको लगानी प्रवर्द्धन निकाय प्रो डोमिनिकानाका अनुसार त्यस वर्ष विदेशी लगानीबाट सञ्चालित कम्पनीहरूको निर्यात ८ अर्ब ९० करोड डलर पुगेको थियो। मेडिकल तथा औषधिजन्य उत्पादनबाट मात्रै २ अर्ब ८० करोड डलर बराबरको निर्यात भएको थियो।
सन् २०२५ मा देशले ५ अर्ब डलरभन्दा बढी विदेशी प्रत्यक्ष लगानी प्राप्त गरेको ओईसीडीको सन् २०२६ को प्रतिवेदनमा उल्लेख छ। फ्री ट्रेड जोनमा ८५० भन्दा बढी कम्पनीले करिब दुई लाख प्रत्यक्ष रोजगारी सिर्जना गरेका थिए।
विदेशी लगानीको प्रभाव केवल पूँजी भित्रिनुमा सीमित छैन। यसले नयाँ प्रविधि, उत्पादन व्यवस्थापन, अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड, सीप र बजारसम्बन्धी ज्ञान पनि भित्र्याउँछ। स्थानीय श्रमिक र कम्पनीले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा काम गर्ने अवसर पाउँछन्।
तर विदेशी लगानीको लाभ अधिकतम बनाउन स्थानीय अर्थतन्त्रसँग यसको सम्बन्ध बलियो हुनुपर्छ।
कम्पनीले आवश्यक कच्चा पदार्थ, प्याकेजिङ, मर्मतसम्भार, ढुवानी र अन्य सेवा स्थानीय बजारबाट खरिद गरेमा घरेलु उद्योग पनि विस्तार हुन्छ।
विदेशी कम्पनीको उत्पादन इकाइ मात्र स्थापना भएर स्थानीय आपूर्तिकर्ता र सीप विकास कमजोर रहेमा लगानीको व्यापक प्रभाव सीमित हुन सक्छ।
यसैले डोमिनिकन रिपब्लिकका लागि अबको चुनौती विदेशी कम्पनीलाई आकर्षित गर्ने मात्र होइन, उनीहरूसँग जोडिएर स्थानीय उद्योगलाई प्रतिस्पर्धी बनाउनु पनि हो।
आर्थिक वृद्धिले घटाएको गरिबी
डोमिनिकन रिपब्लिकको आर्थिक रूपान्तरणको अर्को महत्वपूर्ण उपलब्धि गरिबी न्यूनीकरण हो। पर्यटन, उत्पादन, निर्माण, खानी र सेवाक्षेत्र विस्तारसँगै देशको कुल गार्हस्थ्य उत्पादन तथा प्रतिव्यक्ति आय बढेको छ। यसले रोजगारी र आम्दानीका अवसर विस्तार गर्न सहयोग पुर्याएको छ।
विश्व बैंकका अनुसार सन् २००५ देखि २०१९ सम्म डोमिनिकन रिपब्लिकको अर्थतन्त्र औसत वार्षिक ४.५ प्रतिशतले बढेको थियो। सोही अवधिमा ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रको औसत वृद्धि १.४ प्रतिशतभन्दा कम थियो। सन् २००८ मा ३४.४ प्रतिशत रहेको गरिबी सन् २०१६ मा १९.९ प्रतिशतमा झरेको थियो। मध्यम आय भएको जनसङ्ख्याको हिस्सा पनि बढ्दै गएको थियो।
ओईसीडीको सन् २०२२ को बहुआयामिक समीक्षा प्रतिवेदनअनुसार सन् १९९३ देखि २०२१ सम्म देशको औसत आर्थिक वृद्धि ५.१ प्रतिशत थियो। सन् २००३ को गम्भीर बैंकिङ तथा वित्तीय संकटपछि पनि अर्थतन्त्रले उल्लेखनीय पुनरुत्थान गरेको थियो। सन् २०११ मा डोमिनिकन रिपब्लिक उच्च मध्यम आय भएको अर्थतन्त्रमा स्तरोन्नति भएको थियो।
