काठमाडाैं । बुधबार सेयर बजार परिसूचक (नेप्से) अघिल्लो दिनकै विन्दु २६२२ मै स्थिर रहेको छ भने आज नेप्से जम्मा ०.२६ अंकले मात्र घटेको छ। अघिल्लो दिन १९.३४ अंकले घटेको बजारमा आज भने कारोबार रकममा भने ठूलो गिरावट आएको छ। अघिल्लो दिन ५ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज घटेर ३ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ, जुन १ अर्ब ७८ करोड कम हो।
आजको कारोबारमा १११ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको घटेको र १८ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम सीमित रह्यो, जसमा बैंकिङ, जलविद्युत्, निर्जीवन बीमा, अन्य र व्यापार समूह बढ्दा विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूह घटे।
सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै १ अर्ब ८४ करोड रुपैयाँको कारोबार भयो भने वाणिज्य बैंकहरूको ३७ करोड र उत्पादन तथा प्रशोधन समूहको ३५ करोडको कारोबार भयो। हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशतले बढ्दा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य ८.४५ प्रतिशतले घटेको छ। त्यस्तै, कारोबार रकमका आधारमा साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र खानीखोला हाइड्रोपावर अगाडि रहे।
