काठमाडौं। नेपाल आयल निगमका अनुसार देशभर खाना पकाउने एलपी ग्यासको बिक्री तथा वितरणमा उल्लेख्य सुधार आएको छ। ग्यास उद्योगीबाट प्राप्त विवरणअनुसार पछिल्ला दिनको तुलनामा सोमबार ग्यासको बिक्री र वितरण बढेको हो।
निगमका अनुसार सोमबार काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्री भएको छ। उपत्यकाबाहिरका जिल्लामा थप ७५ हजार १५८ सिलिन्डर वितरण गरिएको छ।
काठमाडौं उपत्यकामा भएको ५२ हजार ५७६ सिलिन्डरको बिक्री हालसम्मकै उच्च रहेको निगमले जनाएको छ।
निगमका निर्देशक विनीतमणि उपाध्यायले बजारमा देखिएको एलपी ग्यासको अभाव क्रमशः सहज हुँदै गएको जानकारी दिए।
आपूर्ति प्रणाली र वितरण व्यवस्थामा सुधार हुँदै गएकाले आगामी दिनमा उपभोक्ताले भोग्दै आएको ग्यास अभाव थप कम हुने अपेक्षा निगमले गरेको छ।