विश्व बैंकको पछिल्लो देशगत विवरणअनुसार पछिल्ला दुई दशकमा अर्थतन्त्रको तीव्र विस्तारले करिब ३० लाख मानिसलाई गरिबीबाट बाहिर निकाल्न सहयोग गरेको छ। देशको मध्यम वर्गको आकार पनि गरिब जनसङ्ख्याभन्दा ठूलो भएको छ।
कोभिड–१९ महामारीले सन् २०२० मा पर्यटन, उत्पादन र व्यापारलाई प्रभावित पारे पनि देशले तुलनात्मक रूपमा छिटो आर्थिक पुनरुत्थान गर्यो। सन् २०२१ र २०२२ मा पर्यटन तथा घरेलु माग फर्किएपछि आर्थिक गतिविधि तीव्र भयो। सन् २०२३ मा वृद्धि सुस्त भए पनि सन् २०२४ मा अर्थतन्त्र पुनः ५ प्रतिशतले विस्तार भएको ओईसीडीको अध्ययनमा उल्लेख छ।
तर आर्थिक वृद्धिको लाभ सबै नागरिकसम्म समान रूपमा पुगेको छैन। गरिबी घटे पनि आय असमानता, अनौपचारिक रोजगारी र क्षेत्रीय विकासको अन्तर कायम छ।
राजधानी सान्तो दोमिङ्गो र प्रमुख पर्यटकीय क्षेत्रको तुलनामा ग्रामीण तथा सीमावर्ती क्षेत्रमा आर्थिक अवसर सीमित छन्।
हाइटीसँग जोडिएको सीमावर्ती क्षेत्रमा गरिबी, पूर्वाधार अभाव र सामाजिक सेवामा पहुँचका समस्या बढी देखिन्छन्। ग्रामीण क्षेत्रमा कृषि उत्पादकत्व कम हुनु, औपचारिक रोजगारीको अभाव र शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तरले आर्थिक अवसरलाई सीमित बनाएको छ।
विश्व बैंकले पनि उच्च आर्थिक वृद्धिलाई समावेशी बनाउन उत्पादकत्व, गुणस्तरीय रोजगारी, मानव पुँजी, प्रतिस्पर्धा र सार्वजनिक खर्चको प्रभावकारिता सुधार्नुपर्ने बताएको छ। देशले सन् २०३६ सम्म उच्च आय भएको अर्थतन्त्र बन्ने लक्ष्य राखेको छ।
अबको लक्ष्य : उच्च आय र उत्पादनको नयाँ चरण
डोमिनिकन रिपब्लिकले अबको आर्थिक विकासलाई पर्यटन र मेडिकल उपकरण उत्पादनमा मात्र सीमित राख्न चाहेको छैन। सेमिकन्डक्टर, इलेक्ट्रोनिक्स, औषधि, खाद्य प्रशोधन, डिजिटल सेवा र उच्च प्रविधिमा आधारित उत्पादन विस्तार गर्ने योजना अघि बढाइएको छ।
ओईसीडीले सन् २०२५ मा सार्वजनिक गरेको अध्ययनले डोमिनिकन रिपब्लिकमा सेमिकन्डक्टर तथा माइक्रोइलेक्ट्रोनिक्स उद्योग विस्तारको सम्भावना औँल्याएको छ। मेडिकल उपकरण र विद्युतीय उत्पादनमा विकसित भइसकेको औद्योगिक आधार, अमेरिकी बजारसँगको निकटता र फ्री ट्रेड जोनको संरचनाले नयाँ उद्योगका लागि अवसर सिर्जना गर्न सक्ने अध्ययनको निष्कर्ष छ।
तर सेमिकन्डक्टर उद्योगमा प्रवेश गर्नु मेडिकल उपकरण उत्पादनजत्तिकै सहज छैन। यसका लागि उच्चस्तरीय प्राविधिक जनशक्ति, स्थिर विद्युत् आपूर्ति, अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण र ठूलो लगानी आवश्यक हुन्छ। त्यसैले सरकारले शिक्षा तथा सीप विकास, औद्योगिक पूर्वाधार र निजी क्षेत्रसँगको सहकार्यमा ध्यान दिनुपर्नेछ।
