काठमाडौ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेको छ। आयातसँगै निर्यातमा वृद्धि भएपछि साउनमा कुल वैदेशिक व्यापार २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनमा कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ थियो। चालु आवको साउनमा आयात ३१.०४ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा १ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो।
निर्यातमा भने अझ उच्च वृद्धि देखिएको छ। साउनमा नेपालले ३८ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन गत वर्षको साउनको तुलनामा ६१.७२ प्रतिशत बढी हो। गत वर्ष साउनमा २३ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
निर्यात बढेसँगै कुल वैदेशिक व्यापारमा यसको हिस्सा १७.११ प्रतिशत पुगेको छ। गत वर्षको साउनको तुलनामा निर्यातको हिस्सा १९.४१ प्रतिशतले बढेको हो। यता, कुल व्यापारमा आयातको हिस्सा ३.२५ प्रतिशतले घटेर ८२.८९ प्रतिशतमा झरेको छ।
आयातको तुलनामा निर्यात अझै निकै कम रहेकाले व्यापार घाटा भने उच्च छ। साउनमा व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको साउनको १ खर्ब १९ अर्ब १० करोड रुपैयाँको तुलनामा २४.८८ प्रतिशत बढी हो।
वैदेशिक व्यापारमा आयातको प्रभुत्व कायम रहे पनि साउनमा निर्यातको वृद्धिदर आयातभन्दा दोब्बर रहेको तथ्यांकले देखाएको छ। सरकारले निर्यात प्रवर्द्धन र उत्पादन विस्तारलाई प्राथमिकता दिनुपर्ने अवस्थामा व्यापार तथ्यांकले आयात निर्भरता अझै उच्च रहेको देखाएको छ।
