काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.३० अंकले घटेर २,५९४.२७ विन्दुमा झरेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बजार अघिल्लो कारोबार दिन १९.१३ अंकले घटेको थियो।
मंगलबार कुल कारोबार रकम ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढी हो। आज ७८ कम्पनीको शेयर मूल्य बढ्दा १८७ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।
कारोबारमा आएका क्षेत्रमध्ये विकास बैंक र निर्जीवन बीमा उपसूचक मात्र बढेका छन्। विकास बैंक ०.०८ प्रतिशत र निर्जीवन बीमा ०.३६ प्रतिशतले उकालो लागे। अन्य सबै उपसूचक घटेका छन्।
फाइनान्स उपसूचक ०.९१ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन ०.७१ प्रतिशत, ट्रेडिङ ०.५७ प्रतिशत, हाइड्रोपावर ०.४२ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत र लघुवित्त ०.२७ प्रतिशतले घटेका छन्। यस्तै, अन्य ०.१८ प्रतिशत, जीवन बीमा ०.०९ प्रतिशत, लगानी ०.०८ प्रतिशत र बैंकिङ ०.०३ प्रतिशतले घटेको छ।
क्षेत्रगत कारोबारमा हाइड्रोपावरको वर्चस्व कायम रह्यो। हाइड्रोपावर क्षेत्रमा मात्रै २ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ, जुन कुल कारोबारको ६०.६६ प्रतिशत हो। वाणिज्य बैंक क्षेत्रमा ३२ करोड रुपैयाँ तथा उत्पादन तथा प्रशोधन क्षेत्रमा ३८ करोड रुपैयाँको कारोबार भयो।
मंगलबार सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा हालै सूचीकृत सर्वोत्तम पेन्ट्स रहेको छ। कम्पनीको शेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स १४.९५ प्रतिशत, नाडेप लघुवित्त ६ प्रतिशत, एभरेस्ट कलर ५.७१ प्रतिशत र कालिन्चोक हाइड्रोपावर ५.५६ प्रतिशतले बढेका छन्।
घट्ने कम्पनीतर्फ धौलागिरी लघुवित्तको शेयर मूल्य १०.०७ प्रतिशतले घटेको छ। उन्नति सहकार्य लघुवित्त ४.२३ प्रतिशत र रिजलाइन इनर्जी ३.८६ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा मंगलबार मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलविद्युत कम्पनी र चन्द्रागिरि हिल्स अगाडि रहेका छन्।
