काठमाडौं। आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीको समग्र खुद नाफा ३९.२१ प्रतिशतले घटेको छ।
कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा वर्षमा १४ कम्पनीले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा यी कम्पनीको कुल खुद नाफा ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ थियो।
अघिल्लो वर्षको तुलनामा निर्जीवन बीमा कम्पनीको समग्र नाफा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढीले घटेको हो।
यसबीच ओरियन्टल इन्स्योरेन्सले भने उल्लेख्य सुधार गरेको छ। अघिल्लो आर्थिक वर्षमा ११ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यससँगै समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउने निर्जीवन बीमा कम्पनी ओरियन्टल बनेको छ।
यता नेसनल इन्स्योरेन्स भने लगातार घाटामा रहेको छ। अघिल्लो वर्ष १५ करोड ७ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा पनि १३ करोड १० लाख रुपैयाँ नोक्सान व्यहोरेको छ।
१४ निर्जीवन बीमा कम्पनीमध्ये समीक्षा वर्षमा नेसनल इन्स्योरेन्स मात्र घाटामा रहेको छ।
