काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा बजार अनुगमन तीव्र बनाउँदै दुई फर्मलाई कुल ५ लाख रुपैयाँ जरिवाना गरेको छ ।
विभागले मंगलबार भदौ २ गते काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न उद्योग तथा फर्ममा गरेको अनुगमनका क्रममा नियम उल्लंघन गर्ने व्यवसायीलाई कारबाही तथा सुधारका लागि निर्देशन दिएको हो ।
काठमाडौं महानगरपालिका–३, महाराजगञ्जस्थित ओलीज स्टोर प्रालिलाई तोकिएको मूल्यभन्दा बढीमा वस्तु बिक्री गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा ललितपुर महानगरपालिका–४, पुल्चोकस्थित खाना डट कम, काठमाडौं महानगरपालिका–१४, कीर्तिपुरस्थित क्षितिज मेडिकल स्टोर र बूढानीलकण्ठ नगरपालिका–४ स्थित विश्राम रेस्टुरेन्ट एन्ड बारलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
खाना डट कमलाई व्यवसाय दर्ताका कागजात, करचुक्ता प्रमाणपत्र, नवीकरणसम्बन्धी कागजात, प्रयोग भइरहेको क्यूआरको बैंक स्टेटमेन्ट तथा खरिद–बिक्रीसम्बन्धी विवरण पेस गर्न भनिएको छ ।
क्षितिज मेडिकल स्टोरलाई व्यवसायसम्बन्धी कागजातसँगै बिक्री गरिएका औषधिको मूल्यअनुसार बिक्री बिल प्रमाणित हुने गरी नमुना औषधि र बिलसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
त्यस्तै, विश्राम रेस्टुरेन्ट एन्ड बारलाई दर्ताका कागजात, खरिद तथा बिक्री बिल, ग्यास डिलरको प्रमाणपत्र र ग्यास वितरणसम्बन्धी विवरण पेस गर्न भनिएको छ ।
ग्यास आपूर्ति सहज बनाउन निर्देशन
मध्यपुर थिमी नगरपालिका–१६, लोकन्थलीस्थित बट्ट सप्लायर्सलाई ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विभागले निर्देशन दिएको छ ।
काठमाडौं महानगरपालिका–३, चक्रपथस्थित सीता ग्यास स्टोरलाई भने नियमित र सहज रूपमा ग्यास बिक्री–वितरण गरिरहेको भन्दै विभागले धन्यवाद दिएको छ । साथै, आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ ।
बिलबिजक र एमआरपीमा कडाइ
काठमाडौं महानगरपालिका–१४ स्थित वाटिका ट्रेडर्सलाई सबै कारोबारमा अनिवार्य रूपमा बिलबिजक जारी गर्न निर्देशन दिइएको छ ।
ललितपुर महानगरपालिका–१० स्थित संगिज एपारेल स्टुडियोलाई खरिद तथा बिक्री बिल व्यवस्थित राख्न र वस्तुमा एमआरपी लेबल स्पष्ट रूपमा कायम गर्न निर्देशन दिइएको छ ।
मध्यपुर थिमी नगरपालिका–३, गठ्ठाघरस्थित न्यू रिस्स्रा स्विट्सलाई खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड पूर्ण रूपमा पालना गर्न र बिलबिजक जारी गरेर मात्र कारोबार गर्न भनिएको छ ।
सूर्यविनायक नगरपालिका–४, गाम्चास्थित गायत्री स्पाइसेस एन्ड फुड प्रोडक्ट्स प्रालिलाई नियमित रूपमा बिलबिजक जारी गर्न तथा गुणस्तरीय वस्तुको मात्र कारोबार गर्न निर्देशन दिइएको छ ।
त्यस्तै, सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित गढिमाई तेल मिललाई लेबलसहित एमआरपी स्टिकर भएका वस्तु मात्र बिक्री–वितरण गर्न र मूल्यसूची व्यवस्थित रूपमा राख्न विभागले निर्देशन दिएको छ ।
विभागले बजारमा मूल्यवृद्धि, बिलबिजकको अनिवार्यता, वस्तुको गुणस्तर, एमआरपी तथा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना भए–नभएको अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।
