काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल क्षेत्रलाई केवल उपभोग वा विलासिताको साधनका रूपमा हेर्ने पुरानो दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले मोबिलिटी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ बनिसकेको बताएका हुन् ।
नाडा अटो एक्स्पो २०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अग्रवालले अटोमोबाइल क्षेत्रले सवारीसाधनको कारोबारमा मात्र सीमित नभई अर्थतन्त्रका विभिन्न क्षेत्रलाई प्रत्यक्ष रूपमा चलायमान बनाइरहेको बताए ।
‘यो क्षेत्रले बैंकिङ, बीमा, पर्यटन, यातायात, निर्माण, ऊर्जा, सूचना प्रविधि, स्पेयर पार्टस्, ग्यारेज, प्राविधिक सेवा र लजिस्टिक्सलगायतका क्षेत्रमा रहेका हजारौँ साना तथा मझौला व्यवसायलाई जीवन्त बनाएको छ,’ उनले भने ।
अग्रवालका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा अटोमोबाइल क्षेत्रको योगदान करिब ७ प्रतिशत छ । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढी रोजगारी सिर्जना गरेको उल्लेख गर्दै उनले अटो क्षेत्रलाई नेपालको आर्थिक वृद्धिको महत्वपूर्ण इन्जिनका रूपमा लिनुपर्ने बताए ।
राजस्व संकलनमा समेत अटोमोबाइल क्षेत्रको योगदान उल्लेखनीय रहेको उनको भनाइ छ । भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क र आयकरमार्फत राज्यले हरेक वर्ष ठूलो परिमाणमा राजस्व प्राप्त गरिरहेको भन्दै उनले अटोमोबाइल क्षेत्रलाई केवल उपभोगको क्षेत्रका रूपमा बुझ्नु गलत हुने बताए ।
‘विश्व चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स, बिग डेटा, इन्टरनेट अफ थिङ्स र विद्युतीय सवारीसाधन प्रविधिले विश्व अर्थतन्त्रको स्वरूप बदलिरहेका छन्,’ उनले भने, ‘यो परिवर्तनको केन्द्रमा अहिले अटोमोबाइल उद्योग पनि छ । त्यसैले यस क्षेत्रलाई आर्थिक गतिविधि, रोजगारी, लगानी र प्रविधि रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा हेरिनुपर्छ ।’
