काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध गराएको हो।
अपि पावरकी अध्यक्ष सिर्जना खड्काले सहयोग रकमबाट प्रभावितको तत्काल खोज तथा उद्धारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। उनले खोज तथा उद्धारपछि प्रभावितको दीर्घकालीन पुनर्स्थापनाका लागि आवश्यकताअनुसार थप सहयोग गर्न कम्पनी तयार रहेको बताइन्।
कम्पनीले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
अपि पावरले बाढीका कारण विभिन्न जलविद्युत् आयोजना तथा संरचनामा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै बेपत्ता नागरिक तथा आयोजनाका कर्मचारीको तत्काल खोजी र उद्धार गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
कम्पनीले थप जनधनको क्षति रोक्न सावधानी अपनाउँदै आआफ्नो क्षेत्रबाट खोज, उद्धार तथा राहतमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।
अपि पावरले हाल ५६ मेगावाट क्षमताका जलविद्युत् आयोजना र ६ मेगावाट क्षमताका सौर्य आयोजना सञ्चालन गरी विद्युत् उत्पादन गरिरहेको छ। कम्पनीका अनुसार उसका सहायक कम्पनीमार्फत जलविद्युत्, कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रमा समेत काम भइरहेको छ।
