काठमाडौं । देश बाढीपहिरोको ठूलो क्षतिबाट गुज्रिरहेका बेला नेपालको धितोपत्र बजारमा सोमबार तीव्र गिरावट आएको छ। नेप्से परिसूचक ४३.८९ अंक अर्थात् १.७२ प्रतिशत घटेर २,५१३.४२ विन्दुमा झरेको छ। यो गिरावट गत चैत २२ यताकै ठूलो हो।
गत चैत २२ मा नेप्से १०५.५० अंक अर्थात् ३.७९ प्रतिशत घटेको थियो। त्यसयता सोमबारको गिरावट सबैभन्दा ठूलो हो।
सोमबार २,५५५ विन्दुबाट खुलेको नेप्से सुरुवाती कारोबारमा २,५५६.९६ विन्दुसम्म पुगे पनि पछि निरन्तर दबाबमा परेको थियो। कारोबार अवधिमा सूचक न्यूनतम २,५०८ विन्दुसम्म झरेको थियो।
बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि सिमेन्ट र फलामजन्य निर्माण सामग्रीको माग बढ्न सक्ने अपेक्षाले उत्पादन तथा प्रशोधन समूह भने बजारको समग्र गिरावटविपरीत बढेको छ। सोमबार यो समूहको परिसूचक ०.७० प्रतिशत बढ्यो।
बाँकी सबै समूहका परिसूचक घटेका छन्। निर्जीवन बीमा समूह सबैभन्दा बढी ५.०३ प्रतिशत घटेको छ। अन्य समूह ३.३०, जलविद्युत् २.९४, होटल तथा पर्यटन २.४४, जीवन बीमा १.९७, वित्त १.४१, लगानी १.१९, लघुवित्त १.१२, व्यापार १.११, बैंकिङ र म्युचुअल फन्ड १–१ प्रतिशत तथा विकास बैंक ०.९६ प्रतिशत घटेका छन्।
७५ अर्बभन्दा बढी बजार पूँजीकरण घट्यो
सोमबारको गिरावटसँगै लगानीकर्ताको कुल सम्पत्ति मापन गर्ने बजार पूँजीकरण एकै दिन ७५ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीले घटेको छ। अघिल्लो कारोबार दिन ४३ खर्ब ९८ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण घटेर ४३ खर्ब २३ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीमा सीमित भएको छ।
कारोबार भएका कम्पनीमध्ये २१ वटाको मात्र शेयरमूल्य बढ्दा २५३ कम्पनीको मूल्य घटेको छ। चार कम्पनीको मूल्य भने स्थिर रह्यो।
उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक १३.१६ प्रतिशत बढेर प्रतिकित्ता २,७२५ रुपैयाँ पुगेको छ। मैलुङ खोला जलविद्युत्को शेयरमूल्य भने सर्वाधिक १४.९८ प्रतिशत घटेर प्रतिकित्ता २७६ रुपैयाँ ३० पैसा कायम भएको छ।
कारोबार रकम र कित्ता पनि घटे
सोमबार ९३ लाख २२ हजारभन्दा बढी कित्ता धितोपत्र ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका छन्। अघिल्लो कारोबार दिन ३ अर्ब ७८ करोड ६४ लाख रुपैयाँभन्दा बढीको १ करोड ६ लाखभन्दा बढी कित्ता कारोबार भएको थियो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स सबैभन्दा अगाडि रह्यो। कम्पनीको २६ करोड ३८ लाख ७८ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता १४ रुपैयाँ बढेर ६६४ रुपैयाँ पुगेको छ।
सोमबार बनेको रातो मारुबोजु क्यान्डलले बजारमा बिक्री दबाब बलियो रहेको संकेत गरेको छ। प्राविधिक विश्लेषणमा यस्तो आकृतिले छोटो अवधिमा थप दबाब कायम रहन सक्ने संकेत गर्ने भएकाले आगामी कारोबारमा लगानीकर्ताको ध्यान पुनर्निर्माणसँग जोडिएका कम्पनीतर्फको आकर्षण र समग्र बजारको बिक्री दबाबबीचको सन्तुलनमा रहने देखिन्छ।
