काठमाडौं। एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को–अपरेटिभ लिमिटेड (एनएमसी–कोअप) बीच डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले रणनीतिक साझेदारी भएको छ।
सम्झौतामा जेठ २९ गते हस्ताक्षर भएको थियो भने सेवा साउन ७ गतेदेखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ। ५७ सेवा केन्द्रमार्फत १ लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा दिँदै आएको एनएमसी–कोअपले अब एमबैंकको प्लेटफर्ममार्फत मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, फन्ड ट्रान्सफर, युटिलिटी पेमेन्ट, डिजिटल पेमेन्ट तथा केवाईसी अपडेटलगायत सेवा उपलब्ध गराउनेछ।
साझेदारीअन्तर्गत सदस्यहरूले फिक्स्ड डिपोजिट तथा पिरियडिक खाताविरुद्ध ऋण, ऋण भुक्तानी, लोन स्टेटमेन्ट तथा नयाँ ऋण आवेदनसमेत मोबाइलबाटै गर्न सक्नेछन्। आवश्यक कागजात डिजिटल रूपमा पेस गर्ने र ऋण आवेदनको अवस्था हेर्न सकिने भएकाले शाखा धाउनुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ।
एनएमसी–कोअपका सीईओ लक्ष्मीप्रसाद उप्रेतीले प्रविधिमैत्री सेवा सहकारी क्षेत्रको दिगो विकासका लागि आवश्यक रहेको बताए। एमबैंकका सीईओ सञ्जय महासेठले साझेदारीले बैंकिङ, पेमेन्ट र लेन्डिङलाई एउटै डिजिटल इकोसिस्टममा जोडेर सहकारी क्षेत्रको डिजिटल रूपान्तरणमा सहयोग गर्ने बताए।
एमबैंकले साझेदारीले आफ्नो ‘वन प्लेटफर्म फर बैंकिङ, पेमेन्ट्स एन्ड लेन्डिङ’ तथा ‘वन एप, मल्टिपल सर्भिसेज’ अवधारणालाई थप बलियो बनाएको जनाएको छ।
