काठमाडौं: प्रभु बैंक लिमिटेडले हाल केही सञ्चारमाध्यममा बैंक तथा यसको सञ्चालक र व्यवस्थापनलाई लक्षित गरी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले ती सामग्री भ्रामक, आधारहीन तथा तथ्यहीन रहेको दाबी गर्दै बैंकिङ क्षेत्रका नियमित प्रशासनिक र व्यावसायिक प्रक्रियालाई तोडमरोड गरी प्रस्तुत गरिएको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माद्वारा जारी विज्ञप्तिमा कर्मचारी सरुवा, कार्य जिम्मेवारी हेरफेर, कर्जा असुली तथा धितो लिलामीसम्बन्धी सूचना प्रकाशनजस्ता कार्यहरू प्रचलित कानुन, नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा संस्थागत अभ्यासअनुसार नियमित रूपमा सञ्चालन हुँदै आएको स्पष्ट पारिएको छ। यस्ता नियमित प्रक्रियालाई कुनै आधिकारिक पुष्टि वा प्रमाणबिना विवादित रूपमा प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको मर्मविपरीत हुने बैंकको भनाइ छ।
विज्ञप्तिअनुसार, विगतका केही कर्जा फाइलसँग सम्बन्धित विषयहरू अधिकारप्राप्त निकायबाट अनुसन्धान भई हाल अदालतमा विचाराधीन छन्। बैंकले त्यस्ता विषयमा कानुन र नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ। बैंकका सबै निर्णय नियामकीय मापदण्डअनुसार हुने र आगामी दिनमा पनि सोही अभ्यासलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रभु बैंकले अनुमान, अपुष्ट स्रोत वा एकपक्षीय सूचनाका आधारमा समाचार प्रकाशन हुँदा संस्थागत प्रतिष्ठा, सार्वजनिक विश्वास तथा समग्र वित्तीय प्रणालीमै नकारात्मक प्रभाव पर्न सक्ने जनाएको छ। यस्ता भ्रामक सामग्रीले अनावश्यक भ्रम सिर्जना गर्ने प्रयास भएको उल्लेख गर्दै बैंकले सञ्चारमाध्यमलाई तथ्यपरक, सन्तुलित र उच्च व्यावसायिक संवेदनशीलताका साथ समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै बैंकले निक्षेपकर्ता, कर्जाग्राही, सेयरधनी तथा अन्य सरोकारवालाको हित संरक्षणमा प्रतिबद्ध रहेको जनाएको छ। साथै, बैंकसम्बन्धी समाचार प्रकाशनअघि आधिकारिक सूचना र विश्वसनीय स्रोतलाई आधार बनाउन सञ्चारमाध्यमसँग अनुरोध गरेको छ।
