बैतडी। जिल्ला प्रशासन कार्यालय बैतडीले अनलाइन माध्यमबाट ‘फेस लेस’ सेवा सुरु गरेको छ ।
ई-गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले आदिवासी-जनजाति, खस-आर्य तथा दलित समुदायको प्रमाणित गर्ने सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको हो ।
जिल्लाको विकट भौगोलिक अवस्थाका कारण सदरमुकाम पुगेर सेवा लिन सर्वसाधारणले व्यहोर्नुपर्ने समय र आर्थिक खर्चलाई ध्यानमा राख्दै फेस लेस सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिएकी छन् ।
यस सेवाअन्तर्गत सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कागजात कार्यालयको इमेल ठेगानामा पठाउन सक्नेछन् । कार्यालयमा निवेदन प्राप्त भएको एक घण्टाभित्र आवश्यक सिफारिस पत्र सम्बन्धित व्यक्ति वा वडा कार्यालयको इमेलमा पठाउने व्यवस्था मिलाइएको उनले बताइन् ।
यो सेवा लिन सेवाग्राहीको नेपाली नागरिकता प्रमाणपत्रमा राष्ट्रिय दलित आयोग, आदिवासी-जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन, २०५८ वा राष्ट्रिय समावेशी आयोगले सूचीकृत गरेका खस-आर्य समुदायमध्ये कुनै एकको थर स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्नेछ ।
अनलाइन आवेदन गर्दा सम्बन्धित वडा कार्यालयको स्पष्ट व्यहोरासहितको प्रमाणित सिफारिस पत्र, सेवाग्राहीको निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको रङ्गिन स्क्यान प्रति, सम्पर्क नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा संलग्न गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
