काठमाडौँ। नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको घिउको निर्यात दुबईमा सुरु भएको छ। त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै शुक्रबारदेखि दुबईमा घिउ पठाउन थालिएको हो।
यस अन्तर्गत पहिलो चरणमा शुक्रबार ६ सय किलो घिउ जहाजमार्फत दुबई पठाइँदै छ। दुबईमा घिउ निर्यात गर्नका लागि डीडीसीले ‘रातो र चन्द्र–सूर्य इन्टरनेसनल’ सँग सम्झौता गरेको छ।
डीडीसीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार दुबईमा रहेका बिक्रेताहरूले सुरुमा परीक्षणका रूपमा यो उत्पादन बिक्री गर्नेछन् र त्यसपछि बजारको माग हेरेर थप परिमाणमा निर्यात गरिनेछ।
नेपाली उत्पादनको द्रुत प्रचारप्रसारका लागि पहिलो खेप जहाजबाट पठाइए पनि आगामी दिनमा भारत हुँदै कन्टेनरमार्फत घिउ पठाउने तयारी गरिएको छ। प्रबन्ध निर्देशक घिमिरेले दुबईबाहेक मध्यपूर्वका अन्य देशहरूमा पनि डीडीसीका घिउ तथा अन्य दुग्ध उत्पादनहरू छिट्टै निर्यात र बिक्री गर्ने योजना रहेको जानकारी दिएका छन्।
