एजेन्सी । इरानसँगको जारी द्वन्द्वमा अमेरिकी सेनाले कम्तीमा ४५ वटा एमक्यू–९ रिपर ड्रोन गुमाएको छ । द वासिङ्टन पोस्ट का अनुसार यो संख्या अमेरिकाको सञ्चालनमा रहेका रिपर ड्रोनको करिब एकचौथाइ हो । यसबाट अमेरिकी सेनाले १.३ अर्ब डलरभन्दा बढी मूल्यका मानवरहित विमान गुमाएको अनुमान गरिएको छ ।
द्वन्द्वमा भएको ठूलो क्षतिले अमेरिकी सेनाको हवाई निगरानी र आक्रमण क्षमतामा समेत दबाब बढाएको छ । हर्मुज जलडमरूमध्य आसपासको क्षेत्रमा निरन्तर निगरानी तथा सैन्य कारबाहीका लागि परिचालन गरिएका रिपर ड्रोनहरू इरानी हवाई प्रतिरक्षा प्रणालीसँगै इलेक्ट्रोनिक अवरोध र सञ्चार सम्पर्क विच्छेदका कारण जोखिममा परेका हुन् ।
द्वन्द्व सुरु हुनुअघि अमेरिकी सेनासँग करिब १८५ वटा रिपर ड्रोन रहेको बताइएको छ । त्यसमध्ये १६५ वटा अमेरिकी वायुसेना र २० वटा मरिन कर्प्ससँग थिए । गुप्तचरी निकायसँग रहेका ड्रोन भने यो संख्यामा समावेश छैनन् ।
मरिन कर्प्सका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोशुआ बेन्सनका अनुसार एसिया–प्रशान्त क्षेत्रमा रहेका एकाइमा कुनै रिपर ड्रोन क्षति भएको छैन । यसले हालको द्वन्द्वमा भएको क्षतिको मुख्य भार अमेरिकी वायुसेनामाथि परेको देखाउँछ ।
रिपर ड्रोनमा जडान गरिएका सेन्सर र हतियारअनुसार एउटाको लागत ३ करोडदेखि ५ करोड डलरसम्म पर्छ । यी ड्रोनलाई हर्मुज जलडमरूमध्य आसपास निरन्तर निगरानी गर्नेदेखि गतिशील लक्ष्य पहिचान र सटीक आक्रमणसम्मका लागि प्रयोग गरिएको थियो ।
तर रिपरको तुलनात्मक रूपमा कम गति र कम उचाइमा उड्न सक्ने विशेषताले यसलाई हवाई प्रतिरक्षा प्रणालीका लागि कमजोर लक्ष्य बनाएको छ । इरानी हवाई रक्षा प्रणालीसँगै इराक र यमनमा सक्रिय सशस्त्र समूहबाट समेत ड्रोनमाथि जोखिम बढेको बताइएको छ ।
यद्यपि गुमेका सबै ४५ ड्रोन शत्रुको आक्रमणबाट मात्र नष्ट भएका होइनन् । पेन्टागनको तथ्यांक उद्धृत गर्दै एक अमेरिकी अधिकारीले केही ड्रोन अपरेटर र विमानबीचको सञ्चार सम्पर्क विच्छेद भएपछि दुर्घटनामा परेको बताएका छन् ।
रिपर ड्रोनको क्षति बढ्दै गएपछि अमेरिकी सेनाभित्र यसको विकल्प र पुनःपूर्तिबारे समेत चिन्ता बढेको छ । मे महिनामा वायुसेनाका वरिष्ठ अधिकारी लेफ्टिनेन्ट जनरल डेभिड ताबोरले सिनेटरहरूलाई सक्रिय रिपर ड्रोनको संख्या घटेर १३५ मा पुगेको जानकारी दिएका थिए ।
रिपरको क्षतिसँगै अमेरिकी सेनाले अन्य महत्वपूर्ण हतियारमा समेत ठूलो खर्च गरिरहेको छ । द्वन्द्वको पहिलो महिनामै अमेरिकी सेनाले ८५० भन्दा बढी टोमाहक क्रुज मिसाइल तथा १ हजारभन्दा बढी पेट्रियट र थाड हवाई रक्षा इन्टरसेप्टर प्रयोग गरिसकेको बताइएको छ ।
हतियारको तीव्र खपतका कारण अमेरिकी कमान्डरहरूलाई इन्टरसेप्टर प्रयोगमा समेत प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था आएको छ । यसले लामो समयसम्म चल्ने सैन्य अभियानका लागि अमेरिकी हतियार भण्डार र पुनःपूर्ति क्षमतामाथि दबाब बढाएको देखिन्छ ।
रिपरको ठाउँमा सस्तो स्वार्म ड्रोन
अमेरिकी रक्षा मन्त्रालयले महँगा रिपर ड्रोनको विकल्पमा कम लागतका तथा समूहमा परिचालन गर्न सकिने स्वार्म ड्रोनतर्फ ध्यान बढाएको छ । तर नष्ट भएका रिपरको संख्या ठूलो भएकाले तत्कालै त्यही क्षमतामा नयाँ ड्रोन थप्न कठिन हुने देखिन्छ ।
एमक्यू–९ रिपरलाई जनरल एटोमिक्स एयरोनटिकल सिस्टम्सले निर्माण गरेको हो । सुरुमा ‘प्रिडेटर–बी’ नाम दिइएको यो ड्रोन मध्यम उचाइमा लामो समयसम्म उडान गर्न सक्ने मानवरहित विमान हो ।
यसलाई सुरुदेखि नै निगरानीसँगै आक्रमण गर्न सक्ने ‘हन्टर–किलर’ ड्रोनका रूपमा विकास गरिएको थियो । रिपरले २४ घण्टाभन्दा बढी समयसम्म हवाई क्षेत्रमा रहेर लक्ष्य निगरानी गर्न सक्छ ।
यसमा इलेक्ट्रो–अप्टिकल तथा इन्फ्रारेड सेन्सर र सिन्थेटिक एपर्चर राडार जडान गरिएको हुन्छ । ड्रोनमा रहेका ६ वटा हार्डपोइन्टमार्फत करिब १ हजार ७ सय केजीसम्म हतियार बोक्न सक्ने क्षमता छ । हेलफायर मिसाइल तथा लेजर निर्देशित बमसमेत यसमा प्रयोग गर्न सकिन्छ ।
स्याटेलाइट डेटा लिंकमार्फत यसको सञ्चालन गरिन्छ । सामान्यतः एक पाइलट र एक सेन्सर अपरेटरले यसलाई नियन्त्रण गर्छन् । यस प्रणालीका कारण अमेरिकामा रहेका अपरेटरले हजारौँ किलोमिटर टाढा रहेको क्षेत्रमा समेत ड्रोनको मिसन सञ्चालन गर्न सक्छन् ।
इरानसँगको द्वन्द्वमा रिपरको ठूलो क्षतिले भने अमेरिकी सेनाका लागि एउटा महत्वपूर्ण प्रश्न उठाएको छ—महँगा र अत्याधुनिक ड्रोनमा निर्भर सैन्य रणनीति शक्तिशाली हवाई प्रतिरक्षा प्रणाली भएको युद्धक्षेत्रमा कति प्रभावकारी रहन्छ ?
