काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको असर शेयर बजारमा देखिन थालेपछि नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जलाई सूचीकृत कम्पनीको कारोबार, बजार पारदर्शिता र लगानीकर्ताको हित संरक्षणमा केन्द्रित पाँचबुँदे निर्देशन दिएको छ।
बोर्डले सोमबार नेप्सेलाई पत्र पठाउँदै प्राकृतिक विपद्का कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीहरूको विस्तृत विवरण तथा सूची उपलब्ध गराउन निर्देशन दिएको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट एक दर्जनभन्दा बढी जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेपछि त्यसको प्रभाव शेयर बजारमा समेत देखिएको छ। बाढीपछिका तीन कारोबार दिनमा नेप्से परिसूचक ८० अंकभन्दा बढीले घटिसकेको छ।
विशेषगरी बाढीबाट प्रत्यक्ष प्रभावित जलविद्युत् कम्पनीका शेयरमा उच्च बिक्री चाप देखिएको छ। सोमबार मात्रै नेप्से परिसूचक ४३.८९ अंकले घटेको थियो।
सो दिन बाढीबाट प्रत्यक्ष प्रभावित मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो। रसुवागढी जलविद्युत् कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २२ रुपैयाँ १० पैसा गुमाएका छन्।
त्यस्तै, चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३६२ रुपैयाँमा झरेको छ।
बाढीबाट जलविद्युत् आयोजनाका भौतिक संरचना, उत्पादन क्षमता तथा सञ्चालनमा पर्न सक्ने असरबारे लगानीकर्तामा अन्योल बढिरहेका बेला धितोपत्र बोर्डले प्रभावित कम्पनीको अवस्था र त्यसको सम्भावित प्रभावबारे आवश्यक सूचना व्यवस्थित गर्न नेप्सेलाई निर्देशन दिएको हो।
बोर्डको निर्देशनसँगै प्राकृतिक विपद्का कारण कम्पनीको वित्तीय अवस्था, आयोजना सञ्चालन, उत्पादन तथा आम्दानीमा पर्न सक्ने प्रभावबारे विश्वसनीय सूचना लगानीकर्तासमक्ष पुर्याउने विषयलाई प्राथमिकता दिइएको छ।
