तनहुँ। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ ।
आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएकाले काठबाट बनाइने आवास निर्माण गर्न लागिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
राष्ट्रिय वन्यजन्तु विशेषज्ञले तयार गरेको डिजाइनअनुसार आयोजना क्षेत्रमा तीनवटा आवास निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिने भण्डारीले बताए ।
वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत अघि बढाइएको यस कार्यक्रमले चमेराको प्राकृतिक बासस्थानमा पर्न सक्ने असर न्यूनीकरण र सुरक्षित आश्रयस्थल उपलब्ध गराउन सहयोग पुग्ने आयोजनाको अपेक्षा छ ।
तनहुँको ऋषिङ गाउँपालिका क्षेत्रमा आयोजना निर्माण भइरहेको छ ।
