Logo

४८ लाखभन्दा बढीको चामल–चिनी बिक्री

अ+ अ-

ओखलढुङ्गा-  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय ओखलढुङ्गाले गत आर्थिक वर्ष २०८२–८३ मा ४८ लाख रुपियाँभन्दा बढीको चामल र चिनी बिक्री गरेको छ ।

कार्यालयले एक वर्षको अवधिमा कुल ६९७ दशमलव ७२ क्विन्टल चामल तथा चिनी बिक्री गरी ४८ लाख ९३ हजार ६२० बराबरको कारोबार गरेको हो । कार्यालयका सूचना अधिकारी सिर्जना बोहोराका अनुसार गत आर्थिक वर्षमा ३९ हजार ९२५ किलो अरुवा सोना मन्सुली चामल, चार हजार ५२५ किलो फोर्टिफाइड अरुवा सोना मन्सुली चामल, चार हजार ८७५ किलो फोर्टिफाइड स्टिम जिरा मसिनो चामल तथा १२ हजार ७५ किलो स्टिम जिरा मसिनो चामल बिक्री भएको छ ।

यसैगरी आठ हजार ३८२ किलो चिनी पनि बिक्री गरिएको उहाँले जानकारी दिनुभयो । बजार मूल्यभन्दा सहुलियत दरमा तथा पोषणयुक्त खाद्यान्न उपलब्ध हुने भएकाले उपभोक्ताको आकर्षण बढ्दैगएको कार्यालयको भनाइ छ ।

सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन स्थानीय तहसँग समन्वयसमेत बढाइएको जनाइएको छ । कार्यालयले आगामी दिनमा चामल र चिनीसँगै अन्य खाद्यान्न सामग्रीसमेत बिक्री गर्ने योजना बनाएको छ ।

गत आर्थिक वर्षमा बिक्री लक्ष्यको करिब ७० प्रतिशत प्रगति हासिल गरेको कार्यालयले चालु आर्थिक वर्षमा एक लाख किलो चामल तथा चिनी बिक्री गर्ने लक्ष्य राखेको जनाएको छ ।