काठमाडौं। विशेष अदालतले हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मंगलबार कर्णलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतले मागबमोजिम २५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत बुझाएमा तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न र धरौटी वा बैंक जमानत बुझाउन नसके कारागार पठाउन आदेश दिएको छ।
कर्णविरुद्ध ७ अर्ब २२ करोड ४६ लाख ८५ हजार ९७४ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन, प्रयोग तथा स्रोत लुकाएको अभियोग छ।
आरोपपत्रअनुसार हिमालयन लाइफ इन्स्योरेन्सको सीईओ रहँदा कर्णले आफ्नो पदको दुरुपयोग गरी अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा नेपाल रिइन्स्योरेन्सको सेयर ‘कर्नरिङ’, मूल्यमा कृत्रिम उतारचढाव तथा बीमा कोषको रकम दुरुपयोग गरी गैरकानुनी लाभ लिएको आरोप छ।
अदालतमा बयान दिने क्रममा कर्णले आफूले बीमा प्राधिकरणको स्वीकृति लिएर कम्पनीको मुनाफाका लागि सेयरमा लगानी गरेको दाबी गरेका छन्। उनले सेयरको कृत्रिम मूल्य सिर्जना गर्ने तथा बीमा कोषको रकम दुरुपयोग गर्ने कार्यमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।
