सिराहा:नेपाल-भारत सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले सिराहाका विभिन्न सीमावर्ती क्षेत्रबाट २६ लाख २९ हजार ९९३ रुपैयाँबराबरका भन्सार छलीका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाका अनुसार सोमबार छुट्टाछुट्टै स्थानमा गस्तीमा खटिएका टोलीले लत्ताकपडा, कस्मेटिक तथा किराना सामान, मदिरा, पेय पदार्थ, हार्डवेयर सामग्री, बिउबिजन र मोटरसाइकल बरामद गरेका हुन्।
गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी माडर भन्सार कार्यालयमा दाखिला गरिएको छ।
सीमा क्षेत्रमा हुने अवैध निकासी तथा चोरी–पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप कडाइ गरेको जनाएको छ। गस्ती बढाएसँगै भन्सार छली गरी नेपाल भित्र्याइएका तथा भारततर्फ लैजान लागिएका अवैध सामान बरामद हुने क्रम बढेको गणले जनाएको छ।
गणका अनुसार पछिल्लो दुई महिनाको अवधिमा सिराहाका विभिन्न सीमावर्ती क्षेत्रबाट ४७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा मोटरसाइकल बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार गत २३ साउनमा मोटरसाइकल, लत्ताकपडा, कस्मेटिक तथा किराना सामान र विभिन्न ब्रान्डका मदिरासहित ८ लाख ९७ हजार ९७९ रुपैयाँबराबरका सामान बरामद गरिएको थियो। त्यस्तै, १ साउनमा १५ लाख ४८ हजार ८७० रुपैयाँ र ३ असारमा १४ लाख ३ हजार ३२६ रुपैयाँबराबरका अवैध सामान बरामद गरिएको थियो।
यसैगरी, १८ असारमा सिराहा नगरपालिका–१६ खिरौनाबाट नेपालतर्फ ल्याउँदै गरेका तथा भारततर्फ लैजान लागिएका किराना सामान, कपडा, मोटरसाइकल र मदिरासहित ९ लाख २६ हजार ८५० रुपैयाँबराबरका सामान बरामद गरिएको थियो।
बरामद सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
