काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीहरूको सहभागितामा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरूको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा तथा चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना र प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ। केन्द्र र प्रदेशबीचको सहकार्य थप प्रभावकारी बनाउने विषयमा पनि अन्तरक्रिया गरिएको थियो।
कोशी प्रदेशका १० जिल्लामा बैंकका २८ वटा शाखा सञ्चालनमा छन्। यसअघि बैंकले गत साउन २२ गते बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ कार्यक्रम आयोजना गरेको थियो। बागमती प्रदेशका ११ जिल्लामा रहेका ५६ शाखाका शाखा प्रबन्धक, प्रदेश प्रमुख तथा उच्च अधिकारीहरू कार्यक्रममा सहभागी भएका थिए।
सोही कार्यक्रमको निरन्तरताका रूपमा कोशी प्रदेशमा पनि सेमिनार आयोजना गरिएको बैंकले जनाएको छ। अन्य प्रदेशमा पनि क्रमशः यस्ता कार्यक्रम आयोजना गरिने बैंकको भनाइ छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ।
बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको जनाएको छ। फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ र भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको पनि बैंकले जनाएको छ।
हालै बैंकले युवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ पनि सुरु गरिएको बैंकले जनाएको छ।
त्यस्तै, मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सी–आर–एन नम्बर लिन सकिने सुविधा तथा क्रस बैंक टेलर सेवा पनि सञ्चालनमा ल्याइएको छ। क्रस बैंक टेलर सेवामार्फत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन्।
हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६२ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको जनाएको छ।
