काठमाडाैं । संयुक्त राष्ट्रसंघ र नेपाल उद्योग वाणिज्य महासंघबीच देशको आर्थिक तथा सामाजिक विकासका लागि परिणाममुखी सहकार्य गर्ने सहमति भएको छ।
महासंघको टेकुस्थित सचिवालयमा मंगलबार भएको भेटवार्तामा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक लिला पिटर याहियाले लगानी प्रवर्द्धन, सीप विकास र मर्यादित रोजगारी सिर्जनामा जोड दिएका छन्।
भेटका क्रममा अध्यक्ष श्रेष्ठले अतिकम विकसित मुलुकबाट हुने नेपालको स्तरोन्नतिको समय सन् २०२९ नोभेम्बरसम्म थप गर्न माग गर्दै स्तरोन्नतिपछिको संक्रमणकालीन व्यवस्थापनका लागि संयुक्त राष्ट्रसंघको प्राविधिक तथा रणनीतिक सहयोग आवश्यक रहेको औंल्याए।
जवाफमा आवासीय संयोजक याहियाले नेपालको स्तरोन्नतिलाई केवल हैसियत परिवर्तनमा सीमित नराखी दिगो आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र निर्यात क्षमता वृद्धिको अवसरका रूपमा लिनुपर्ने बताउँदै विप्रेषणमा आधारित अर्थतन्त्रलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्।
साथै, दुवै पक्षले साना तथा मझौला उद्यमको प्रवर्द्धन, स्थिर नीति र नेपालमा व्यावसायिक विश्वास पुनर्स्थापित गर्दै युवा जनसांख्यिक लाभको सदुपयोग गर्न सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