अर्कोतर्फ पर्यटन क्षेत्रलाई पनि दिगो बनाउनुपर्ने चुनौती छ। समुद्री तटमा अत्यधिक निर्माण, फोहोर व्यवस्थापन, पानीको उपलब्धता र प्राकृतिक स्रोत संरक्षणमा ध्यान नदिए पर्यटनकै आधार कमजोर हुन सक्छ। जलवायु परिवर्तन र समुद्री सतह वृद्धिले तटीय पर्यटनलाई दीर्घकालीन जोखिममा पार्न सक्छ।
ऊर्जा क्षेत्रमा पनि सुधार आवश्यक छ। विद्युत् आपूर्तिको विश्वसनीयता र लागतले उत्पादन उद्योगको प्रतिस्पर्धात्मकता निर्धारण गर्छ। आयातित इन्धनमा निर्भरता घटाउँदै नवीकरणीय ऊर्जा विस्तार गर्नु औद्योगिक विकास र वातावरणीय सुरक्षाका दृष्टिले महत्वपूर्ण हुनेछ।
कर प्रणाली र सार्वजनिक वित्त व्यवस्थापन अर्को चुनौती हो। उच्च आय भएको देश बन्नका लागि सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक सुरक्षामा पर्याप्त लगानी गर्नुपर्छ। त्यसका लागि स्थायी राजस्व स्रोत र प्रभावकारी सार्वजनिक खर्च आवश्यक हुन्छ। कर छुट दिएर विदेशी लगानी आकर्षित गर्ने नीतिले औद्योगिक विस्तारमा सहयोग गरे पनि त्यसको वित्तीय लागत र वास्तविक आर्थिक प्रतिफलको नियमित मूल्याङ्कन गर्नुपर्ने हुन्छ।
डोमिनिकन रिपब्लिकले सन् २०३६ सम्म उच्च आय भएको देश बन्ने लक्ष्य अघि सारेको छ। त्यसका लागि निजी क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउने, साना तथा मझौला उद्यमलाई औपचारिक अर्थतन्त्रमा ल्याउने, श्रमिकको सीप बढाउने र उत्पादनमा प्रविधिको प्रयोग विस्तार गर्ने सुधार आवश्यक छन्।
डोमिनिकन रिपब्लिकको आर्थिक यात्रा कुनै चमत्कारबाट बनेको होइन। कृषि उत्पादनमा निर्भर अर्थतन्त्रले क्रमशः पर्यटन, निर्यात प्रशोधन, उत्पादनमूलक उद्योग र विदेशी लगानीलाई विकासको आधार बनाएको हो।
सन् १९६९ मा स्थापना भएको पहिलो फ्री ट्रेड जोनदेखि अहिलेको मेडिकल उपकरण उद्योगसम्मको यात्रा नीतिगत निरन्तरता, बजारसँगको एकीकरण र निजी क्षेत्रको सहभागिताको परिणाम हो।
यसले देखाउँछ-प्राकृतिक स्रोत सीमित भए पनि सही आर्थिक नीति, लगानीमैत्री वातावरण, अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्ध र उत्पादन क्षमताको विकासबाट देशले आफ्नो आर्थिक पहिचान बदल्न सक्छ। तर आर्थिक वृद्धिलाई नागरिकको जीवनस्तरमा रूपान्तरण गर्न गुणस्तरीय रोजगारी, शिक्षा, स्वास्थ्य र क्षेत्रीय समानतामा निरन्तर लगानी आवश्यक हुन्छ।
डोमिनिकन रिपब्लिकको सफलता कृषि निर्भरता घटाएर पर्यटन र उत्पादन विस्तार गर्नुमा मात्र छैन। यसको वास्तविक उपलब्धि कच्चा वस्तु निर्यात गर्ने अर्थतन्त्रलाई मेडिकल उपकरणजस्ता उच्च मूल्यका वस्तु उत्पादन तथा निर्यात गर्न सक्ने अवस्थामा पुर्याउनु हो।
अबको परीक्षा भनेको यही औद्योगिक आधारलाई अझ प्रविधिमैत्री, समावेशी र दिगो बनाउनु हो।
