काठमाडौं। जेन–जी अभियन्ता मिराज ढुंगानाले भोटेकोशी बाढीले मुलुकलाई दशकौँ पछाडि धकेल्ने स्तरको क्षति पुर्याएको भन्दै पुनर्निर्माणका लागि नयाँ राजनीतिक शक्तिको आवश्यकता औँल्याएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बाढीले ठूला राष्ट्रिय परियोजनादेखि दशकौँ पुराना बस्ती, निजी सम्पत्ति र सार्वजनिक संरचनासम्म तहसनहस बनाएको उल्लेख गरेका छन्। जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा अर्बौँ रुपैयाँको क्षति भएको र ठूलो संख्यामा मानिस प्रभावित भएको उनको भनाइ छ।
ढुंगानाले यति ठूलो संकटको पुनर्निर्माणको नेतृत्व गर्न अहिलेका राजनीतिक दलहरू सक्षम नरहेको टिप्पणी गरेका छन्। सत्तारूढ दलसँग दीर्घकालीन सोच, स्पष्ट दृष्टिकोण र प्रभावकारी कार्यक्षमता नभएको उनको आरोप छ।
परम्परागत राजनीतिक शक्तिहरू अप्रासंगिक बन्दै गएको दाबी गर्दै उनले वर्तमान संकटको नयाँ ढंगबाट समाधान खोज्न ‘तेस्रो ध्रुव’ अर्थात् नयाँ राजनीतिक शक्ति आवश्यक रहेको बताएका छन्। उनले अहिले आफ्नो धारणा धेरैलाई अवास्तविक लाग्न सक्ने भए पनि भविष्यमा यसको आवश्यकता अझ स्पष्ट हुने दाबी गरेका छन्।
